नेपालगन्ज १२ असार : पछिल्लो २४ घण्टामा देशभर ४४ वटा विपदका घटना भएकाछन् । यो विवरण मंगलबार बिहान ९ बजेदेखि बुधबार बिहान ९ बजेसम्मको विवरण हो ।
विपदबाट देशभर १० जनाको मृत्यु भएको छ । ९ जना घाइते र ६ जना बेपत्ता छन् । विभिन्न ठाउँमा भएको यो घटनामा बेपत्ताको खोजी कार्य जारी छ । देशभर आगलागीका चार वटा घटना भएका छन् । यसबाट मानवीय क्षति भएको छैन । एउटा घरमा भने क्षति पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर १८ ठाउँमा पहिरो गएको छ । पहिरोबाट मात्रै चार जनाले ज्यान गुमाएका छन् । तीन जना घाइते र चार जना बेपत्ता छन् । लमजुङको बेसीशहर नगरपालिका वडा नम्बर–११ चितिका १६ वर्षीय विकल सुनार र क्व्होलासोथार गाउँपालिका वडा नम्बर–३ बगुमका रुद्रमान गुरुङको मृत्यु भएको हो ।
बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका वडा नम्बर–५ चितेपानीमा पहिरोले घर नै बगाएको छ । घर बगाउँदा १३ वर्षीया आयुष्मा रानाभाटको मृत्यु भएको हो । पोखरा महानगरपालिका वडा नम्बर– २७ आरूपाटामा पनि पहिरोले घर भत्काउँदा ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको हो । पहिरोले विभिन्न ठाउँका ६ वटा घर र एउटा गोठमा क्षति पुगेको छ । पहिरोमै परी ९ वटा चौपाय समेत मरेका छन् ।
त्यसैगरी चट्याङले पनि मानवीय क्षति पु¥याएको छ । देशभर चट्याङका १३ वटा घटना भएको एसएसपी विश्व अधिकारीको भनाइ छ । चट्याङकै कारण ५ जनाको मृत्यु भएको छ । ५ जना मानिस घाइते भएका छन् भने ५ वटा चौपाया मरेका छन् ।
कैलालीमा बुधबार बिहान खेतमा काम गरिरहँदा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । जोशीपुर गाउँपालिका वडा नम्बर–३ भितरीका ३२ वर्षीय जयराम डंगौराको मृत्यु भएको हो ।
साथै धनगढी उपमहानगरपालिका वडा नम्बर– १८ का २७ वर्षीय सालीन चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको थियो । मंगलबार नै झापामा पनि चट्याङ लागेर दुई जनाले ज्यान गुमाएका थिए ।
त्यस्तै भारी वर्षापछि आएको बाढीका कारण विभिन्न बस्ती जलमग्न भएको छ । बाढीले एक जनाको मृत्यु र दुई जना बेपत्ता छन् । मंगलबार दिउँसो माछा मार्न जाँदा मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ का एकै परिवारका चार जनालाई बगाएको थियो । जसमध्ये २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको थियो भने दुई जना अझै बेपत्ता छन् ।
मनसुन देशैभर फैलिएपछि पछिल्लो २४ घण्टामा केही ठाउँमा भारीवर्षा पनि भएको छ । सुदूरपश्चिम, गण्डकी, बागमती र मधेसका केही ठाउँमा वर्षा भइरहेको छ ।