ज्यान बच्यो, अब कहाँ बस्ने, के खाने ?


सेतोखरी सेतोखरी   शनिबार, असार २९, २०८१
ज्यान बच्यो, अब कहाँ बस्ने, के खाने ?

File Photo

दोधारा चाँदनी (कञ्चनपुर) २९ असार : जिल्लामा गत साताको अविरल वर्षापछि आएको बाढीका कारण डुबानमा परी विस्थापित भएका परिवार घर फर्किएका छन् ।

अधिकांश घरका अन्न र लुगाकपडा सबै भिजेको छ, कतिपयको अन्नपात बाढीले बगाएको छ । अहिले यहाँका बाढी प्रभावितलाई खानलाउन समस्या भएको छ । महाकालीपारि दोधारा चाँदनी नगरपालिकाका चार वडामा जोगबुडा नदीको बाढी पसेको थियो । दोधारा चाँदनी–८, ९, १० र ३ का बासिन्दा सबैभन्दा बढी समस्यामा परेका छन् ।

घरभित्रका कपडा कति बगेर गए कति माटोमा च्यापिएको पीडितहरु बताउँछन् । स्थानीय मङ्गले सार्कीले बाढीले घरभित्र भएको अन्न लत्ताकपडा बाढीले बगाएपछि साँझ बिहानको छाक टार्ने मुस्किल परेको बताए ।

‘भाँडाकुँडा अन्नपात र लत्ताकपडा सबै बगाइदियो साँझबिहान के खाने तीन दिन भयो केही खाएका छैनौँ’, उनले भने, ‘खेत पनि लेदोले पुरेको छ । यस्तो अवस्थामा पनि राज्यबाट कुनै सहयोग पाएका छैनौँ ।’

Care City
Kanti Aarogya Hospital Nepalgunj

दोधारा चाँदनीका चम्पा सार्कीको घर बाढीले भत्काएको छ । बाढीले घर भत्काएपछि खुला आकाशमा पालको साहारा बस्नुपरेको उनले बताइन् । ‘बाढीले केही राखेन अन्नपात, लत्ताकपडा सबै बगाइदियो’, उनले भनिन्, ‘दराज र सोफा लेदोले पुरिएको थियो । घरभित्र रहेको सुन र केही नगद बाढीले लगेको छ ।’

टापुको बस्ती कुतियाकभरमा पनि बाढीले ठूलो नोक्सानी गरेको छ । बाढीले केही घर पूर्ण रुपमा क्षति भएका छन् । सामान्य क्षति भएका घरका सबै फर्किसकेका छन् । घर भत्केका परिवारका सदस्य कोही आफन्तकामा छन् भने कोही नेपाली सेनाले निर्माण गरेको सेफ हाउसमा छन् ।

रातिको समयमा अचानक बाढी बस्तीमा पसेपछि ज्यान जोगाउनै मुस्किल भएको लक्ष्मी सुनारले बताइन् । ‘राति १ बजेतिर प्रहरी आएर हामीलाई उद्धार गरेका हुन्’, उनले भनिन्, ‘ज्यान त जोगायो अन्न र पशुचौपाया जोगाउन सकिएन ।’ उनले बाढीले अन्न र लुगाकपडा सबै बगाएपछि खानलाउन समस्या भएको बताइन् ।

बाढी र डुबानले दोधारा चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामा ठूलो सङ्ख्यामा नागरिक विस्थापित भएका थिए ।

उक्त क्षेत्रमा पूरै लेदोले भरिएर खेतबारी ढाकिएका छन् । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाको कलकत्ता र भुँडामा पनि डुबानका कारण ठूलो क्षति भएको छ । जिल्लाभरिमा अहिले क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । -रासस