आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपियो 


सेतोखरी सेतोखरी   बुधबार, साउन २, २०८१
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा रोपियो 

नेपालगन्ज २ साउन : प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा तुलसीको बिरुवा आज सारिन्छ । 

सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कात्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । 

भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मासा पनि भनिन्छ । एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुर्मासाका चार महिनामा पर्ने आठ एकादशीमा व्रत बस्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।

आज हरेक घरमा तुलसी रोप्ने काम गरिन्छ । घरको आँगनमा रोपिएको तुलसीलाई विष्णु भगवानको अवतारका रूपमा पूजा गर्ने चलन छ । एक महिना अघि जेठ शुक्ल एकादशी (निर्जला एकादशी)का दिन छरिएको बिउ तयार भएर आजको दिन रोपण गरिन्छ । 

Kanti Aarogya Hospital Nepalgunj

हरिशयनी एकादशीका अवसरमा आज राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको बाक्लो उपस्थिति छ । 
एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । 

तुलसी आयुर्वेदमा बहुउपयोगी बनस्पति हो । वैज्ञानिकरूपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ । 

हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने यो दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरेमा आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । 

हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्नु हुने र कात्तिक महिनाको प्रबोधनी (हरिबोधनी) एकादशीका दिन जागा हुनुहुने धार्मिक विश्वास रहदै आएको छ । 

चतुर्मास अवधिमा श्रीविष्णु (हरि) भगवानको पूजा, आराधना, चिन्तन, मनन, उपासना, र व्रत गर्ने मानिस भगवान् विष्णुको प्रिय हुन्छ भन्ने कुरा एकादशी महात्म्यमा उल्लेख गरिएको छ । 

हरिशयनी एकादशीको उपासना गरी ब्राह्मणलाई भोजन गराउनु, दक्षिणा दिनु, गौदान गर्नु, वस्त्रदान गर्नु आदि कार्यले मानिसका पूर्व जन्मका सबै पापको नास, पुण्यको वृद्धि भई मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ ।