राष्ट्रिय स्वतन्त्र पार्टी रविको पार्टी होइन : महामन्त्री ढकाल


सेतोखरी सेतोखरी   बुधबार, असार १९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी रविको पार्टी होइन : महामन्त्री ढकाल

नेपालगन्ज १९ असार : राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले केन्द्रिय समितिमा आफ्ना प्रस्ताव प्रस्तुत गर्न नपाएपछि सञ्चारमाध्यममार्फत सार्वजनिक गरेका छन् ।
मंगलबार सचिवालय बैठकले आफूलाई बोल्न दिने निर्णय गरे पनि बुधबार केन्द्रिय समितिमा सभापतिले बोल्न र प्रस्ताव प्रस्तुत गर्न नदिएको ढकालले बताएका छन् ।

‘हिजोको पार्टी सचिवालय बैठकको निर्णयबमोजिम समीक्षा प्रतिवेदनका आधारमा प्रस्ताव तयार पारेको थिएँ । समीक्षा प्रतिवेदनपछिका सन्दर्भमा आफ्ना भनाइ राख्ने अनुमति दिने सचिवालयले निर्णय गरेको थियो, तर आज मलाई बोल्न दिइएन। लिखित रूपमा तयार पारिएको प्रस्ताव र भनाइ पनि सभापतिले राख्न अनुमति दिनुभएन,’ ढकालले भनेका छन् ।
महामन्त्री ढकालको प्रतावमा सभापतिमा रवि लामिछाने रहे पनि पार्टीलाई राष्ट्रिय स्वतन्त्र पार्टी नै रहन दिनुपर्ने उल्लेख छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीलाई अबको १०० दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ, रविको पार्टी होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पनि रवि लामिछानेलाई नै बनाऔँला, तर पार्टीलाई रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ,’ प्रस्तावमा भनिएको छ ।

रविको पार्टीबाट रास्वपा बनाउन महामन्त्रीले विभिन्न प्रस्ताव प्रस्तुत गरेका छन् । सभापति र उपसभापतिबाहेकका केन्द्रीय समिति सदस्यहरू दुई हप्ता गुप्तवासमा बसेर पार्टी विधान कस्तो बनाउने, विधान पालना कसले गराउने, पार्टीको कार्यदिशा कसरी निर्धारण गर्ने, नेताको कार्यसम्पादन मूल्यांकन कसरी गर्ने, आफूहरू राजनीतिमा किन आएको ? पार्टीको निर्णय प्रक्रिया के हो ? लगायत विभिन्न विषयमा निर्णय गर्न प्रस्ताव गरेका छन् ।

गुप्तबासका क्रममा आफूले महामन्त्रीको रूपमा राय राख्ने र त्यसमा निर्णय केन्द्रीय समिति सदस्यहरूले नै गर्ने उल्लेख गरेका छन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले बुधबारको केन्द्रिय समिति बैठकमा मुखमा टेप टाँसेको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पदाधिकारी बैठकमा छलफल गर्ने भएको छ ।

रास्वपा नेताहरुका अनुसार ढकालले केन्द्रिय समिति बैठकमा आफूले समीक्षा प्रतिवेदन पेश गर्दा प्रत्यक्ष प्रशारण गर्नुपर्ने बताएका थिए । तर, बैठकका अधिकांश नेताहरुले प्रत्यक्ष प्रशारणप्रति असहमति जनाएपछि उनले अभिव्यक्ति स्वतन्त्रता हनन भएको भन्दै मुखमा टेप टाँसेर बसेका छन् ।

ढकालले एक महिना यात्रा गरेर समीक्षा प्रतिवेदन तयार गरेका छन् । उनले रास्वपा यही गतिमा जाने हो भने ०८४ मा राष्ट्रिय पार्टी पनि बन्न नसक्ने निश्कर्षसहितको प्रतिवेदन पेश गरेका थिए । बुधबार बोलाइएको केन्द्रिय समिति बैठक ढकालको प्रतिवेदनलाई छलफलको एजेण्डा बनाइएको छ ।