बाँके डेंगुको जोखिममा, नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता


सेतोखरी सेतोखरी   सोमबार, असार १७, २०८१
बाँके डेंगुको जोखिममा, नियन्त्रण गर्न पहल गर्ने प्रतिबद्धता

नेपालगन्ज १७ असारः बाँके जिल्ला प्राणघातक रोग डेंगुको उच्च जोखिममा रहेकोछ । वर्षायामको समयमा उच्च जोखिममा हुने डेंगुबाट बच्न जिल्लाका सम्बद्ध सरोकारवालाहरु गम्भीर भए लाग्नुपर्ने बताएकाछन् ।

डेंगु नियन्त्रणका लागि सबैले आफ्नो ठाउँबाट पहल गर्ने बाँकेका सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका सरोकारवालासँग नेपालगन्जमा गरेको अभिमुखिकरण तथा अन्तरक्रियामा उपस्थित उनीहरुले यस्तो प्रतिबद्धता जनाए ।

जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले डेंगु नियन्त्रणमा सबै लाग्नुपर्ने बताए । उनले डेंगुको अण्डा र लार्भा नष्ट गरि पानी जम्ने खाल्डाखुल्डी पुरी घर र घरवरीपरी सरसफाई राखेमा यसबाट बच्न सकिने बताए । 

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले आफ्नो तर्फबाट डेंगु नियन्त्रणका लागि सचेतनाका काम गर्ने बताउँदै जिल्लाका सम्पूर्ण कार्यालयमा सरसफाई गरिनुका साथै यसका बारेमा सचेतिकरण गर्ने जनाए । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

यस्तै स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाही डेंगु नियन्त्रणमा सबैको सहकार्य हुन जरुरी रहेको बताउँदै डेंगुबाट हुनसक्ने जोखिम न्यूनिकरणमा पूर्वतयारीमा रहेको जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख रामबहादुर चन्दले नेपालगन्जमा थुप्रै ठाउँ डेंगुको उच्च जोखिममा रहेको बताए । उनले सर्वसाधरणको आनिबानीसंगै सजगतामा ध्यायन दिए यसबाट जोगिन सक्ने बताए ।

सो क्रममा स्वास्थ्य कार्यालयकी डेंगु रोग नियन्त्रण फोकल पर्सन दुर्गा गौतमले डेंगु रोगको अवस्थाका बारेमा प्रस्तुतीकरण गरेकी थिइन ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख सीता कार्की, जिल्ला समन्वय अधिकारी बिक्रम पाण्डे, जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगी, विभिन्न स्वास्थ्यकर्मी, सरोकारवाला लगायत उपस्थित भएका थिए ।