कोहलपुर ६ असारः बाँकेको कोहलपुर उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघले प्रदीप भट्टराईको नेतृत्वमा आफ्ना उम्मेदवार मैदानमा उतार्ने भएको छ ।
संघको निर्वाचन आगामी कात्र्तिक ३ गते सम्पन्न गर्ने तयारी छ । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका भट्टराईलाई आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय भएको हो ।
उद्योग वाणिज्य संघको निर्वाचनका लागि प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघको तर्फबाट अध्यक्षको उम्मेदवार टुंग्याउन बीरेन्द्र शाहको संयोजकत्वमा चिन्तामणी धिताल, बलराम शर्मा, चक्र अधिकारी र लक्ष्मणराज पौडेल सदस्य रहेको एक समिति बनेको थियो ।
उक्त समितिले भट्टराईलाई सर्वसम्मत रुपमा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि उक्त समितिले प्रजातान्त्रिक उद्योगी ब्यवसायी संघ बाँकेसँग पटक–पटक छलफल गरेको थियो ।
समितिका सदस्य समेत रहेका कोहलपुर उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष चिन्तामणी धितालले संघको नेतृत्व गर्नका लागि भट्टराई नै सक्षम र उपयुक्त पात्र भएकाले अध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरिएको बताए ।
‘यो विशुद्ध उद्योगी, ब्यवसायीको साझा संस्था हो, यहाँ राजनीति भन्दा माथी उठेर सक्षम ब्यक्तिलाई उम्मेदवार बनाउनुपर्छ,’ उनले भने । यसअघि संघको निर्वाचनमा सहकार्य गर्नेहरुसँग यसपटक पनि सहकार्य हुने बताए ।
यस्तै उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष पौडेलले कोहलपुर क्षेत्रको उद्योग, ब्यवसायलाई माथी उठाउन र ब्यवसायीका हकहितका बारेमा आवाज उठाउन सक्ने ब्यक्ति नै प्रदीप भट्टराई भएको बताएकाले सर्वसम्मत रुपमा उम्मेदवार बनाइएको बताए । संघले आगामी साउन ६ गतेसम्म सदस्यता नविकरण गर्ने समय निर्धारण गरेको उनले सुनाए ।
अध्यक्ष पदका उम्मेदवार भट्टराईले उद्योगी, ब्यवसायीका हकहितमा काम गर्नकै लागि आफुले कोहलपुर उद्योग वाणिज्य संघको नेतृत्व गर्न चाहेको बताए । आफु नेतृत्वको सिंगो टिमले संघमा काम गर्ने उनको भनाई छ ।
करिव १५ वर्षदेखी ब्यवसाय क्षेत्रमा लागेका भट्टराई अन्य सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । कोहलपुरस्थित होटल पप लाईफ, नेपालगन्जमा पप लाईफ डिजिटल र शिखर टोवाको इन्डष्ट्रिज प्रालिको उनी सञ्चालक हुन् ।