बाँकेका किसानलाई वर्षेनी रासायनिक मल पाउन सकस


सेतोखरी सेतोखरी   शुक्रबार, असार ७, २०८१
बाँकेका किसानलाई वर्षेनी रासायनिक मल पाउन सकस

नेपालगन्ज ७ असार : असार मानो रोपेर मुरी फलाउने समय हो । किसानका लागि यो वर्षभरी जिविकोपार्जन गर्ने सुनौलो अवसर पनि हो । जहाँ किसानले धानबाली लगाएर वर्षभरीको छाक टार्न आफ्नो जोहो गरिरहेका हुन्छन् । बर्खा सुरु हुनु अगावैदेखि वर्षेनी बाँकेका किसानलाई एउटै चिन्ताले पिरोलिरहन्छ । त्यो हो रासायनीक मल । 

किसानले समयमै रासायनिक मल पाउन नसक्दा अहिले उनीहरुको चित्कार चुलिएको छ । समयमै रासायनिक मल उपलब्ध नभएपछि यस वर्ष धानको उत्पानमा गिरावट आउनेमा किसान चिन्तित छन् ।

धानको बीउमा हाल्ने रासायनिक मल नपाउँदा बाँकेका किसान निराश छन् । किसानले धानको ब्याडमा चाहिने मलका साथै रोपाइँपछि आवश्यक पर्ने युरिया र डिएपी मल हालसम्म सहज रुपमा पाउन सकेका छैनन् । 

पछिल्लो समय अत्यधिक गर्मीका कारण समयमै बाँकेका किसानले धानको ब्याड राख्न सकेका छैनन् । यकातिर खडेरीले धानको ब्याड राख्न नपाएका बाँकेका किसान धानको ब्याडमा चाहिने मल सहज र माग बमोजिम पाउन नसक्दा उनीहरुको वर्षेनी पीडा ज्यूँका त्यूँ छ । धान खेतीयोग्य जमिनमा आकासे पानीको भर पर्नु, पर्याप्त सिचाईँ र सरकारले समयमा मल नदिदाँ किसानले कृषि पेसा नै परिर्वतन गरिरहेकाछन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

वैदेशिक रोजगार विभागको पछिल्लो तथ्याङ्कअनुसार झण्डै ५० लाख युवा विश्वका ८५ देशमा छरिएर रहेका छन् । युवा वैदेशिक रोजगारमा गएपछि खेतीयोग्य जमिन बाँझो हुने दर पनि बढ्दै गएकोछ । 

कृषि गणना २०६८ अनुसार झण्डै १० लाख हेक्टर खेतीयोग्य जमिन बाँझो छ । यसका कारण कृषिमा वर्षैपिच्छे आयात बढ्दै छ । नेपाल कृषि प्रधान देश हो यसमा दुईमत रहेन । तर, आम नेपाली अर्थात् हाल ६२ प्रतिशत कृषि पेशामा संलग्न छन् । राज्यले कृषिको आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरणमार्फत कृषिमा उत्पादन बढाउने र कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न योजना अघि सारे पनि समयमा मलखाद, बीउबिजन र सिँचाइको व्यवस्था नहुनाले कृषिमा युवाको आकर्षण घट्दै गएको छ । 

अहिलेको जनसङ्ख्यालाई धान्न झण्डै ६३ लाख मेट्रिकटन धान आवश्यक पर्छ । नेपालमा धानको उत्पादन प्रतिवर्ष वार्षिक ५२ देखि ५५ लाख मेट्रिकटन छ । किसानले रासायनिक मल सजिलैसँग पाउन नसकेको धेरै वर्ष भइसकेको छ । यो अहिलेको मात्र समस्या होइन तर, पनि राज्यका अधिकारी किसानको मर्का विगतका वर्षदेखि नै बुझ्दै आएको दावि गरेपनि किसानका अवस्था ज्यूँका त्यूँ नै छ ।

नेपालगन्ज–२० मनिकापुरका राजेन्द्र यादव ब्याडमा मल हाल्न नपाए बीउ नसप्रिने र उत्पादनमा कमी आउने बताउँछन् । ब्याडमा हाल्ने रासायनिक मल खरिदका लागि दैनिक किसान नेपालगन्जस्थित कृषि सामग्री कम्पनी पुग्ने गरेका छन् । उनीहरू रित्तो हात घर फर्किन बाध्य छन् । 

