नेपालगन्ज १४ असार : हत्या भएको १५ महिनामा बाँके प्रहरीले हत्या अभियोग लागि फरार रहेका एकजनालाई पक्राउ गरेको छ ।
गत वर्षको बैशाख २९ गते नेपालगन्जमा घाँटी रेटी हत्या गरिएकी सुमदरानी थारुको हत्या अभियोगमा बाँके प्रहरीले आज एकजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बर्दिया राजापुर नगरपालिका–८ घर भएका २६ वर्षिय शैलेन्द्र चौधरी रहेका छन् । उनलाई बाँके जानकी गाउँपालिका वडा नम्बर– १ पचपोखरा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गत बैशाखमा नेपालगन्ज उप–महानगरपालिका–९ स्थित कोठा भाडामा लिई बस्दै आएकी कोहलपुर नगरपालिका– ६ घर भएकी २२ वर्षिया सुमदरानी थारुलाई घाँटी रेटी कर्तव्य गरी शैलेन्द्र फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी निरीक्षक सुजन शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले शैलेन्द्रलाई जानकी गाउँपालिका वडा नम्बर–१ पचपोखरा स्थित नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारयण डाँगीले बताए ।
पक्राउ परेका चौधरीलाई बाँके जिल्ला अदालबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान एवं कारबाही प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।