गिरिजा–सुष्मा : एक यादगार प्रणय पल


सेतोखरी सेतोखरी   बुधबार, असार १९, २०८१
गिरिजा–सुष्मा : एक यादगार प्रणय पल

नेपालगन्ज १९ असार : आज कुरा विवाहमा परिणत भएको एक प्रेम गाथाको । आज कुरा एउटा शोकको । आज कुरा सात दशकअघिको एउटा गाउँको । आज कुरा त्यही गाउँमा हुर्किएको एक प्रेमिल जोडीको । 

ती दिन, ती पात्रमा आज गिरिजाप्रसाद कोइराला । हामी माझ रहिरहेका भए अहिले एक सय वर्षका हुन्थे– गिरिजाप्रसाद कोइराला । अर्थात् गिरिजाबाबु । धेरैको स्मृतिमा ताजै होला– उनै गिरिजाबाबुको जन्म शताब्दी बर्ष हो । १८ असार १९८१ मा जन्मिएका गिरिजाबाबु यो धर्तीमा आएको एक सय वर्ष पुगेको छ । 

नेपाली राजनीतिका धुरन्धर खेलाडी गिरिजाबाबु नेपाली कांग्रेसको सभापतिदेखि पाँचपटकसम्म नेपालको प्रधानमन्त्री बने । प्रशंसा र आलोचना रोटेपिङझैँ उनको जीवनमा घुमिरहे । उनी त्यही रोटेपिङमा झुल्दै गए । राजनीतिमा कहिले ठूलो सफलता त कहिले चरम धोका उनका लागि नियति बन्यो । तिनै गिरिजाबाबुलाई आज हामी राजनीतिक जीवनभन्दा उनको प्रेम सफरका कारण सम्झिने छौँ ।

यो प्रेम सफरमा गिरिजाबाबुसँगै आउने अर्को नाम हो– सुष्मा उपाध्याय । जोसँग गिरिजाबाबुले साँच्चै प्रेम गरे । सहजरूपमा सम्भव नदेखेपछि भगाएर भए पनि विवाह गरिछाडे । त्यसबेलाको त्यो सोच र त्यो समाज । कसरी सम्भव भयो प्रेम विवाह ? तर, फेरि बिछोडको वेदनामा कसरी परे गिरिजाबाबु ? मायाको चिनो गुलाबी रङको त्यो सारी । त्यो हृदयविदारक पल । कसरी सामना गरे, गिरिजाबाबुले ? 

Kanti Aarogya Hospital Nepalgunj

Sushma-2-1719988633.jpeg
अध्याय सुरु हुन्छ, विराटनगरबाट ।

विराटनगरस्थित कोइराला निवासमा गिरिजाबाबु हुर्किए, बढे, हेर्दाहेर्दै लक्का जवान भए । स्वाभाविक थियो, माया–प्रेमको चक्कर । नातामा भान्जी पर्ने शैलजा आचार्यलाई थाहा थियो– गिरिजाबाबु र राणा परिवारकी एक युवतीबीचको माया–प्रेम । राणा शासन व्यवस्थाविरुद्धको आन्दोलनमा ती युवती कालो झण्डा लिएर सार्वजनिक हुन्थिन् । सायद यो, गिरिजाबाबुप्रतिको प्रेमका कारण सम्भव भएको थियो ।  

गिरिजाबाबु त्यतिबेला २५÷२६ वर्षका लक्का जवान थिए । राणा शासनविरुद्धको आन्दोलन चरममा पुगेको बेला थियो । साल थियो, २००५ देखि २००७ बीचको । विराटनगरमा हुर्किएका गिरिजाबाबुबारे यहीँ हुर्किएकी उनकी भान्जी शैलजा भन्थिन्– गिरिजाबाबु बिहेअगाडि निकै फ्लटर हुनुहुन्थ्यो ।’ गिरिजाबाबुले ती राणा युवतीसँग बिहे गर्ने मन बनाए छन् । आमा दिव्यालाई एकपटक सोधे छन्, ‘आमा,राणा परिवारकी केटी हो, बिहे गरौँ ।’ राणा शासनविरुद्धको आन्दोलनमा लागेको कोइराला परिवारका लागि राणा बुहारी घरमा भित्र्याउन मन लाग्ने कुरै भएन । आमाले सिधै ‘हुँदैन’ भनिन् । प्रतिक्रियामा केवल यति भनिन्– ‘यो गिरिजा के–के गर्छ के के ?’ यसपछि गिरिजाबाबुले पनि ती राणा युवतीसँग बिहे गर्ने साहस गरेनन् । यो अध्याय यहीँ सकियो ।

