बैजनाथको १५ औं गाउँसभाद्वारा नीति तथा कार्यक्रम सर्वसम्मत पारित 

आज बजेट प्रस्तुत गरिदैँ


सेतोखरी सेतोखरी   सोमबार, असार १०, २०८१
बैजनाथको १५ औं गाउँसभाद्वारा नीति तथा कार्यक्रम सर्वसम्मत पारित 

बाँके (बैजनाथ) १० असारः बैजनाथ गाउँपालिकाले १५ औं गाउँसभामा आईतबार आफ्नो नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई सभाका सदस्यहरुले सर्वसम्मत रुपमा पारित गरेका हुन् ।

गाउँपालिका अध्यक्ष शाहीले आगामी आर्थिक वर्ष २०८१–०८२ का लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गरेका थिए । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा आफ्ना महत्वपूर्ण योजना तथा कार्यक्रम समावेश गरेको छ । गाउँपालिकाले विकास निर्माणको कामलाई आफ्नो नीति तथा कार्यक्रममा प्रमुख रुपमा उठाएको छ ।

यस्तै शिक्षा, कृषि, स्वास्थ्य, सहकारी, महिला तथा बालबालिका, जेष्ठ नागरिक, दलित, मधेसी, मुस्लिम, युवा, जनजाती लगायत समुदायका क्षेत्रमा पनि महत्वपूर्ण नीति तथा कार्यक्रम समावेश गरिएको छ ।

गाउँपालिका स्तरिय गौरवशाली योजनाको प्रक्रिया अगाडी बढाई सञ्चालन गरिने, उपाध्यक्षसँग नवप्रवर्तन कार्यक्रम सञ्चालन गरिने, अध्यक्षसँग स्वरोजगार कार्यक्रम सञ्चालन गरिने, बैजनाथ गाउँपालिकाको अधिकार क्षेत्रमा रहेका सम्पूर्ण निकायहरुले राष्ट्रिय गान पछि बैजनाथ गान अनिवार्य रुपमा बजाउनुपर्ने, गाउँपालिका भित्रका बिद्यालयहरुलाई प्रविधिमैत्री बनाइने, उपाध्यक्षसँग महिला तथा किशोर किशोरीको स्वास्थ्य सुधारको कार्यक्रम अगाडी बढाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यस्तै गाउँपालिका स्तरीय मोबाइल सिजनेवल शित–भण्डारको अवधारणा ल्याइने, रासायनिक मलको प्रयोगलाई न्यूनिकरण गरी प्रांगारिक मलको उत्पादनलाई निरन्तरता दिइने, किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत कृषि प्रविधि मार्फत आधुनिक खेती प्रणालीको लागि समुह, कृषि सहकारी तथा व्यावसायिक किसानका लागि बिग बजेटको ब्यवस्था गरिने, खेतीयोग्य जग्गालाई बाँझो राख्ने जग्गाधनीसँग आवश्यक परामर्श तथा छलफलबाट खेति गर्न प्रोत्साहन गरिने उल्लेख छ ।

यसैगरी पालिका स्तरिय सहकारीको नियमावली तथा कार्यविधि निर्माण गरिने, नौवस्ता औद्योगिक क्षेत्रको स्थापनाको लागि स्थानीय नागरिकको समस्या समाधान गर्न संघ र प्रदेश सरकारसँग समन्वय गरी समस्या समाधान गरिने, गाउँपालिका भित्र महिला उद्यमीहरुलाई प्रोत्साहन गर्न तालिम शिप विकास, प्रविधि हस्तान्तरण र उद्यमशिलता विकासका लागि आवश्यक सहयोग प्रदान गरिने, वैदेशिक रोजगारीबाट सिप तथा ज्ञान सिकेर फर्केका आप्रवासी कामदारहरुलाई समुदाय स्तरमा आय र रोजगारीको सुनिश्चितताको कार्यक्रम ल्याइने जनाइएको छ ।

गाउँपालिकाको नीति तथा कार्यक्रममा वर्ष उत्कृष्ट खेलाडीलाई सम्मान गरिने, युवाहरुलाई साईबर कानुन सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिने, थारु सँस्कृति संरक्षण तथा संग्रहालयको ब्यवस्थापन गरिने, बैजनाथ–५ छमनियामा थारु संग्रहालयको पुर्वाधारको लागि संघिय, प्रदेश सरकारसँग पहल गरिने र बैजथाथ थारुको उपयुक्त स्थानमा शालिक निर्माण गरिने, शिक्षा तर्फ पुराना बिद्यालय भवनलाई विस्तारै सुविधा सम्पन्न निर्माण गरिने, गाउँपालिका भित्र निर्माण हुने ठुला योजनाहरुको डिपिआर गरी निर्माण कार्यलाई अगाडी बढाइने लगायत विषयहरु नीति तथा कार्यक्रममा उल्लेख छ । 

त्यस्तै प्रस्तुत नीति तथा कार्यक्रममा हरित पूर्वाधारको विकासमा जोड दिइने, पालिकाभित्र बिद्युतीय तथा सुधारिएको चुलोको प्रयोगको अवधारणालाई निरन्तरता गरिने, एक गाउँ एक बगैचा कार्यक्रम सञ्चालनमा ल्याइने, हरित गाउँपालिकाको अवधारणा अवलम्बन गरिने, वन्यजन्तुबाट हुने मानवीय तथा कृषि क्षेत्रमा हुने क्षतिलाई न्यूनिकरणका लागि छेकबार मेस तारजाली लगाउने कार्यक्रम सञ्चालन गरिने र राहतका लागि सम्बन्धित निकायमा सिफारिस गरिने, बालबालिकासँग पालिका प्रमुख, उपप्रमुख कार्यक्रम सञ्चालन गरिने, एकल पुरुषलाई आर्थिक सहयोग कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष थप सहयोग ५ सय रुपैयाँ दिने नीति ल्याइने, थारु समुदायमा रहेको बडघर प्रथाको सम्मान र संरक्षण गरिने लगायत उल्लेख छ ।

सो क्रममा उपाध्यक्ष निर्मला रोकाय, प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, विभिन्न वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु, कर्मचारी लगायतको उपस्थिती रहेको थियो । गाउँपालिकाको १५ औं अधिवेशनको नियमित दोस्रो बैठक आज सोमबार दिउँसो ३ बजे पुनः बस्ने अध्यक्ष शाहीले सभालाई जानकारी गराएका थिए । अधिवेशनको दोस्रो बैठकमा उपाध्यक्ष निर्मला रोकायले आगामी वर्षका लागि बजेट प्रस्तुत गर्ने भएकी छन् ।