डाँका पक्रिन गएको प्रहरीमाथि गाउँलेले घेरा हालेर आक्रमण गरे, प्रहरीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लियो

एक प्रहरीसहित तीन जना घाईते


विजय मल्ल विजय मल्ल   बिहीबार, असार २०, २०८१
डाँका पक्रिन गएको प्रहरीमाथि गाउँलेले घेरा हालेर आक्रमण गरे, प्रहरीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लियो

नेपालगन्ज २० असार :बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर–६ शिखनपुर्वामा प्रहरी र गाउँलेबीच झडप भएको छ ।  डाँका चोरी मुद्दाका फरार एक प्रतिवादीलाई पक्राउ गर्न गएको बाँके प्रहरीमाथि गाउँलेले घेरा हाल्दै धावा बोलेपछि दोहोरो झडप भयो ।

प्रहरी र गाउँलेबीच भएको दोहोरो झडपमा एक प्रहरीसहित तीन जना घाईते भएकाछन् । बिहीबार विहान साढे ९ बजे प्रहरीमाथि उक्त आक्रमण भएको हो ।

नेपाल–भारत सीमानाका नजिकको उक्त बस्ती शिखनपुर्वामा अदालतबाट कैद फैसला भइ फरार रहेका डाँका चोरी मुद्दाका प्रतिवादी सरमानसिंह सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 

प्रहरी नियन्त्रणमा रहेका डाँका चोरी मुद्दाका प्रतिवादी सरमानसिंहलाई हतकडी लगाएर ल्याउने क्रममा स्थानीय गाउँलेले घेरा हाली प्रहरीमाथि धावा बोले ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

‘प्रहरीमाथि आक्रमण गर्दै स्थानीय गाउँलेले डाँका चोरीका प्रतिवादी सरमानसिंहलाई आफ्नो नियन्त्रणमा लिई प्रहरीको हतियार खोस्दै आक्रमण गर्न थाले’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम सूचना अधिकारी डिएसपी नारायण डाँगीले भने–‘घरेलु हातहतियार, ढुङ्गामुडासहित स्थानीय गाउँलेले प्रहरीमाथि आक्रमण गरेपछि असहज परिस्थिती बन्दा प्रहरीले हवाई फायर खोल्यो ।’

प्रहरीले हवाई फायर खोल्दा पनि प्रहरीमाथि आक्रमण रोकिएन, गाउँलेको नियन्त्रणमा रहेका डाँका चोरी मुद्दाका प्रतिबादी सरमानसिंहलाई भगाउन खोज्दा प्रहरीले गोली हानेर नियन्त्रणमा लियो ’ डिएसपी नारायण डाँगीले भने–‘सरमानसिहंको खुट्टामा गोली हानी नियन्त्रणमा लियौं, सोक्रममा प्रहरीमाथि आक्रमण गर्ने स्थानीय गाउँले ३० वर्षीय नानकसिहं शिखलाई समेत गोली हानेर नियन्त्रणमा लियौं ।’

स्थानीय गाउँलेको आक्रमणमा परि वरीष्ठ हवल्दार मदन डाँगी घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकोछ । वरीष्ठ हवल्दार डाँगीको हात, कुम र टाउकोमा चोट लागेकोछ । 

प्रहरीले घाईते एक प्रहरी सहित तीनै जनालाई उपचारका लागि नेपालगन्ज स्थित भेरी अस्पतालमा ल्याएकोछ । भेरी अस्पतालमा उपचाररत उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले समेत जनाएकोछ ।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) तुलबहादुर कार्कीको कमाण्डमा खटिएको उक्त टोलीमाथि गाउँलेले आक्रमण गरेपछि बनेको परिस्थितीका कारण गोली हानेर उनीहरुलाई पक्राउ गरेको हो ।

बाँके प्रहरीले चलाएको उक्त अपरेसन डाँका चोरी मुद्दाका प्रतिवादीलाई स्थानीय गाउँलेले बचाउन खोजेपछि प्रहरी र गाउँलेबीच दोहोरो झडप भएको हो । 

२०७० असार १८ गतेको अदालतबाट भएको फैसलामा डुडुवा गाउँपालिका वडा नम्बर–६ हिरमिनियाको शिखनपुर्वा गाउँका ५५ वर्षीय डाँका चोरीका प्रतिवादी सरमानसिंह सरदार फरार थिए । 

पछिल्लो समय बाँके प्रहरीले अदालतबाट फैसला भई विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीलाई ‘खोज र कोच’ अभियान नै चलाएकोछ । प्रहरीको यो अभियानबाट विभिन्न मुद्दामा फरार रहेका प्रतिवादीहरु धमाधम पक्राउ पर्दै गएकाछन् ।