नेपालगन्ज ११ असार : बाँकेका आठ स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । १० असारभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बाँकेका आठ स्थानीय तहले निर्धारित समयमै ल्याएका हुन् ।
बाँकेमा एक उपमहानगरपालिका, एक नगरपालिका र ६ गाउँपालिका रहेकाछन् । क्षेत्रफलमा देशकै सबैभन्दा ठूलो पालिका राप्तीसोनारी गाउँपालिका र जनसंख्यामै देशकै सबैभन्दा बढी जनसंख्या भएको बैजनाथ गाउँपालिका बाँकेमै पर्छन् ।
नेपालगन्ज उपमहानगरको एक अर्ब ५० करोड बजेट
नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि नीति तथा कार्यक्रम र एक अर्ब ५० करोड बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । १५ औं अधिवेशनमा नगरप्रमुख प्रशान्त विष्टले नीति तथा कार्यक्रम र उपप्रमुख कमरुद्दिन राईले बजेट प्रस्तुत गरेका हुन् । उप–प्रमुख राईले एक अर्ब ५० करोड ३८ लाख ८६ हजार बराबरको आयव्यय विवरण सार्वजनिक गरे । यो चालू आर्थिक वर्ष भन्दा करिव ३५ करोड कम रहेको उपमहानगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षमा २३ वटै वडाहरुका लागि २० करोड रुपैयाँ विनियोजन गरिएको छ ।
प्रस्तावित बजेटमा आम्दानीतर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड २४ लाख ७७ हजार रुपैयाँ, समपूरक अनुदान (संघ) १ करोड, विशेष अनुदान (संघ) १ करोड ५० लाख, सशर्त अनुदान (प्रदेश) २ करोड ४ लाख, समपूरक अनुदान (प्रदेश) १ करोड ४० लाख, वित्तीय समानिकरण (संघ) २७ करोड ९५ लाख, वित्तीय समानिकरण (प्रदेश) २ करोड ५ लाख तथा आन्तरिक आयतर्फ २० करोड ११ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको छ ।
उपमहानगरपालिकाले लक्षित वर्गलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क मोतिविन्दुको अपरेसन कार्यक्रमलाई निरन्तरता, अपांगता भएकाहरुको स्वास्थ्य बीमा, विद्यालयहरुमा सूचना प्रविधिमैत्री शिक्षण सिकाई क्रियाकलाप सञ्चालनमा प्रोत्साहन गर्ने, स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तक कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने, विद्यालयहरुको विपद व्यवस्थापन सम्बन्धमा आवश्यक कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने लगायत नीति तथा कार्यक्रम ल्याएको छ ।
सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए, भने प्रवक्ता एवम् वडा नम्बर–१ का अध्यक्ष प्रमोद रिजाल, वडा नम्बर–२० का अध्यक्ष कौशल कुमार धोबी, वडा नम्बर–५ का अध्यक्ष सराफत अलि शेष, वडा नम्बर–२ का मनोज कुमार श्रेष्ठ, वडा नम्बर–२१ का अध्यक्ष राजकुमार साहु, वडा नम्बर–१८ का अध्यक्ष अध्यक्ष दीपक कुमार बर्मा र वडा नम्बर–४ का अध्यक्ष गोपाल पुनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कोहलपुर नगरपालिकाको एक अर्ब बढी बजेट
कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१-८२ का लागि एक अर्ब बढीको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमबारदेखि सुरु भएको १५ औं अधिवेशनमा नगर उप–प्रमुख संगिता सुबेदीले एक अर्ब ५ करोड ९ लाख २७ हजार बराबरको आय÷व्यय विवरण सार्वजनिक गरेकी हुन् ।