सुरुमा गिरिजाबाबुको बिहे अन्तै हुने निश्चित भइसकेको थियो । त्यतिबेला एकजना ज्योतिषी कोइराला निवास आइपुगेछन् । ज्योतिषीले गिरिजाबाबुको हात हेरेछन् । र, भनेछन्– विवाह तय भइसकेको केटीसँग तिम्रो बिहे हुँदैन ।

स्वाभाविक थियो, प्रश्न आयो– त्यसो भए के हुन्छ त ? ज्योतिषीले गिरिजाबाबुलाई भनेछन्– बिहे भइसकेकी केटीसँग तिम्रो विवाह हुन्छ । गिरिजाबाबु र कोइराला परिवारका लागि ज्योतिषीको यो भविष्यवाणी झस्काउने खालकै थियो । तर, नियतिले गिरिजाबाबुलाई त्यतैतिर लग्यो । नभन्दै गिरिजाबाबुको जीवनमा लगत्तै दोस्रो महिलाको प्रवेश भयो– नाम थियो, सुष्मा उपाध्याय । उनी थिइन्, बनारसमा । विवाहित । तर, श्रीमान निस्किए, जाँडबहादुर । उनले छोरालाई जन्म दिएकी थिइन् । नाम थियो– सुरेश । तर, श्रीमानको जँड्याहा जीवनशैलीबाट दिक्क भएपछि सुष्माले उनको साथ छोडिन् । छोरा लिएर अलग भइन् ।

यता, विराटनगरमा बल्ल शिक्षाको दियो बल्दै थियो । कोइराला परिवारकी बुहारी नोनालगायतले विराटनगरमा नारी जागृति स्कुल खोलेका थिए । विराटनगरमा आफूहरूले खोलेको स्कुलका लागि बनारसमा पढेका राम्रा शिक्षक खोज्ने क्रम सुरु भयो । यहीक्रममा सुष्माको नाम आयो । गिरिजाबाबुका दाजु केशव कोइरालाकी पत्नी नोनाको माइती बनारस थियो । बनारस हिन्दु विश्वविद्यालयबाट स्नातक थिइन्, इष्टनाथ उपाध्यायकी छोरी सुष्मा । उनलाई विद्यालयमा जागिर खुवाउन बनारस गएर विराटनगर लिएर आउने भइन्, नोनाले । नेपाल आउनेक्रममा सुष्माले नोनालाई आफ्नो छोरा र सानो भाइ पनि भएको र उनीहरूलाई छाडेर जान नसक्ने बताइछन् । नोनाले उनलाई छोरासँगै कोइराला निवासमै बसोवासको व्यवस्था मिलाउने वाचा गरिन् । त्यसपछि सुष्मा छोरो र भाइलाई साथ लिएर  विराटनगर आइन् ।

विराटनगर आएपछि नोनाले आफ्नो वाचाअनुरूप कोइराला निवासमा सुष्मालाई आफैँसँग राखिन् । त्यसपछि सुष्माले स्कुल सम्हालिन् । कोइराला निवासमा बस्दै गर्दा सुष्मा युवा गिरिजाप्रसादको प्रेममा परिन् । दुवैबीचको प्रेम सुनाखरीझैँ फुल्यो । अब दुवैले विवाह गर्ने भए । तर, बाधा बनिदियो– कोइराला परिवार । शिक्षित भनिएको आफ्नै परिवारबाट पनि यो सम्बन्धलाई लिएर विरोध भयो । तत्कालीन समाज मात्र पुरातनवादी सोचले ग्रसित थिएन, राजनीतिक र शैक्षिक चेतनाले क्रान्तिकारी ठानिएको कोइराला परिवारसमेत सुष्माको पहिल्यै विवाह भइसकेको र एउटा छोरो पनि भएको कारण देखाउँदै यो विवाहको विपक्षमा रह्यो । 

