नेपालगन्ज २० असार : नेपालमा गत जेठ २८ गतेदेखि मनसुन भित्रिएको थियो । नेपालको पूर्वी क्षेत्र हुँदै अहिले मनसुन देशभर सक्रिय छ । देशभर मनसुन भित्रिएको २५ दिनमा ४५ जनाले ज्यान गुमाएका छन् भने ८ करोड २० लाखभन्दा बढीको हानी नोक्सानी भएकोछ ।
त्यस्तै भारी वर्षा सुरु हुनुभन्दा अगावै भएको यो क्षतिलाई हेर्दा पनि आगामी तीन महिनाभित्र नेपालमा विपद्बाट ठुलो नोक्सानी हुने देखिएको जलवायु विज्ञ डा. धर्म उप्रेती बताउँछन् ।
उनले मनसुन भित्रिएको २५ दिनमा ४६ वटा भौतिक संरचनाहरू बाढी र पहिरोका कारण ध्वस्त भएको बताए । यस समयमा २५९ पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटनाहरू (बाढी, पहिरो, डुबान, चट्याङ) भएका छन् ।
उनले भने, ‘नेपालमा मनसुन सुरु भएको २५ दिन लगभग भयो । जेठको २८ गतेदेखि नेपालमा मनसुन सुरु भएको थियो । मनसुनले सुरुवाती अवस्थामा नै धेरै ठुलो हानी नोक्सानी गरेको छ । हिजोसम्मको क्षतिलाई विश्लेषण गर्दा लगभग ४७ जनाले ज्यान गुमाएको देखिन्छ । ८ करोड २० लाख बराबरको आर्थिक क्षति पनि यो २५ दिनमा भएको छ । ४६ वटा भौतिक संरचनाहरू पनि यही बीचमा बाढी पहिरोका कारणले ध्वस्त भएका छन् । मान्छेको जीविकोपार्जनसँग जोडिएको पशुचौपाया लगभग २५९ वटा मरेका छन् । २५ दिनमा ४ सय वटा जलवायुजन्य घटनाहरु (बाढी, पहिरो, डुबान, चट्याङ) का घटना भए । त्यसमा भएको क्षति हो भयो ।’