काँग्रेसको कुन गुटबाट को बने मन्त्री ?


सेतोखरी सेतोखरी   मंगलबार, साउन १, २०८१
काँग्रेसको कुन गुटबाट को बने मन्त्री ?

नेपालगन्ज १ साउन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्री छनोटमा पार्टीका सबै शक्ति केन्द्र (गुट)लाई भाग दिएका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसले १० जना मन्त्री पठाएकोछ । 

काँग्रेस सभापति शेरबहादुर देउवाले यसपटक सबै गुटको चित्त बुझ्ने गरी निर्णय लिए । यसले काँग्रेसले पाएका १० मन्त्रालयमा पार्टीका सात शक्ति केन्द्रबीच भागबण्डा भएको देखिन्छ ।

२०७९ चैतमा प्रचण्ड सरकारमा ९ मन्त्री पठाउँदा देउवाले शेखर कोइरालालाई मात्र भाग दिएका थिए । मन्त्री छनोटमा भाग नपाएपछि महामन्त्री थापा, प्रकाशमान सिंह, शशांक कोइराला लगायतले नेताहरू सभापति देउवासँग रुष्ट थिए । 

गत असार १७ मा काँग्रेस र एमालेबिच सत्ता साझेदारीको सहमति भएपछि मन्त्रीको दौडमा आफ्नो निवास बुढानीलकण्ठ पुग्ने नेतालाई देउवाले ‘सबैलाई मिलाएर लैजाने’ बचन दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

काँग्रेस सभापति देउवा निकट–३ जना, नेता शेखर कोइरालाको कोटामा–२ जना, महामन्त्री गगन थापाको–१ जना, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र शशांक कोइरालालाई १–१ जना, उपसभापति पूर्णबहादुर खड्कालाई–१ जना र राष्ट्रपति रामचन्द्र पौडेलको कोटामा–१ जनालाई देउवाले पार्टीबाट सरकारमा पठाएका छन् ।

देउवा समूहबाट गृहमन्त्रीमा रमेश लेखक, परराष्ट्रमन्त्रीमा डाक्टर आरजु राणा देउवा, कानूनमन्त्री अजय चौरसियाले अवसर पाएका छन् । सभापति देउवाले आफ्ना विश्वास पात्र, संसदीय दलका प्रमुख सचेतक तथा पार्टीको केन्द्रिय कार्यसम्पादन समिति सदस्य लेखकलाई शक्तिशाली मानिने गृह मन्त्रालयमा पठाएका छन् ।

काँग्रेस केन्द्रिय सदस्यसमेत रहेकी आफ्नी पत्नी डाक्टर आरजुलाई परराष्ट्र मन्त्री बनाउँदा मधेसबाट चौरसियाले कानूनमन्त्री बन्ने अवसर पाए । देउवाले मन्त्रीका लागि धेरै सांसदलाई बचन दिएको भएपनि अन्तिममा लेखक, राणा र चौरसियालाई रोजे ।

यस्तै शेखर कोइरालाले पर्यटनमन्त्रीमा बद्री पाण्डे र कृषि मन्त्रीमा रामनाथ अधिकारीलाई बनाउँदा प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन महामन्त्री थापा सफल भए । देउवाले शेखर–गगन समूहलाई चार मन्त्रीको भाग छुट्याएका थिए । उक्त समूहमा मन्त्री छनोटका लागि लामो रस्साकसीपछि पाण्डे, अधिकारी र पौडेलले अवसर पाए ।

शेखर–गगन समूहमा जीवन परियार, चन्द्र भण्डारी, हृदयराम थानी, सञ्जय गौतम, रामकृष्ण यादव, सरिता प्रसाईँ लगायतबिच मन्त्रीका लागि जोडबल थियो । शेखर कोइरालाले अधिकारी, थानी र प्रसाईलाई मन्त्री बनाउने ईच्छा राखेका थिए । 

शेखर–गगन समूहका नाममा मन्त्री बनेका तेजुलाल चौधरी राष्ट्रपति रामचन्द्र पौडेलले इच्छाएको व्यक्ति भएको काँग्रेसमा चर्चा छ । यसअघि राष्ट्रपति पौडेलको कोटाबाट सुरेन्द्र आचार्य मन्त्री बनेजस्तै यसपटक चौधरीले मौका पाएको देखिन्छ ।

यता पूर्वमहामन्त्री सिंह आफैँ पार्टीको नेतृत्व गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री बनेर ओली सरकारमा सहभागी हुँदा अर्का पूर्वमहामन्त्री शशांक कोइरालाले दीपक खड्कालाई ऊर्जा मन्त्री बनाए । 

काँग्रेसमा नयाँ गुटको अभ्यास गरिरहेका उपसभापति पूर्णबहादुर खड्काले ऐनबहादुर शाही ठकुरीलाई वनमन्त्री बनाएर आफ्नो कोटा सुरक्षित पारेका छन् । 

काँग्रेसले दलित समुदायका साथै गण्डकी र लुम्बिनी प्रदेशबाट एक जनालाई पनि मन्त्री बनाएन । २५ सदस्यीय मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री नियुक्त गर्न बाँकी छ ।