Sushma-1-1719988678.jpeg
शहर बन्ने क्रममा रहेको २००८ सालतिरको त्यो समय र त्यो विराटनगर । विवाहित महिलासँग प्रेम गरेर उसको पहिलो श्रीमानबाट जन्मिएको छोरालाई पनि स्वीकार गरेर विवाह गर्नु सानोतिनो आँटबाट सम्भव थिएन । गिरिजाबाबुले सुष्माको छोरा सुरेशलाई समेत स्विकार्ने सर्तमा २००८ मा बिहे गरे । २८ वर्षको उमेरमा सुष्मासँग उनले भागी विवाह गरेका थिए । यसमा गिरिजाबाबुका दाजु केशव र भाउजू नोनाले साथ दिए । 

गिरिजाबाबुबारे जगत नेपालले लेखेको आत्मकथा पुस्तक ‘आफ्नै कुरा’मा उक्त प्रेम सम्बन्ध र विवाहको प्रसंग उल्लेख छ । नेपालले लेखेको उक्त पुस्तकमा गिरिजाबाबुले ‘भागेर विवाह’ शीर्षकमा सुष्मासँगको प्रेम र विवाहबारे उल्लेख गरेका छन् । नेपालले गिरिजाबाबुले सुष्मालाई विराटनगरबाट भगाएर कलकत्ता पुर्याएको र त्यही नै विवाह गरेको ७३ वर्षअघिको घटना उल्लेख गरेका छन्–

एक-दुई दिन कलकत्ता घुमेपछि बोटानिकल गार्डेनमा विवाह गर्ने निधो भयो । मेरो विवाहमा कोसुदाजु, नोना भाउजू, शेखर, युवराज अधिकारी मात्र थिए । मैले उनलाई र उनले मलाई माला लगाइदिएपछि विवाह सकियो । मैले सिन्दुर हालिदिएँ । काम खतम । यो वि.सं २००८ को कुरा हो । विवाह सकेपछि फर्केर विराटनगर आउँदै छौँ भन्ने खबर पठायौँ । अब हामीलाई लिन जोगबनीमा कोही आउँदैनन् होला भन्ने लागेको थियो । तर, जोगबनीमा केही मानिस आएका थिए । हामी घर पुग्यौँ । घर पुगेपछि विवाहलाई ब्राह्मणहरूले मान्यता दिन्छन् कि दिँदैनन् भन्ने लागिरह्यो । ब्राह्माणहरू कट्टर थिए ।

नेपालले आफ्नो पुस्तक ‘आफ्नै कुरा’मा अगाडि लेखेका छन्–

जीवनमा पटकपटक मैले राजनीति छोडेर सामान्य जीवन बिताउन चाहेँ । तर, समयले दिएन । मलाई मानिसहरू कुनै प्रकारको मोज मज्जा नचाहिने रफ मान्छे भन्छन् । मेरै श्रीमती सुष्मा भन्थिन्, ‘तपाई राजनीति गर्नुहुन्छ कि के गर्नुहुन्छ ? के राजनीतिमा परिवारलाई हेरिँदैन ?’ यही विषयलाई लिएर उनको र मेरो झगडा नै हुन्थ्यो । कोठाबाट निकालिनेदिने पो हुन् कि भनेर म हप्ताको एक दिन बजार गएर, पिकनिक गएर मनोरञ्जन गर्ने गर्थेँ ।

उनले आफ्नो पुस्तकमा थप लेखेका छन्–

मेरो जीवनका उर्वर क्षणहरू जेलमै बिते । विवाह गरेपछि सुष्मासँग जम्माजम्मी दुई वर्ष पनि बस्न पाइनँ । विवाह भएपछि भुटान जानुप¥यो । भुटानमै हुँदा सुजाता जन्मिई । फर्केर आएपछि २०१७ साल आइहाल्यो । जेल परेँ र छुटेपछि बिपीलाई छुटाउन राजासँग वार्ता गर्न थालेँ ।

विवाहमा बदलिएको दुवैबीचको प्रेम अद्भुत थियो । कोइराला जेलमा रहँदा दुवैले एकअर्कालाई पठाउने गरेको पत्र कुनै प्रेम पत्रभन्दा कम थिएन । दुईबीचको प्रेम देखेर शैलजा आचार्य भन्थिन् रे, ‘विवाहले कोही पनि खुसी भएको नदेखेर मैले विवाह नगरेको, तर गिरिजाबाबु र सुष्मा भाउजू मात्रै खुसी देखेँ ।’ 

गिरिजाबाबु श्रीमतीलाई सुसुको नामले सम्बोधन गर्थे । जेलबाट चिठी लेख्दा पनि त्यही नाममा सम्बोधन गर्थे । जस्तो कि उनले एकपटक जेलबाट लेखेको चिठीको अंश यस्तो थियो । ‘प्यारी सुसु मेरी आमा बिमारी हुँदा स्कुल नगएर तिमीले धेरै स्याहारसुसार गरिछ्यौ, त्यो सुनेर मलाई धेरै खुसी लाग्यो । तिम्रो धेरैले तारिफ गर्नुभएको छ घरमा ।’

पहिले सुष्मासँग बिहे गर्ने अनुमति माग्दा ‘हुन्न’ भन्ने आमाले पछि गिरिजाबाबुलाई भनिछन्, ‘तेरी श्रीमती कति व्यावहारिक, सबैको स्याहार गर्ने, उनको पैसाले घर चलाउने, गज्जब राम्री श्रीमती बिहे गरिछस् गिरिजा ।’ बिपी कोइराला पनि आफ्नी बुहारीको घर व्यवहार चलाउने शैलीबाट निकै प्रभावित थिए । उनले एकपटक भाइ गिरिजाबाबुलाई लेखेछन्, ‘आफ्नो रगत र पसिनाबाट हामी सबैलाई हेर्छिन्, सुष्माले । एउटा टिचरको तलबले केटाकेटीलाई पढाउँछिन्, घर गृहस्थी सबै त्यसैबाट चलाउँछिन् । हामी सबैलाई हेर्छिन् ।’

सुष्मासँगै आएका छोरा सुरेशलाई गिरिजाबाबुले पनि आफ्नै छोरा माने, अभिभावकत्व दिए । २०११ मा गिरिजाबाबुको नयाँ सन्तान छोरी जन्मिइन् । गिरिजाबाबुले छोरीको नाम पनि सुरेशसँगै मिल्ने गरी ‘सुजाता’ राखिदिए । २०४३ पुस २२ मा गिरिजाबाबुले मोरङ जिल्ला प्रशासन कार्यालयबाट सुरेशलाई आफ्नै छोरोका रूपमा नागरिकता दिलाए । वंशजका आधारमा जारी उनको नागरिकतामा बुबाको नाम ‘गिरिजाप्रसाद कोइराला’ नै राखियो । सुरेश कोइरालाको २०७१ मा ६७ वर्षको उमेरमा निधन भइसकेको छ ।

सुजाता कोइरालाको लेखन र कमल ढकालको सम्पादनमा प्रकाशनको अन्तिम तयारीमा रहेको आत्मकथा पुस्तक ‘म र सानोबुबा’ मा गिरिजाबाबु र सुष्माको प्रेम, विवाह र वियोगको प्रसंग उल्लेख गरिएको छ । पुस्तकमा सुजाताले आफ्नो बुवा र आमाको बारेमा ‘आमालाई विवाहको प्रस्ताव’ शीर्षकमा लेखेकी छन्–

