नेपालगन्ज २७ असार : अविरल वर्षासंगै डुडुवा खोलामा आएको बाढीमा पौडी खेल्नेक्रममा बेपत्ता भएका नेपालगन्जका सुशीलप्रशाद दाहाल अझैं फेला परेका छैनन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० का ४२ वर्षीय सुशीलप्रसाद दाहाल असार २३ गते आईतबार बेलुका बरीब ५ बजेतिर डुडुवाको बाढीमा डुबेर बेपत्ता भएका थिए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–२० राँझा विमानस्थल पछाडि रहेको डुडुवा नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सोही ठाउँका दाहालको विगत पाँच दिनदेखि खोजतलास जारी छ ।
यो पनि पढ्नुहोस् नेपालगन्जका दाहाल डुडुवा नदीको बाढीमा बेपत्ता
पाँच दिनदेखि उनको खोजी कार्य भइरहे पनि अझै पत्ता लाग्न नसकेको बाँके प्रहरीले जनाएकोछ ।
प्रहरीले तत्काल दाहालको खोजी कार्य सुरु गरेर हालसम्म खोजी जारी राखे पनि उनी फेला नपरेकाले अब नदीको तटीय क्षेत्रका बासिन्दालाई निगरानी गर्न आग्रह गरिएको बाँके प्रहरी प्रवक्ता नरायाण डाँगीले जानकारी दिए ।
यता दाहालको खोजीका लागि मोटरबोटको प्रयोग गर्नुका साथै शसस्त्र प्रहरीको ४२ नम्बर गणबाट नौ जनाको विशेष गोताखोर टोलीलाई परिचालन गरेर सम्भावित सबै ठाउँमा खोजी गरे पनि कुनै पत्ता नलागेको सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वाटर बाँकेका गणपति एसपी विमल डाँगीले बताए ।
यो पनि पढ्नुहोस् राप्ती नदीको बाढीमा फसेका ४ जनाको सकुसल उद्धार
पाँच दिनसम्म खोज्दा पत्ता नलागेपछि नदीको तटीय क्षेत्रका बासिन्दालाई सो बारेमा जानकारी गराएर खबर गर्न आग्रह गरिएको उनले बताए । उनले भने–‘डुडुवामा दाहाल बेपत्ता भएलगत्तै राँझादेखि कम्दीसम्मका सम्भावित ठाउँमा खोजी गर्दासम्म पनि भेटिएका छैनन् ।’
उनले दाहाल डुडुवामा डुवेर वेपत्ता भएको खबर प्राप्त भएपछि सशस्त्र प्रहरी बल, नेपाल आयल निगम सुरक्षा बेस राँझाबाट सशस्त्र प्रहरी निरीक्षक नवराज शाहीको कमाण्डमा खटिएको टोली, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निरन्तर खोजीकार्य भइरहेको बताए । यो समाचार तयार पार्दासम्म डुडुवामा बेपत्ता भएका दाहाल भेटिएका छैनन् ।