अमेरिकामा पौडी खेल्ने क्रममा एक नेपालीसहित दुईको मृत्यु


सेतोखरी सेतोखरी   सोमबार, असार २४, २०८१
अमेरिकामा पौडी खेल्ने क्रममा एक नेपालीसहित दुईको मृत्यु

मोन्टाना (अमेरिका) २४ असार : अमेरिकाको ग्लेसियर नेसनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर एक नेपाली र भारतीय नागरिकको मृत्यु भएको छ । गएको शनिबार उनीहरूको मृत्यु भएको हो ।

नेसनल पार्कका दुई अलग स्थानमा ती घटना भएका थिए । शनिबार बेलुका २८ वर्षीय नेपाली युवक आफ्ना साथीहरूसँग पौडी खेल्न स्थानीय म्याकडोनाल्ड तालमा गएका थिए ।
ग्लेसियर नेसनल पार्क उत्तरपश्चिम मोन्टानामा अवस्थित छ । उक्त स्थान क्यानडा र अमेरिकाको सीमाक्षेत्रमा पर्छ । 

साथीहरूका अनुसार, उनी पौडी खेल्न अनुभवी थिएनन् । उनी केही बेरमा नै पानीमुनि पुगेको र बाहिर ननिस्केको जनाइएको छ ।

उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो । शव बेलुका ८ः३० बजेतिर बाहिर निकालिएको थियो । ती नेपाली युवक ओरेगनको पोर्टल्यान्डमा बस्दै आएका र साथीहरूसँग बिदा मनाउन त्यसतर्फ गएका बताइएको छ ।

Kanti Aarogya Hospital Nepalgunj

घटनामा परेका २६ वर्षीय भारतीय नागरिक शनिबार बिहान ८ः३० बजेतिर त्यहाँ पुगेका थिए । भारतीय नागरिक क्यालिफोर्नियाबाट साथीहरूसँग बिदा मनाउन त्यहाँ पुगेका जनाइएको छ ।

उनीहरूका नाम भने खुलाइएको छैन । पार्कका अधिकारीहरूले उनीहरूका परिवारलाई खबर गरिदिन नेपाल र भारतका कन्सुलेटलाई घटनाबारे जानकारी गराएका छन् ।