रविविरुद्ध गर्जिए मुकुल : ‘रविले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्’

‘रवि लामिछाने क्लबबाट थुत्छौँ, रास्वपा हामी बनाउँछौँ’


सेतोखरी सेतोखरी   बुधबार, असार २६, २०८१
रविविरुद्ध गर्जिए मुकुल : ‘रविले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्’

नेपालगन्ज २६ असार: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निलम्बित गरेका महामन्त्री डा. मुकुल ढकालले रवि लामिछानेले सहकारीमा आरोप लागेजस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको बताएका छन् । 

रास्वपाले महामन्त्री र केन्द्रिय सदस्यसहितका पदबाट कारबाही गरेपछि बुधबार पत्रकार सम्मेलन गरेका ढकालले लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताएका छन् । ‘रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्’ उनले भने । 

उनले ऋण छ भनेर पार्टी कोषबाट लैजाने काम भएको भन्दै केन्द्रिय समितिको निर्णयबिना कुनै ऋण वा लगानी गर्न नपाउने बताए । उनले पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिन भन्दै पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्न आग्रह गरेका छन् ।

पत्रकार सम्मेलनमा मुकुल ढकालले देश बाढीपहिरोको संकटमा भएका बेला गृहमन्त्री रवि लामिछानेले उचित संवेदनशीलता देखाउन नसकेको पनि बताए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

रास्वपाका तर्फबाट सरकारमा नेतृत्व गरेका लामिछाने पदीय जिम्मेवारी अनुरुप काम गर्न नसकेको उल्लेख गरे । ‘देशमा बाढीपहिरोको संकट छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री हुनुहुन्छ । उहाँ नागरिकलाई कसरी उद्धार गर्ने, कसरी राहत दिने भनेर खट्नुभएको छैन,’ ढकालले अगाडी भने,‘उहाँ महामन्त्रीलाई कारबाही गर्ने कि नगर्ने भनेर दिनभर बैठक राखेर बसिरहनुभएको छ ।’ 

उनले आफूले चिनेको रवि लामिछाने एक्सन म्यान भएको भन्दै पहिलाको जस्तो नरहेको बताए । ‘हामीले चिनेको रवि लामिछाने त्यस्तो होइन । तर, हामीले चिनेको रवि लामिछाने अब रहनुभएन’, ढकालले भने ।

पत्रकार सम्मेलन गर्दै उनले ज्वाला संग्रौला र रमेश प्रसाईं लगाएर रवि लामिछानेले ‘मुकुल ढकाल मेरोविरुद्ध छ’ भन्ने भाष्य निर्माण गरेको जानकारी दिए । 

‘मैले बोलेको कुरा सभापतिको अनुमति र सहमतिमा बोलेको हो । सरकारको विषयमा नबोल्देउ भनेपछि मैले त्यो कुरा बोलिन । तर, बोलेको कुरा समझदारीमा बोलेको हो सोधेर बोलेको हो,’ उनले भने, ‘मैले पार्टी सभापति रवि लामिछानेविरुद्ध बोलेको छैन । पार्टी जोगाउनु पर्छ भनेको हो । उहाँले ज्वाला संग्रौला र रमेश प्रसाईंलाई परिचालित गरेर, मुकुल ढकाल रवि लामिछानेविरुद्धमा गयो भनेर भाष्य सेट गर्नुभयो ।’ 

उनले आफूले कालो टेप लगाएर बैठकमा प्रस्तुत हुनु गलत भएको भए त्यसको भागिदार हुने बताए । तर, महामन्त्रीले कालो टेप लगाएर बैठकमा उपस्थित हुँदा बैठक स्थगित गरेर वार्ता गर्ने प्रयास रवि लामिछानेले नगरेको स्पष्ट पारे ।

‘मैले उहाँसँग पटक–पटक कुरा गर्न चाहे । तर, कुरा गर्न चाहनु भएन । तपाईंलाई प्रचण्ड, ओली, देउवाको घर जान मिल्छ भने भाइ वा महामन्त्री मान्ने भए वार्ता गर्न आउन मिल्छ । तर, उहाँ आउनु भएन,’ उनले भने ।

‘रवि लामिछाने क्लबबाट थुत्छौँ, रास्वपा हामी बनाउँछौँ’

निलम्बित रास्वपाका महामन्त्री डा. ढकालले आफू अहिले पनि पार्टीको महामन्त्री नै रहेको दाबी गरे । नेपालको संविधान, कानून र रास्वपाको विधानअनुसार आफूमाथि कारबाहीको प्रक्रिया नै पूरा नभएको भन्दै वैधानिक रूपमा अहिले पनि रास्वपाको महामन्त्री आफू नै रहेको बताए । 

उनले रास्वपाको प्रतिनिधित्व रवि लामिछाने क्लबले नगर्ने भन्दै त्यसबाट पार्टीलाई थुत्ने दाबी गरे । उनले रास्वपा विधि र पद्धतिअनुसार चल्नका लागि गठन भएको पार्टी भएको भन्दै उनीहरूको नेतृत्वमा रहन नसक्ने बताए । उनले एउटा पार्टी सदस्यलाई कारबाही गर्ने विधिसमेत नजानेकाहरूले विधिको कुरा गर्नु उचित नहुने तर्क गरे । आफूलाई सात दिनको म्याद दिएर स्पष्टीकरण सोधेकोमा पाँचौँ दिन नै कारबाही गरेको उनको भनाइ थियो ।