कुल विनियोजित बजेटमध्ये चालु खर्च ६४ प्रतिशत र पूंजीगत खर्च ३६ प्रतिशत विनियोजन गरिएको छ ।
नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ९६ लाख, संघीय सशर्त अनुदान ३७ करोड २४ लाख, संघीय समपुरक अनुदान ५५ लाख, संघीय राजश्व बाँडफाँड भई प्राप्त हुने आय १५ करोड ६३ लाख ६९ हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान एक करोड १९ लाख ४९ हजार, प्रदेश सशर्त अनुदान एक करोड ७७ लाख ६२ हजार, प्रदेश समपुरक अनुदानको एक करोड ५ लाख, प्रदेश विशेष अनुदान वापतको १० लाख, स्थानीय राजश्व बाँडफाँड प्राप्त हुने अनुमानित १० करोड ५ लाख र नगरपालिकाको आन्तरिक कर तथा गैरकर राजश्व समेत गरी ११ करोड ६१ लख ७२ हजारलाई आधार बनाएर बजेट निर्माण निर्माण गरिएको छ ।
नगर प्रमुख आचार्यले ‘समृद्ध कोहलपुर नगर’ भन्ने नाराका साथ नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । स्थानीय पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि ‘विद्यार्थी तथा अभिभावकसङ्ग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरी यस क्षेत्रका अग्रजहरुलाई विद्यार्थीहरुसँग भेट गराई स्थानीय पाठ्यक्रमका बिषयबस्तुको सहजीकरण गर्ने नीति लिने, विषयगत शिक्षकहरुलाई विद्यार्थीहरुको सिकाई उपलब्धीप्रति जिम्मेवार बनाइने लगायत नीति लिइएको छ ।
बैजनाथ गाउँपालिकाको साढे ७५ करोड बराबरको बजेट
बैजनाथ गाउँपालिकाले साढे ७५ करोड रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको १५ औं अधिवेशनमा सोमबार आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले ७५ करोड ४३ लाख २४ हजार अनुमानित बजेट प्रस्तुत गरेकी हुन् । यसअघि आईतबार गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको थियो ।
गाउँपालिकाको आयतर्फ संघीय समानीकरण रकम १५ करोड ४२ लाख, प्रदेश सरकार समानीकरण रकम एक करोड ९ लाख ६१ हजार, संघिय सरकार सर्शत चालु रकम २९ करोड, ५ लाख ४२ हजार, संघिय सरकार सर्शत पुँजीगत रकम ७ करोड ९ लाख ४४ हजार, प्रदेश सरकार सर्शत पुँजीगत रकम ८० लाख, संघिय सरकार विशेष अनुदान रकम २ करोड, प्रदेश सरकार समपूरक अनुदान ७० लाख, संघिय सरकार राजश्व रकम १३ करोड ३४ लाख, प्रदेश सरकार राजश्व रकम ७२ लाख ७७ हजार, आन्तरिक आय ३ करोड ५० लाख, घर जग्गा रजिष्ट्रेसन वापत मालपोत कार्यालयबाट प्राप्त हुने रकम करिव एक करोड ५० लाख बजेट प्रस्तुत गरिएको छ ।
अघिल्लो आर्थिक वर्ष २०८०-०८१ मा ७७ करोड ७७ लाख १८ हजार ९ सय ७५ रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो । उपाध्यक्ष रोकायले गाउँपालिकामा रहेका ८ वटै वडाहरु तथा गाउँपालिकालाई भौतिक पुर्वाधार अन्तर्गत ८ करोड ४५ लाख बजेट विनियोजन गरेको जानकारी दिइन् । पालिकाको अनिवार्य दायित्व समेतलाई बिचार गरी वडालाई ६० प्रतिशत र गाउँपालिकालाई ४० प्रतिशत बजेट बाँडफाड गरिएको बताइन् ।
यो पनि पढ्नुहोस् बैजनाथको १५ औं गाउँसभाद्वारा नीति तथा कार्यक्रम सर्वसम्मत पारित