विराटनगरको कोइराला निवासमा बस्ने क्रममा मेरो बुबा सानुबुबा अर्थात् गिरिजाप्रसाद कोइरालासँग उहाँको लभ प¥यो । सुरुमा मेरो आमाले बिहे गर्न मान्नुभएन । तर, मेरो बुबाले आश्वासन दिनुभयो, ‘मेरो परिवार र हाम्रो समाजले तिमीलाई केही गर्ने छैन । म त्यसको जिम्मेवारी लिन्छु । प्रेम भएपछि जात, धर्म, वर्ण, लिङ्ग क्षेत्रभन्दा सबैभन्दा माथि हुन्छ, त्यसैले मायाका लागि विवाह गर्नुपर्छ ।’ 

मेरी आमा र सानोबुबा गिरिजाबाबुबीच कसरी विवाह भयो भन्ने प्रसङ्ग जोड्दै छु । बिहाबारे मलाई गिरिजाबाबुले भन्नुभएका भनाइ यहाँ उल्लेख छन्– ‘नोना भाउजूलगायतले विराटनगरमा नारी जागृति स्कुल खोल्नुभएको थियो, उहाँले नै इष्टनाथ उपाध्यायकी छोरी बनारस हिन्दु विश्वविद्यालयबाट बीए गरेकी सुष्मालाई बोलाउनुभयो । उहाँलाई कोइराला निवासमै राख्नुभयो, प्रेम बस्दै गयो । घुम्न जाने क्रममा एक दिन सप्तरी गएको जिप कोशीमा धसियो, हामी त्यो रात त्यहीँ बस्यौँ, त्यही बेला मैले भारत स्वतन्त्र भएको दिन विवाह गर्ने मिति टुङ्गो गरेँ ।’

पुस्तकमा सुजाताले आफ्नी आमा–बुवाको प्रेम प्रसंगबारे थप उल्लेख गरेकी छिन् । उनले लेखेकी छिन्–

उनी अर्काेसँग विवाह भएको कारण हजुरआमाले एकदमै हुन्न भनिदिनुभयो । त्यो समय अर्कैसँग विवाह भएको नारीसँग विवाह गर्नु एकदमै गाह्रो कुरा थियो । सान्दाइलाई सोधें उहाँले पनि भन्नुभयो, ‘हैन गिरिजा तँ विवाह गर्छु त भन्छस्, यसले भावी चुनावलाई असर पार्दैन ?’

गिरिजाबाबुले भन्नुभएछ ‘यो त सामाजिक कुरा हो, यसले चुनावलाई के असर पार्छ र सान्दाजु ?’ बिपी बाबाले भन्नुभएछ, ‘तैपनि यसो विचार गर ।’ त्यो समयमा तारिणी बुबाले पनि हुन्न नै भन्नुभएछ । सबैले हुन्न भनेपछि घरमा विवाह गर्ने कुरा भएन भनेर भागेर विवाह गर्ने अठोटका साथ उहाँहरू कलकत्ता जानुभएछ । नोना आमा र कोशु बाबा र शेखर दादा पनि सँगै जानुभएको रहेछ । शेखर दा त बच्चै हुनुहुन्थ्यो । उहाँहरूको विवाह भयो, दुई माला र सिन्दुरको त्यो विवाह हुनु थियो, किनकि मेरो जन्म हुनु थियो । 

२००८ सालमा उहाँहरूको विवाह भयो । विवाहपछि घरमा आउँदा भने सबैले स्वागत गर्नुभएछ । गिरिजाबाबुले आफ्नो विवाहको वैधानिकता दिन बिपी बुबालाई भनेर नेपाली कांग्रेसको वर्किङ कमिटीको मिटिङ घरमै राखेर त्यतिबेलाका कट्टर ब्राह्मणलाई पनि सँगै राखेर बिपी बुबा, सुवर्ण शमसेर, गणेशमानजी, सूर्यबाबु सबैलाई राखेर विवाहको सामान्य पार्टी नै दिनुभएछ । विवाहले वैधानिकता पाएछ ।

