प्रधानमन्त्री प्रचण्ड पदमुक्त, ओली नयाँ प्रधानमन्त्री बन्ने

ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न देउवाले बुझाए हस्ताक्षर


सेतोखरी सेतोखरी   शुक्रबार, असार २८, २०८१
प्रधानमन्त्री प्रचण्ड पदमुक्त, ओली नयाँ प्रधानमन्त्री बन्ने

File Photo

नेपालगन्ज २८ असार : प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् ।

प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका हुन् । एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए ।

२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ । तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र प¥यो । उनको विपक्षमा १९४ मत परेको छ । र मत दिन्न भन्नेमा १ मत परेको छ । आजको बैठकमा २५८ जना सांसदको उपस्थिति थियो ।

१० पुस २०७९ मा प्रधानमन्त्री भएका प्रचण्डले पहिलो पटक २६ पुसमा विश्वासको मत लिँदा अभूतपूर्व समर्थन पाएका थिए । उनको पक्षमा २६८ मत परेको थियो भने विपक्षमा २ मत मात्र परेको थियो ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

दोस्रो पटक ६ चैत २०७९ मा १७२ मत पाए । तेस्रो पटक ३० फागुन २०८० र चौथो पटक ७ जेठमा विश्वासको मत लिँदा समान १५७ मत पाएका थिए ।

तर, यो पटक कांग्रेस र एमालेले नयाँ सरकार बनाउने सहमति गरेसँगै उनी अल्पमतमा परे । साना दलहरूले समेत साथ दिएनन् । उनलाई आफ्नै दल माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीले मात्र मत दिएको छ ।

ओलीलाई प्रधानमन्त्रीमा दाबी गर्न देउवाले बुझाए हस्ताक्षर

यसैबीच, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाएका छन् । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो ।

कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपालगायत दलले मत जाहेर गरेका थिए । तर, ओलीलाई प्रधानमन्त्रीमा नियुक्तका लागि कांग्रेस र एमालेको मात्र समर्थन रहने छ । जसपा, जसपा नेपाल, जनमत, लोसपा र नाउपालाई एक–एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने कांग्रेस–एमाले सकारात्मक छन् । उनीहरुले ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिँदा पक्षमा मतदान गर्ने छन् । 

कांग्रेस–एमाले सत्ता समीकरणमा सामेल हुने अन्य दलले ओलीलाई विश्वासको मत मात्र दिने छन् । अब राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने छन् । 

प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुनजेलसम्मका लागि राष्ट्रपति पौडेलले आजै प्रचण्डलाई कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने छन् ।