यस्तै गाउँपालिकाको सामाजिक विकासतर्फ स्वास्थ्य सेवा, शिक्षा, युवा खेलकुद तथा सामाजिक समावेशिकरण, खानेपानी तथा सरसफाई, आर्थिक विकासतर्फ पशु सेवा, कृषि सेवा, पर्यटन, घरेलु उद्योग तथा सहकारी, श्रम तथा रोजगारीलाई बजेटमा प्राथमिकता दिइएको छ । यसैगरी सुकुम्बासी तथा अब्यवस्थित बसोबासी, वन, वातावरण तथा प्रकोप ब्यवस्थापन, न्यायिक समिति, सेवा प्रवाह तथा सार्वजनिक प्रशासन लगायतलाई पनि बजेटमा समेटिएको छ ।
प्रस्तुत बजेटमाथी दफाबार छलफल गर्नका लागि सभाध्यक्ष एवम् गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले यही असार ३० गते सभाको तेस्रो बैठक पुनः बस्नेगरी स्थगित गरेका छन् । सोमबार अपरान्ह बसेको सभाको दोस्रो बैठकमा प्रमुख प्रशासकीय अधिकृत विश्वराज ढकाल, १ देखी ८ वटै वडाका वडाअध्यक्षहरु, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।
राप्ती सोनारीको नीति तथा कार्यक्रमसंगै पौने ८६ करोडको बजेट
राप्तीसोनारी गाउँपालिकाले सोमबार नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले आगामी आर्थिक वर्ष २०८१÷०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरे ।
यस्तै उपाध्यक्ष मनिषासिंह थारुले बजेट प्रस्तुत गरिन् । १५ औं अधिवेशनमा गाउँपालिका अध्यक्ष पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि लगायतलाई उच्च प्राथमिकता दिइएको छ ।
ऐलानी जग्गामा खेती गर्ने किसानहरुलाई कृषि सेवा सहुलियतको लागि उपयुक्त नीति निर्माण गरिने, कृषि बीमालाई प्रभावकारी बनाउन बीमा कम्पनी र किसानसँग समन्वयात्मक सञ्जाल कार्यक्रम गर्ने, सामूहिक खेती सञ्चालन कार्यक्रमलाई प्रोत्साहन गर्ने, महिला लक्षित कृषि प्रविधिमैत्री कार्यक्रम सञ्चालन गर्ने, गरिव परिवारले उत्पादन गरेका बस्तुहरु बिक्री वितरणमा सहजीकरण गर्ने लगायत नीति लिइएको छ ।
सभामा गाउँपालिका उपाध्यक्ष मनिषासिंह थारुले आगामी आर्थिक वर्ष २०८१-०८२ का लागि बजेट प्रस्तुत गरिन् । उनले ८५ करोड ८० लाख ८४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए । चालु खर्चतर्फ ५० करोड ६६ लाख ६५ हजार र पूंजीगत खर्चतर्फ ३५ करोड १४ लाख ३० हजार रुपैयाँ बजेट प्रस्तुत गरिएको छ ।
शिक्षातर्फ ३७ करोड ८४ लाख १७ हजार विनियोजन गरिएको छ । स्वास्थ्यतर्फ ७ करोड, ७२ लाख २० हजार, कृषितर्फ एक करोड ६० लाख २० हजार पशुतर्फ १ करोड २४ लाख २० हजार, महिला तर्फ २ करोड एक लाख, खानेपानीतर्फ ३० लाख, सहकारी तथा संघसंस्थातर्फ १० लाख, वन तथा वातावरणतर्फ ७ लाख, पंजीकरणतर्फ ४ लाख ९५ हजार, रोजगार सेवा केन्द्रतर्फ ५८ लाख ६४ हजार बजेट प्रस्तुत गरिएको छ ।
प्रस्तुत नीति तथा कार्यक्रम र बजेट विषयमा दफावार छलफल गर्नका लागि यही असार १४ गते पुनः सभाको बैठक बोलाइएको प्रमुख प्रशासकीय अधिकृत एडीले जानकारी दिएका छन् ।
डुडुवाको नीति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट
डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको सोमबार बसेको १६ औँ गाउँ सभाले आर्थिक विधियेक, नीति तथा कार्यक्रम र ५१ करोड २५ लाख १८ हजार रुपैयाँको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
