नेपालगन्जमा सञ्चालित तातो हावाको लहर प्रतिकार्य कार्यक्रमको समिक्षा


सेतोखरी सेतोखरी   सोमबार, असार १७, २०८१
नेपालगन्जमा सञ्चालित तातो हावाको लहर प्रतिकार्य कार्यक्रमको समिक्षा

नेपालगन्ज १७ असार : बाँकेको नेपालगन्जमा सञ्चालित तातो हावाको लहर प्रतिकार्य कार्यक्रमकोे समिक्षा गरिएको छ । गत जेठदेखि हालसम्म यस कार्यक्रम अन्तर्गत सञ्चालित क्रियाकलापहरुको समिक्षा गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको आयोजनामा बसेको तातो हावा कार्यदलको बैठकमा तातो हावाको लहर प्रतिकार्य कार्यक्रम अन्तर्गत सञ्चालित विभिन्न १२ वटा क्रियाकलापहरुका बारेमा चर्चा गरियो ।

कार्यदल संयोजक रहेका नेपालगन्ज उपमहानगरपालिका विपद् समिति संयोजक समीर प्रताप सिंहको अध्यक्षतामा सम्पन्न बैठकमा रेडक्रस बाँकेका उपनिर्देशक दोलख बहादुर डाँगीले सञ्चालित कार्यक्रम र तिनको प्रभावबारे जानकारी गराए ।

यो पनि पढ्नुहोस् ‘हिट वेभ’बाट जोगाउन घरघरमा स्वयंसेवक

Care City
Kanti Aarogya Hospital Nepalgunj

डाँगीका अनुसार जेठ २ गतेदेखि असार ७ गतेसम्म जमुनाहा नाकामा आम सर्वसाधारणलाई निःशुल्क पिउने पानी वितरण गरिएको छ । यस अवधिमा करीब एक लाख १२ हजारले पानी पिएका छन् । यस्तै नाकामा जोखिम सचेतना सन्देश पनि प्रसार गरिएको छ ।

बैशाख १८ गतेदेखि जेठ ३१ गतेसम्म नेपालगन्जका १९, २१ र २२ नम्बर वडाका ८०५ जोखिम परिवारमा सचेतना प्रबद्र्धन गर्न घरभेट कार्यक्रम सम्पन्न गरिएको छ । पेशागत समूहलाई तातो हावाको जोखिम क्षमता बृद्धि अभिमुखीकरण गरिएको छ । जसमा ५२ जना सहभागी थिए ।

जोखिमयुक्त समुदायका संकटासन्न घरपरिवार र विद्यालयमा सेतो रंग लेपन गर्ने कार्यक्रम नेपालगन्जको वडा नम्बर–१९ का १४ घर र २ वटा विद्यालयमा सम्पन्न भएको छ । आम नगरबासीका लागि ‘लू’ सचेतना सम्बन्धि माइकिंग गर्दा करीब २५ हजार मानिस लाभान्वित भएको अनुमान गरिएको रेडक्रस बाँकेका उपनिर्देशक डाँगीले बताए ।

यस्तै रेडियाहरुबाट सूचनामूलक सन्देश प्रशारण, डिजिटल बोर्डबाट सूचना प्रशारण, मिडिया बुष्टिंग गर्ने काम पनि सम्पन्न भएको छ । नेपालगन्जका २० वटा सामुदायिक विद्यालयहरुमा पानी छान्ने फिल्टर मेशिन वितरण गरिएको छ । नेपालगन्ज ४ बसपार्क क्षेत्रमा कुलिंग सेन्टर सितल केन्द्र निर्माणाधीन अवस्थामा छ । २३ वडाका विभिन्न विद्यालयमा करीब २० हजार विद्यार्थीका लागि सचेतना अभिमुखीकरण कार्यक्रम पनि सम्पन्न भएको छ ।

नेपालगन्ज उपमहानगपालिकामा अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले तातो हावाको लहर प्रतिकार्य कार्यक्रम सञ्चालन गरेको हो । तातो हावाको लहर प्रतिकार्य कार्यक्रम लाभग्राहीका लागि प्रभावकारी देखिएको निष्कर्ष निकालिएको छ । चर्को गर्मी हुने र तातो हावाको लहर ‘लू’ चल्ने नेपालगन्जमा पूर्व तयारी र आवश्यक सजगतामा जोड दिइएको छ ।