साउनमा हरिया चुरा, पोते र मेहेन्दीप्रति महिलाको बढ्दो मोह


विजय मल्ल विजय मल्ल   मंगलबार, साउन १, २०८१
साउनमा हरिया चुरा, पोते र मेहेन्दीप्रति महिलाको बढ्दो मोह

नेपालगन्जको एकलैनी स्थित पसलमा चुरापोते खरिद गर्दै ग्राहक । तस्विर : विजय मल्ल /सेतोखरी

नेपालगन्ज १ साउन : साउन भगवान शिवको पूजा आराधना गरी बिताइने धर्म र संस्कृतिको महिना हो । साउनभरी माछामासु, लसुनप्याज नखाएर, नङ, कपाल नकाटेर व्रत बस्ने चलन छ । 

विशेषगरी महिलाका लागि त साउन झनै रमाइलो र रोचक हुने गरेको छ । यो महिनामा लगाइने हरियो चुरा र पहिरनहरुको खासै धार्मिक महत्व नभए पनि साउनमा प्रकृति र पोशाकको तालमेल चाख लाग्दो देखिन्छ । 

त्यसो त साउनमा हरियो पोशाककै नाममा चुरा, मेहन्दी र हरिया लुगाको व्यापार पनि अघिल्ला वर्षहरुको तुलनामा बढ्दै गएका छन् । साउन महिना लाग्नु अघिबाटै नेपालगन्जमा चुरा, पोते र मेहन्दीको बजारमा छुटै रौनक देखिन्छ । हरियो चुरा र पोते किन्ने महिलाहरुले पसल भिडभाड छ, पसलेहरुलाई भ्याइनभ्याइ छ ।

साउन महिनामा महिलाहरुको हरियो चुरा र पोशाक प्रतिको आकर्षण देखेर बजारमा साउन सुरु हुनु पहिलेदेखी नै हरिया चुरा र पहिरनहरु सजाएर राख्ने गरिन्छ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

विवाहित हुन् या अविवाहित, हरिया पहिरनमा सबै युवतीहरुको आकर्षण देखिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् भने अविवाहित युवती पनि आर्कषण र रमाईलोको लागी हरियो चुरा, हरिया पहिरन र मेंहन्दी लगाउँने गर्दछन् ।

पछिल्लो समय साउनलाई फेसनको रुपमा लिदाँ हरिया पहिरन, चुरा, पोते, टिकुली र मेहेन्दीको दृष्यले साउनलाई फेसनमय बनाएको छ । विभिन्न कारणले साउन अहिले हरियालीमय बनेको छ । हातमा मेहेन्दी, हरियो चुरा र हरिया पहिरन नलगाइ हिड्ने महिलाहरु बिरलै देख्न पाइन्छ । 

अरु समयमा यी कुराको महत्व नभएपनि साउनमा भने विशेष मानिन्छन् र महिला यीनैमा झुम्मिन्छन् । साउनमा चुरा व्यापारीलाई भ्याई नभ्याई हुन्छ । उनीहरु बिहानदेखि साँझसम्म चुरा, मेहन्दी, टिकाको कारोबार गरिरहेका भेटिन्छन् । साउनलाई लक्षित गरि नेपालगन्जका विभिन्न स्थानमा चुरा, पोते, मेहेन्दी लगायतका सामाग्रीको राम्रो ब्यापार भइरहेकोछ । 

साउनको महिनासगै नेपालीहरुको चाडपर्वको सुरुवात हुने र ब्यापार ब्यवसाय पनि राम्रो हुने नेपालगन्जका ब्यापारीको बुझाईछ । अन्य दिन भन्दा साउनमा चुरा, टिकुली, मेहेन्दी, पोते, लुगालत्ता लगायतका सामाग्रीको बिक्रि बढि हुने गरेको नेपालगन्जका ब्यापारी बताउँछन् । 

साउनलाई लक्षित गरि नेपालगन्जका विशेषगरि एकलैनी, सदरलाईन, घरबारीटोल र बागेश्वरी मन्दिर परिसर लगायतका स्थानमा चुरापोते, टिकुली, मेहेन्दी लगायतको ब्यापार हुने गर्दछ । ब्यापारिहरु विशेष गरि यो महिना अरु सबै सामान थन्क्याएर हरियो, रातो, पहेँलो चुरा र पोतेमै फोकस हुन्छन् । खुद्राव्यापारी र ग्राहकलाई सामान दिन उनीहरुलाई भ्याइनभ्याइ हुन्छ । साउन चुरा व्यापारीका लागि दशैँ आएसरी नै हुन्छ ।  धर्मसंस्कृति र फेसनसँग जोडिएको साउने संक्रान्तिको आफ्नो छुट्टै महत्व र विशेषता छ नै किशोरीहरुका लागि फेसनका रुपमा यसले स्थान लिएपछि यसको महत्व झन् बढेको हो । 

