देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै


सेतोखरी सेतोखरी   मंगलबार, साउन १, २०८१
देशभर साउने सङ्क्रान्ति पर्व मनाइँदै

नेपालगन्ज १ साउन : आज साउने सङ्क्रान्ति पर्व स्नान, दान र धार्मिक कर्म गरेर मनाइँदैछ ।

विक्रम सम्वतको क्यालेण्डर अनुसार साउनको १ गतेलाई साउने सङ्क्रान्ति अर्थात् कर्कट सङ्क्रान्ति भनिन्छ । यस दिनलाई हामीकहाँ साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन भनेर पनि जानिन्छ । 

सङ्क्रान्तिमा सूर्यको दर्शन, पूजा–आराधना गरिन्छ । हाम्रो हिन्दु संस्कृति पाञ्चायन देवतामा पनि सूर्यको पूजा आराधना गरिन्छ ।

सौरमास अनुसार साउन १ गतेदेखि सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

साउनदेखि सूर्य दक्षिण हुँदै हिड्ने भएकाले आजैदेखि दक्षिणायन पनि सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अधिकांश नेपाली असार महिना खेतीमा व्यस्त हुँदा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोगको उपचारका लागि साउन १ गते लुतो फाल्ने गरिन्छ ।एक महिनाभरी काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो समेत गर्छन् ।

परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुते झार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फ्याक्ने चलन पनि छ ।

लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ ।

महिलाले साउन महिनामा हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने प्रचलन पनि छ ।