सभामा गणपुरक संख्या २७ जनाको उपस्थिती भएसँगै नीति तथा कार्यक्रम र बजेट पारित भएको छ । संघीय सरकारको वित्तीय समानिकरण अनुदानतर्फ रु ११ करोड ६४ लाख र संघिय सरकारको राजश्व बाँडफाट १० करोड ८४ लाख, प्रदेश सरकार वित्तीय समानिकरण अनुदान ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाडँफाट ४४ लाख ८ हजार, आन्तरिक स्रोत रु ३ करोड ५२ लाख, ससर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान (संघ) रु २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट १ करोड ७० लाख र सशर्त अनुदान पुँजीगत तर्फ ६५ लाखको बजेट प्रस्तुत भएको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतको विषयलाई समेटेर टेवा पुरयाउने उद्देश्यले निती तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभामा विधियेक समितिका संयोजक सम्सुद्दिन सल्मानीले डुडुवा गाउँपालिकाको आर्थिक विधियेक २०८१ प्रस्तुत गरेका थिए । सभामा वार्षिक नीति तथा कार्यक्रम र प्रस्तावित बजेट सर्बसम्मत रुपमा पारित भएको छ ।
गाउँसभा सचिव तथा प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले सञ्चालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, वडासदस्यहरु, कार्यपालिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
खजुराको अनुमानित बजेट ८६ करोड १६ लाख १० हजार
बाँकेको खजुरा गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ का लागि ८६ करोड १६ लाख १० हजारको अनुमानित बजेट ल्याएको छ । खजुरा गाउँपालिकाको गाउँसभाको १५ औं अधिवेशनको दोस्रो दिन खजुरा गाउँपालिकाका उपाध्यक्ष मञ्जु मल्लले आर्थिक वर्ष २०८१–८२ का लागि ८६ करोड १६ लाख १० हजारको अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
खजुरा गाउँपालिकाले गाउँसभामा संघीय सरकार, प्रदेश सरकार र आन्तरिक श्रोत गरी कूल ८६ करोड १६ लाख १० हजारको अनुमानित बजेट ल्याएको छ ।
सरकारी, नीजि ,सहकारी र विकास साझेदारको लगानी विस्तार गरि उत्पादन गरि उत्पादन उत्पादकत्व र रोजगारका अवसर बढाई आर्थिक तथा सामाजिक पुर्वाधार विस्तार गरि विकासको नमुना तयार गरि ‘हामी आफै बनाउँ हाम्रो खजुरा ,आत्मनिर्भर र सम्वृद्ध खजुरा को सपना साकार पार्न बजेटले भुमिका खेल्ने बजेट वक्तव्यमा उपाध्यक्ष मन्जु मल्लले बताइन् ।
यसअघि बाँकेको खजुरा गाउँपालिकाको १५औं अधिवेशनमा बहुमत सदस्यहरुले सभा बहिस्कार गरे पछि पालिकाको बजेट अन्यौलमा परेको थियो । आइतबार आयोजना गरिएको गाउँसभाको अधिवेशनमा बहुमत सदस्यहरुले सभा बहिस्कार गरेपछि पालिकाको बजेट अन्यौलमा परेको हो ।
पालिका प्रमुख डम्मर विक तुफानले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उपप्रमुख सहित बहुमत सदस्यले छलफल गर्न माग गरेपनि छलफल नै नगरी पास गर्न खोजिएपछि पालिका उपप्रमुख मन्जु मल्ल सहित २३ जना सदस्यहरुले सभा बहिस्कार गरेका थिए ।
यो समाचार तयार पार्दासम्म बाँकेको नरैनापुर र जानकी गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको पूर्ण विवरण हामीलाई प्राप्त हुनसकेन ।