अमेरिकामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका नेपालीको पहिचान खुल्यो


सेतोखरी सेतोखरी   बिहीबार, असार २७, २०८१
अमेरिकामा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका नेपालीको पहिचान खुल्यो

मोन्टाना (अमेरिका) २७ असार : अमेरिकाको ग्लेसियर नेसनल पार्कमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुने नेपालीको पहिचान खुलेको छ । पौडी खेल्ने क्रममा डुबेर मृत्यु हुनेमा जनकपुर घर भएका २८ वर्षीय राजु झा रहेका छन् ।

यो पनि पढ्नुहोस् अमेरिकामा पौडी खेल्ने क्रममा एक नेपालीसहित दुईको मृत्यु

झा २०१९ मा साउदर्न इलिनोइस युनिभर्सिटी कार्बोन्डालेमा स्ट्रक्चरल इन्जिनियरिङ पढ्नका लागि अमेरिका गएका थिए । मास्टर्स डिग्री पूरा गरेपछि उनले जाकोब इन्जिनियरिङ पोर्टल्यान्डमा २०२१ मा काम थालेका थिए । 

उनका साथी प्रशान्त नरेन्द्रनले झा चम्किलो तारा जस्तो भएका बताए । झा यो संसारमा नभएको भन्ने बारेमा विश्वास गर्नै गाह्रो भएको उनले जनाएका छन् । उनका अनुसार झाका नेपालमा आमा, बाबु र एक भाइ छन् ।

Kanti Aarogya Hospital Nepalgunj

झाको शव नेपाल पठाउनका लागि गो फन्डमार्फत सहयोग मागिएको जनाएका छन् । यसअन्तर्गत तीन दिनमा ३९ हजार डलर उठेको र सो रकम ५० हजार सम्म पुर्याउने लक्ष्य लिइएको उनले जनाएका छन् ।

यसैगरी सोही दिन अलग्गै घटनामा मृत्यु हुने भारतीय नागरिक २६ वर्षीय भिथ्थल पाटील भएको जनाइएको छ । दुवैको गएको शनिबार मृत्यु भएको थियो । पार्कका अधिकारीहरूका अनुसार नेसनल पार्कका दुई अलग क्षेत्रमा ती दुर्घटना भएका थिए । शनिबार बेलुका २८ वर्षीय नेपाली युवक आफ्ना साथीहरूका साथ पौडी खेल्न स्थानीय म्याकडोनाल्ड तालमा गएका थिए । 

उनका साथीहरूका अनुसार उनी पौडी खेल्न अनुभवी थिएनन् । उनी केही बेरमा नै पानीमुनि पुगेको र बाहिर ननिस्केको जनाइएको छ । उनको शव करिब ४० फिट तल भएको उद्धार दलले पत्ता लगाएको थियो । शव राति ८ः३० बजेतिर बाहिर निकालिएको थियो । उनी साथीहरूसँग बिदा मनाउन त्यसतर्फ गएका थिए ।  

घटनामा परेका २६ वर्षीय भारतीय नागरिक शनिबार बिहान ८ः३० तिर त्यहाँ पुगेका थिए । भारतीय नागरिक क्यालिफोर्नियाबाट साथीहरूसँग बिदा मनाउन त्यहाँ पुगेको जनाइएको छ । 

पार्कका अधिकारीहरूले उनीहरूको परिवारलाई खबर गरिदिनका लागि नेपाल र भारतका कन्सुलेटलाई घटनाबारे जानकारी गराएको यस अघि उल्लेख गरेका थिए । ग्लेसियर नेसनल पार्क उत्तरपश्चिम मोन्टानामा रहेको छ । जुन क्यानडा र अमेरिकाको सीमा क्षेत्रमा पर्दछ ।