eaklaini-2-1721122208.jpg
एकलैनीमा कस्मेटिक पसल चलाउने मीना लखेर अरुबेला चुरा धेरै नबिक्ने भएपनि यो महिना माग धेरै आउने बताउँछिन् । ‘अरुबेला खासै चुरा बेचिदैन । ग्राहक कम आउनेगर्छन् । तर, साउनमा त हरियो चुरा नल्याए त कामै हुन्न । अरुबेला दैनिक एकदुई दर्जन बिक्रि भए पनि यो सिजनमा दिनहुँ ४०-५० दर्जनभन्दा बढी बिक्रिहुन्छ ।’ मीनाले थपिन् । 
यस्तै एकलैनीका अर्का ब्यापारि राजु गुप्ता पनि सधैँ साउनमा आफ्नो पसलमा घुँइचो बढ्ने बताउँछन् । उनले भने–‘म त साउन लाग्नुअघि नै सामान ल्याइसक्छु । यो समय धेरै बिक्ने हुनाले नाफापनि हुन्छ । साना बालबालिकादेखि बृद्धबृद्धासम्मले चुरा खरिद गर्ने गर्छन् । विवाहितले त चुरा प्राय लगाउँछन् नै, अहिले अविवाहित महिला विशेष गरि किशोरीले धेरै जसो चुरा किन्ने गरेकाछन् ।’

साउनमा हरियो चुराका साथमा राता, नीलो र पहेँलो चुरा मात्र नभएर पोते, मेहेन्दी लगाउने पनि चलन छ । चुरा पसलमा मात्र नभई फुटपाथ, मन्दिर प्रांगणमा मेहन्दी बेच्न र लगाइदिन बसेका व्यापारी थुप्रै भेटिन्छन् । 

साउनको पूर्वसन्ध्यामा नेपालगन्जका विभिन्न ब्यूटिपार्लरहरुमा मेहेन्दी लाउनेको घुँइचो लाग्यो । नेपालगन्जमा चुरा, पोते र मेहेन्दी विशेषगरी भारतबाटै ल्याइने गरेको व्यापारी बताउँछन् । 

नेपालगन्ज बजारमा काँचका, प्लाष्टिकका, धातु (मेटल)का चुरा पाइन्छन् । पहिले–पहिले काँचका चुराको प्रचलन बढी थियो भने अहिले आएर प्लाष्टिक र मेटलको माग बढेको छ । नफुट्ने र धेरै टिक्ने हुनाले यसको मागमा वृद्धि भएको ब्यापारिको भनाई छ । 

बजारमा अहिले बुट्टा र गुणस्तरको आधारमा सामान्य काँचको चुराको ५० रुपैयाँ प्रति दर्जन देखि २५० बढी रुपैयाँसम्म पर्छ । त्यस्तै प्लाष्टिक र मेटलका चुराहरु भने तुलनात्मक रुपमा महंगो हुने व्यापारी बताउँछन् । प्लाष्टिकका चुरा ५०–७० रुपैयाँ प्रतिदर्जनदेखि २५० रुपैयाँ प्रतिदर्जन सम्म पर्छ । 

नफुट्ने र धेरै टिक्ने हुनाले मेटलका चुराको मूल्य भने बढी नै रहेको छ । मेटलका चुराहरु दर्जनको हिसाबले भन्दापनि सेटमा आउँछन् । यस्ता सेट चुरा ६० रुपैयाँदेखि सुरु हुन्छ । सामान्य रुपमा बजारमा सादा काँचका चुरा ३० रुपैयाँ प्रति दर्जन र मेटलका डिजाइनदार चुरा १ सय रुपैयाँदेखि ५ सय रुपैयाँ सम्मका चुराको माग भएको व्यापारीको भनाइ छ ।

साउन महिना महिलाहरुका लागि विशेष महत्व राख्दछ । यो महिनाभर उनीहरु भगवान शिवको व्रत बस्ने गर्दछन् । साउनको पहिलो दिन नेपालगन्ज स्थित बागेश्वरी परिसरमा रहेको जुङ्गेश्वर महादेवको पुजाअर्चनामा भक्तजनको भीड लाग्ने गर्दछ । तर, यसपटक भने जुङ्गेश्वर महादेव भएको स्थल जिर्णोदार भइरहेकाले मन्दिर परिसरका शिवालयमा भक्तजनले पुजाअर्चना गरेकाछन् । 

mehendi-1721122249.jpg
साउनको पहिलो दिन साउने सङ्क्रान्ति पर्व स्नान, दान र धार्मिक कर्म गरेर मनाइन्छ । यस दिनलाई हामीकहाँ साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन भनेर पनि जानिन्छ । 
सङ्क्रान्तिमा सूर्यको दर्शन, पूजा–आराधना गरिन्छ । हाम्रो हिन्दु संस्कृति पाञ्चायन देवतामा पनि सूर्यको पूजा आराधना गरिन्छ ।

सौरमास अनुसार साउन १ गतेदेखि सूर्यले मिथुन राशिको भोग पूरागरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले यसलाई कर्कट सङ्क्रान्ति पनि भनिन्छ ।

यसदिन परम्पराअनुसार कागभलायो, कुकुरडाइनो, लुते झार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फ्याक्ने चलन पनि छ ।

लुतो फाल्दा आ–आफ्नो कूल परम्पराअनुसार नाङ्लो ठटाउने, शंख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । साउन महिनालाई विशेष रुपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रुपमा पनि लिइन्छ ।