बाँकेका किसानलाई अनुदानमा मोटर बोरिङ


सेतोखरी सेतोखरी   सोमबार, असार १७, २०८१
बाँकेका किसानलाई अनुदानमा मोटर बोरिङ

नेपालगन्ज १७ असार : सिँचाइको पहुँच नभएका बाँकेका सबै स्थानीय तहमा किसानले ७५ प्रतिशत अनुदानमा मोटर बोरिङको सुविधा लिएका छन् । करिब चार सय बोरिङ माग भएको जिल्लामा तीन सय ५० बोरिङ वितरण भएको कृषि ज्ञान केन्द्रका प्रमुख सकिल अहमदले जानकारी दिए ।

उनले अधिकांश सम्झौता भएर वितरण भएको जनाउँदै केही अझै बाँकी रहेकाले वितरण जारी रहेको बताए । ‘जहाँ सिँचाइको अभाव छ र त्यहाँ बढी माग आएको छ’, प्रमुख अहमदले भने । उनले कतिपय स्थानमा बोरिङका लागि प्रक्रिया अघि बढ्दा पानीको सतह नभेटिएकाले चट्टान र बालुवा मात्र भेटिएको उल्लेख गर्दै बोरिङ वितरणका लागि अझै केही दिन लाग्ने बताए ।

बाँकेमा वर्षाको समयमा पनि पर्याप्त पानी नआउँदा यहाँको बर्खे धानखेती प्रभावित भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार जिल्लामा अहिलेसम्म दुई प्रतिशत मात्रै रोपाइँ भएको छ । जिल्लाको सबैभन्दा बढी डुडुवा गाउँपालिका र सबैभन्दा कम कोहलपुर नगरपालिकामा सो बोरिङको माग भएको छ । यसबाहेक नरैनापुर गाउँपालिका, नेपालगन्ज उपमहानगरपालिका, खजुरा, राप्तीसोनारी र बैजनाथ गाउँपालिकामा पनि किसानले अनुदानमा बोरिङको सुविधा लिएका छन् । एउटा बोरिङका लागि ५० हजार लागत रहेको छ । 

वडास्तरमा मोटर बोरिङ जडान

Kanti Aarogya Hospital Nepalgunj

सिँचाइको पहुँच नभएको नेपालगन्ज–१८ का किसानका लागि वडास्तरमा मोटर बोरिङ जडान गरिएको छ । वडाध्यक्ष दीपककुमार बर्माले विभिन्न चरणमा हालसम्म ६५ थान मोटर बोरिङ जडान गरिएको जानकारी दिए । उनले आफू अघिल्लो कार्यकालमा पनि वडाध्यक्षको जिम्मेवारीमा रहेकाले किसानको न्यूनतम राहत कार्यक्रमअन्तर्गत खेतीयोग्य जमिन भएका किसान छनोट गरी मोटर बोरिङ जडान गर्ने कार्यक्रम अघि सारेको बताए ।

बर्माले नहरमा पानी सुक्ने र मनसुन नहुँदा ब्याड राख्न र तरकारी खेतीका लागि सो बोरिङ सहयोगी हुने भएकाले यस्तो नीति अघि सारिएको बताए । उनले किसानले मोटरसँगै विद्युतको माग पनि गरेका जनाउँदै डिजलको भरमा सिँचाइ गर्दा महँगो खेती हुने भएकाले विद्युत् जडानको माग गरेको जानकारी दिए ।

उनले त्यसका लागि विद्युत प्राधिकरणलाई सिफारिस गर्ने गरेको बताए । आफ्नो वडा बहुसङ्ख्यक किसान बसोबास गर्ने भएकाले उनीहरूका लागि आवश्यक राहत कार्यक्रम पहल पनि भइरहेको वडाध्यक्ष बर्माको भनाइ छ । ‘सरकारी अनुदानको प्रभावकारी व्यवस्था नहुँदा किसान निराश अवस्थामा छन्’, उनी भन्छन् । -रासस