भेरीका प्रमुख कन्सल्टेण्ट डर्मालोजिष्ट डा. चापागाईले रमाना बुझेनन्


सेतोखरी सेतोखरी   मंगलबार, असार ११, २०८१
भेरीका प्रमुख कन्सल्टेण्ट डर्मालोजिष्ट डा. चापागाईले रमाना बुझेनन्

नेपालगन्ज ११ असार : सरुवा भएको लामो समय बितिसक्दा पनि भेरी अस्पतालका प्रमुख कन्सल्टेण्ट डर्मालोजिष्ट डा. बद्री चापागाईले रमाना बुझेका छैनन् । अस्पतालका पुर्वमेडिकल सुपरिटेण्डेन्ट रहेका एघारौं तहका डा. चापागाईको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मन्त्री स्तरको २०८१ जेठ २३ गतेको निर्णय अनुसार सरुवा भएको थियो । 

मन्त्रालयको कर्मचारी प्रशासन शाखाका अधिकृत रामप्रसाद ओलीका अनुसार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कामकाजमा खटाइएको छ । डा. चापागाईलाई खटिएकै निकायबाट तलब, भत्ता भुक्तानी हुने गरी सरुवा गरिएको छ । राष्ट्रसेवक कर्मचारीहरुका लागि सरुवालाई नियमित प्रक्रिया मानिन्छ । 

यो पनि पढ्नुहोस् भेरीका डाक्टर बद्री चापागाईँको सरुवा

सरकारले खटाएको ठाउँमा पुगेर जिम्मेवारी पुरा गर्नु राष्ट्रसेवक कर्मचारीको दायित्व पनि हो । तर, डा. चापागाईले सरकारले गरेको यो सरुवालाई हल्का रुपमा लिएको बुझिएको छ । मन्त्रालयको निर्णयलाई चुनौती दिदै उनले उक्त निर्णयमाथी नै अनेक शंका गरिरहेका छन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

आफ्नो सरुवा भएपनि सुरुको समयमा मौन बसेका उनले मन्त्रालयले पठाएको पत्र सार्वजनिक भएपछि भने अनेक बहानाबाजी गरिरहेको अस्पताल स्रोतले जनाएको छ । आफु लामो समयसम्म भेरी अस्पतालमा बसेर काम गरेको र रैथाने भएको घुर्की समेत उनले लगाएको बताइएको छ । 

‘म लामो समयसम्म भेरी अस्पतालमा काम गरिसकेको रैथाने हुँ, अस्पतालको मेसु चलाइसकेको ब्यक्ति हुँ, मलाई नसोधेर मेरो सरुवा किन गरियो ?’ डा. चापागाईको भनाई उद्धृत गर्दै स्रोतले भन्यो । आफुले कुनैपनि हालतमा रमाना नबुझ्ने धङधङ्गी डा. चापागाईले देखाइरहेका अस्पताल स्रोतले जनाएको छ । 

संक्रमणकालका बेला मेसु चलाएका डा. चापागाईले नेपालगन्जका थुप्रै स्वास्थ्य संस्था तथा अन्य ब्यवसायिक क्षेत्रमा लगानी लगाएका छन् । भेरी अस्पताल भन्दा बाहिरतिर उनी धेरै समय दिन्छन् । यसले गर्दा पनि उनले नेपालगन्ज छाड्न अटेरी गरेको हुन सक्ने आशंका गरिएको छ ।  

यता भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. पवनजंग रायमाझीले कर्मचारीको सरुवा नियमित प्रक्रिया भएको बताए । ‘कर्मचारीको सरुवा नियमित प्रक्रिया नै हो, यसलाई ठुलो रुपमा लिनु नै हुदैन,’ उनले भने । 

डा. चापागाईको सरुवा भएको पत्र मन्त्रालयबाट आएको स्वीकार गर्दै रमाना बुझ्न नमानेका हुन् त ? भन्ने प्रश्नमा मेसु रायमाझीले अहिलेसम्म रमाना नबुझेको बताए । यस विषयमा डा. चापागाईलाई सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले डा. चापागाईको मन्त्री स्तरको २०८१ जेठ २३ गतेको निर्णय अनुसार सरुवा भएको पत्र आएपछि आफुलाई पनि थाहा भएको बताए । ‘डा. चापागाईको सरुवा भएको पत्र आएको रहेछ, पत्र आएपछि हामीलाई पनि थाहा भयो,’ उनले भने ।