कालो सूचीमा कसरी परिन्छ ? हेरौं के–केमा लाग्छ बन्देज ?


सेतोखरी सेतोखरी   शनिबार, असार २९, २०८१
कालो सूचीमा कसरी परिन्छ ? हेरौं के–केमा लाग्छ बन्देज ?

नेपालगन्ज २९ असार : २०४६ सालमा स्थापित कर्जा सूचना केन्द्रले बैंक तथा वित्तीय संस्थाले दिने कर्जाको अभिलेख राख्ने र कर्जा कारोबारका सर्त उल्लंघन गर्नेलाई कालो सूचीमा राख्ने काम गर्छ ।

कालो सूचीमा पर्नुको मुख्य कारण आर्थिक गतिविधिमा आएको शिथिलताको प्रत्यक्ष प्रभाव हो । अर्थतन्त्र सुस्त भएकाले कर्जा तिर्न नसक्दा, जारी गरेको चेक बाउन्स हुँदा र सहकारीहरूमा समस्या आउँदा यस्तो संख्या उल्लेख्य बढिरहेको हो ।

कर्जा तिर्न नसकेका कारण यो वर्ष १० हजार ७ सय ४१ जना व्यक्ति कालो सूचीमा परेका छन् । त्यस्तै चेक बाउन्स भएकाले कालो सूचीमा पर्नेहरू ३५ हजार ८० जना छन् ।

कालो सूचीमा समावेश गर्नुपर्ने देखिएमा बैंक तथा वित्तीय संस्थाले कर्जा सूचना केन्द्रलाई नामनामेसी (खाता खोल्दा लिएको पहिचान खुल्ने आधिकारिक कागजात) यकिन गरी पठाउँछ । यसरी पठाएको पाँच दिनभित्र केन्द्रले ती व्यक्ति वा संस्थालाई कालो सूचीमा राख्नुपर्छ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

कस्तो अवस्थामा कालो सूचीमा परिन्छ? 

–कर्जाको साँवा वा साँवाको कुनै किस्ता वा ब्याजको भुक्तानी मिति एक वर्ष नाघेमा ।
–कर्जा तथा सुविधाको दुरूपयोग गरेको प्रमाणित भएमा ।
–सुरक्षणमा राखेको सामान–सम्पत्ति दुरूपयोग गरेको प्रमाणित भएमा।
–ऋणी बेपत्ता भएमा वा ९० दिनसम्म सम्पर्कमा नआएमा ।
–ऋणी टाट पल्टेमा ।
–बैंक तथा वित्तीय संस्थाले ऋणी विरूद्ध अदालतमा मुद्दा दायर गरेमा।
–ऋण असुली न्यायाधीकरणमा उजुरी परेमा ।
–नक्कली चेक, ड्राफ्ट, विदेशी मुद्रा, क्रेडिट÷डेबिट कार्ड, बिल्स आदि कागजात तथा उपकरण प्रयोग गरी रकम ठगी गरेमा ।
–कुनै व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था वित्तीय कारोबार सम्बन्धी अपराधमा संलग्न भएको प्रमाणित भएमा।
–आफ्नो खातामा पर्याप्त मौज्दात नभई जतिसुकै रकमको चेक जारी गरेमा र चेक फिर्ता भएमा।
–धितो लिलामी गर्ने क्रममा मूल्यांकन गर्दा पहिले मूल्यांकन गरेभन्दा दुई तिहाई मूल्य कम भएमा पहिलेको मूल्यांकनकर्तालाई पनि कालो सूचीमा राख्न सकिने ।
–मूल्यांकनकर्ताले गलत स्थान र प्रकृतिको धितोलाई सही भनेको पाइएमा ।
–खातावालाले आफूले जारी गरेको चेकको रकम भुक्तानी नहुँदै खाता बन्द गरेर पछि बैंकले जानकारी गराउँदा पनि चेकको भुक्तानी हुने व्यवस्था नगरेमा खाताधनीलाई कालो सूचीमा राख्न सकिन्छ ।
–चेकमा गलत हस्ताक्षर गरी चेक भुक्तानी नभएमा र बैंकले जानकारी गराएपछि पनि सही हस्ताक्षर गरेर नदिएमा ।

यो नियम नेपाली बैंक तथा वित्तीय संस्थामा खाता भई चेक जारी गरेका विदेशी नागरिक तथा विदेशी संस्थालाई पनि लागू हुन्छ ।

कालो सूचीमा कर्जा नतिर्ने ऋणी, ठगी गर्ने वा चेक बाउन्स गर्ने व्यक्ति वा संस्था मात्र पर्दैनन् । प्रोप्राइटरशीपमा रहेको संस्था भए प्रोप्राइटर, साझेदारी फर्मका साझेदार, कर्जाका लागि जमानत बस्ने जमानतकर्ता, कम्पनी वा संगठित संस्थाका सञ्चालक, १५ प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनी पनि कालो सूचीमा पर्छन् । कुनै ऋणी र व्यक्ति कालो सूचीमा परेमा उसको एकाघर परिवारका सदस्यहरू भने उक्त सूचीमा पर्दैनन ।

कालो सूचीमा हुँदासम्म के–केमा लाग्छ बन्देज? 

–कालो सूचीमा परेका ऋणीले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाउँदैनन्।
–कालो सूचीमा परेका व्यक्तिहरूले नयाँ राहदानी पाउँदैनन् र राहदानी भएकाको समेत जफत हुन्छ। 
–राहदानी जफत भएका व्यक्तिहरूले बैंक तथा वित्तीय संस्थाहरूलाई मान्य हुने गरी आफूले लिएको कर्जा पुनर्संरचना वा पुनर्तालिकीकरण गरेमा राहदानी फिर्ता हुन्छ ।
–सूचीबाट फुकुवा नभएसम्म आफ्नो खातामा रकम जम्मा गर्ने बाहेक अन्य कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न पाउने छैन।
–कालो सूचीबाट मुक्त भएको एकदेखि तीन वर्षपछि मात्रै कतिपय सरकारी निकायहरूका पदहरूमा आवेदन दिन सकिने व्यवस्था छ । 

कालो सूचीबाट कासरी बाहिरिन सकिन्छ ? 
यसको सबैभन्दा सरल र सहज उपाय भनेकै ऋण वा चेकमार्फत भुक्तानी हुनुपर्ने रकम भुक्तानी भएमा कालो सूचीबाट हटाउन सकिने व्यवस्था छ ।