यस्तो थियो गिरिजाबाबु र सुष्माबीचको माया–पिरती 

मुना–मदनकोजस्तो यो प्रेममा सायद कसैको नजर लाग्यो । अचानक एउटा घटना घट्यो । २०२४ सालको कुनै एक दिन सुष्मा र उनकी दिदी कुमुदिनी शर्मा विराटनगरस्थित आदर्श बालिका विद्यालयमा पढाइरहेका थिए । विद्यालयमा ल्याइएको नयाँ फ्रिजबाट ग्यास चुहिएपछि लागेको आगोको लप्कोले कुमुदिनीलाई समात्यो । आफ्नी दिदी बचाउन गएकी सुष्मा पनि आगोको त्यही लपेटामा परिन् । अस्पताल त लगियो । तर, एक दिनको अन्तरमा दुवै दिदीबहिनीको निधन भयो । पञ्चायतकाल थियो । गिरिजाबाबु झण्डै सात वर्षपछि जेलबाट छुटेर घर आएका थिए । यो जोडी लामो समयको अन्तरालपछि बल्ल सँगै बस्न थालेको थियो । तर, गिरिजाबाबु जेलबाट छुटेको दुई महिना नबित्दै सुष्माले घटनाको १० दिनपछि संसार छाडिन् । कोइरालातर्फबाट जन्मिएकी छोरी सुजाताको उमेर त्यतिबेला बल्ल १४ वर्ष पुग्दै थियो । गिरिजाबाबुको उमेर ४३ वर्ष थियो ।

Girija_2-1719988803.jpeg
अस्पतालमा आफ्नी पत्नी सुष्माको निधन हुँदा गिरिजाबाबु निकै दुब्लो र थकित देखिन्थे । सुष्माको शवमाथि फूलहरू बिछ्याइएका थिए । आफू कलकत्ता जाँदा श्रीमतीलाई किनिदिएको गुलाबी रङको बनारसी सिल्क सारीले गिरिजाबाबुले दिवंगत श्रीमती सुष्माको शरीर छोपिदिए । धरधरी रोए । धेरै दिन चुपचाप एकान्तमा बसिरहे । सुष्मा वियोगको कठोर पीडा अनि नियतिले गिरिजाबाबुमाथि प्रहार ग¥यो । श्रीमतीसँग केवल एक वर्ष मात्र निरन्तर सँगै बस्न पाएका गिरिजाबाबुले त्यो समयलाई जहिल्यै स्वर्णिम माने । १६ वर्ष मात्र उनीहरूको साथ रह्यो । 

श्रीमती सुष्माको मृत्युपछि गिरिजाबाबुलाई  विवाहका लागि धेरै प्रस्ताव आए । तर, उनले सुष्मालाई कहिल्यै बिर्सन सकेनन् । त्यसपछि राजनीतिक संघर्षमा निरन्तर होमिए । पिताजी कृष्णप्रसाद कोइरालाले दुईवटा बिहे गरेको दृष्टान्त थियो । उनको दोस्रो विवाह स्वाभाविक हुनसक्थ्यो । तर, सायद पत्नी सुष्माप्रतिको उनको लगाव र समर्पणकै कारण हुनसक्छ, गिरिजाबाबुले दोस्रो फुल रोजेनन् । गिरिजाबाबु सधैं भन्ने गर्थे– यो भुल हुन्थ्यो । पत्नीबिनाको रिक्तताले चार दशकभन्दा बढी समय गुजार्नु कति कठिन थियो होला, गिरिजाबाबुका लागि ? तर, त्यो कठिन परिस्थितिलाई उनले स्वीकार गरे । सुष्माको नाममा जीवन बिताइदिए ।

गिरिजाबाबु पहिला चुरोट खाँदैनथे । तर, श्रीमती सुष्माको मृत्युपछि उनले चुरोट खान थाले । चेन स्मोकर भन्छन् नि, हो, त्यो हदसम्म । आखिर उनको मृत्युको कारण पनि त्यही बन्यो । जीवनको उत्तरार्द्धका केही वर्ष उनले धूमपान छोडे । तर, धूमपानका कारण लागेको रोगले उनलाई छाडेन । लामो राजनीतिक जीवनको आपाधापीमा ७ चैत २०६६ मा ८५ वर्षको उमेरमा गिरिजाबाबुले यो जगत छाडे । गिरिजा–सुष्माको निसानी छोरी– सुजातालाई छाडेर । -फरकधारबाट