बीउमा हाल्ने मल नपाएपछि यहाँका किसान भारतीय बजार धाउन बाध्य भएको डुडुवा गाउँपालिका–१ खडैचाका दिनेश मौर्यले बताए । 

मुख्य बाली धानको ब्याडमा मल हाल्न नपाउँदा किसान चिन्तित बनेका उनको भनाई छ । कृषि सामग्री कम्पनीमार्फत् किसानलाई वितरण गरिने अनुदान सहुलियतको मल पर्याप्त आउन सकेको छैन । 

यो पनि पढ्नुहोस्  सिचाईँ अभावमा बाँकेका किसान आकाशे पानीको भरमा खेती गर्न बाध्य

बाँकेमा धान खेतीका लागि एक हजार २०० मेट्रिक टन डिएपी, ३ हजार मेट्रिक टन युरिया र ५० मेट्रिक टन पोटास मल आवश्यक पर्छ । तर, वर्षेनी माग बमोजिमको मलखाद प्राप्त हुँदैन । बाँकेका १०७ सहकारी संस्थामार्फत् किसानलाई मल वितरण गरिन्छ ।

कुन प्रदेशलाई कति मल ?

देशभर मल विवरण सहज बनाउन प्रदेश अनुसार मलको आरक्षण निर्धारण गरिएको छ । सरकारले विगत ५ वर्षदेखि प्रदेशगत मलको बिक्रीको अवस्थाको आधारमा चालु आर्थिक वर्ष २०८०÷०८१ का लागि कोशीका लागि २१.५ प्रतिशत मलको आरक्षण निर्धारण गरेको छ । यस्तै, मधेसका लागि २६.५ प्रतिशत, बागमती प्रदेशका लागि १४.८ प्रतिशत मल आरक्षण निर्धारण गरिएको छ ।

गण्डकी प्रदेशका लागि ४.९ प्रतिशत, लुम्बिनी प्रदेशमा २०.६ प्रतिशत, कर्णालीमा २ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ९.७ प्रतिशत रासायनिक मलको आरक्षण निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ अनुसार प्रदेशको खेतीयोग्य÷खेती गरिने जमिनको जम्मा क्षेत्रफल (बालीगत क्षेत्रफल), प्रदेशमा रहेको जम्मा कृषिमा आधारित घरधुरी, प्रदेशको सिँचाइको उपलब्धता, प्रदेशको बाली सघनता, सम्बन्धित आर्थिक वर्षको लागि प्रदेशको मलको मागको निर्धारणका आधारमा प्रदेशको हालको आरक्षण निर्धारण गरिएको हो ।  

रासायनिक मलमा बजेट कति ?

सरकारले आगामी वर्षका लागि मलको अनुदान रकम घटाएको छ । सरकारले मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन गरिएको थियो ।

मलको मौज्दात कति ?

मन्त्रालयका अनुसार ९४ हजार ५१३ मेट्रिक टन रासायनिक मल मौज्दात छ । हाल मौज्दात रासायनिक मलमध्ये कृषि सामग्री कम्पनी लिमिटेडसँग ६१ हजार १३६ मेट्रिक टन र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग ३३ हजार ३७७ मेट्रिक टन मौज्दात रहेको मन्त्रालयले जनाएको छ । मौज्दात मलमध्ये युरिया ६१ हजार ६०५ मेट्रिक टन, डीएपी २२ हजार ४०६ र पोटास १० हजार ५०२ मेट्रिक टन छ ।

मन्त्रालयले आगामी सिजनका लागि १३१ मेट्रिक टन मल आयात भइरहेको जनाएको छ । मन्त्रालयको तथ्याङ्क अनुसार ५१ हजार मेट्रिक टन डीएपी विशाखापट्टमबाट नेपाल निर्यात हुँदैछ । सोहीमध्ये केही परिमाणको मल भने भित्रिसकेको जनाइएको छ ।

यस्तै, जीटुजीबाट नेपाल आयात हुने मलमध्ये २५ हजार मेट्रिक टन डीएपी मल स्रोत मुलुकबाट चलान हुने र असारको दोस्रो हप्ता नेपाल आइपुग्ने जनाइएको छ । २५ हजार मेट्रिक टन डीएपी कोलकाता आइसकेको र असारको पहिलो हप्ताबाट नेपाल भित्रिने मन्त्रालयले जनाएको छ । यस्तै, ३० हजार मेट्रिक टन युरिया कोलकाता आइसकेको र असारको पहिलो हप्ताबाट नेपाल भित्रिने मन्त्रालयको भनाइ छ ।