नेपालगन्जको टीभी, फ्रिज मर्मत गर्ने पसलमा हुण्डि कारोबार, साढे २४ लाख बढि नगदसहित ४ जना पक्राउ


सेतोखरी सेतोखरी   शनिबार, असार २९, २०८१
नेपालगन्जको टीभी, फ्रिज मर्मत गर्ने पसलमा हुण्डि कारोबार, साढे २४ लाख बढि नगदसहित ४ जना पक्राउ

नेपालगन्ज २९ असार : नेपालगन्जबाट साढे २४ लाख बढि नगद रकमसहित हुण्डी कारोबारमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ बेलासपुर स्थित टीभि, फ्रिज मर्मत गर्ने एक पसलबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

उक्त पसलमा हुण्डी कारोबार हुँदैछ भन्ने खबर पाएसंग जिल्ला प्रहरी कार्यालय बाँकेबाट गएको प्रहरी टोलीले नगद रुपैयाँसहित चार जनालाई पक्राउ गर्न सफल भएको हो । 

प्रहरीको उक्त टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२ बेलासपुर स्थित तारा कुमारी विसीको घरमा भाडा लिएर सञ्चालनमा रहेको ‘नविल रेफ्रिरिजेरेटर एण्ड एयर कण्डिशन वर्कशप’ नामको टिभी, फ्रिज मर्मत गर्ने पसलबाट ४ जनालाई पक्राउ गर्दै २४ लाख ६२ हजार ३१५ रुपैयाँ नगद बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीका अनुसार नगद रकमसहित पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१८ का २९ वर्षीय राकेश भुजु श्रेष्ठ, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ का २५ वर्षीय सोयव कादरी हलवाई, कोहलपुर नगरपालिका वडा नम्बर–७ का २९ वर्षीय निमबहादुर बोहरा र कञ्चनपुर जिल्ला भिमदत्त नगरपालिका वडा नम्बर–७ घर भई हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–३ बस्ने ३० वर्षीय राहुल देवललाई प्रहरीले शुक्रवार पक्राउ गरेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रहरीले उनीहरुको साथबाट हरहिसाब राखेको कपी थान–१ थान, सानो नोट बुक– १ थान, विभिन्न ब्यक्तिको नाममा रहेको विभिन्न बैंकमा पैसा जम्मा गरेको भौचरहरु समेत बरामद गरेकोछ । नगदसहित पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी अनुसन्धान अघि बढाइएको डिएसपी डाँगीले बताए ।