मनसुनजन्य विपद्मा परी १२० जनाको मृत्यु 


सेतोखरी सेतोखरी   मंगलबार, साउन १, २०८१
मनसुनजन्य विपद्मा परी १२० जनाको मृत्यु 

नेपालगन्ज १ साउन : नेपालमा यसवर्ष मनसुन सुरु भएदेखि मङ्गलबार (आज) सम्म मनसुनजन्य विपद्का घटनामा परी एक सय २० जनाको मृत्यु भएकोछ ।

यसवर्ष गत जेठ २८ गते मनसुन सुरु भएको थियो । मनसुन सुरु भएसँगै अविरल वर्षाका कारण बाढी, पहिरो लगायतका विपद्का घटनामा १२० जनाको मृत्यु भएको हो ।

नेपाल प्रहरीका अनुसार बाढी, पहिरो लगायतका विपदमा परी काठमाडौं उपत्यकामा दुई जना, कोसी प्रदेशमा २२ जना, मधेसमा पाँच, वाग्मतीमा १५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिममा आठजनाको मृत्यु भएको छ ।

विपद्का घटनामा परी काठमाडौं उपत्यकामा आठजना, कोसी प्रदेशमा ३४ जना, मधेसमा ९ जना, वाग्मतीमा सातजना घाइते छन् । त्यस्तै, गण्डकीमा २८, लुम्बिनीमा ९, कर्णालीमा २९ र सुदूरपश्चिममा ११ गरी १३५ जना घाइते भएका छन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

कोसीमा ४१ र गण्डकीमा १२ जना गरी कुल ५३ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । पहिरोमा परी कोसीमा दुईजना, मधेसमा एक, वाग्मतीमा दुई तथा गण्डकी, कर्णाली र सुदूरपश्चिममा एक–एक गरी आठजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी कार्य जारी छ । 

बाढीको कारण हालसम्म १८२ घर डुबानमा परेको जानकारी प्रहरीले दिएको छ । मनसुनजन्य विपद्का घटनाले २१३ वटा घर, ७९ वटा गोठ, ४३ वटा पुल, एउटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार ६५२ घर परिवार विस्थापित भएका छन् ।