अधिकारकर्मीद्वारा नेपालगन्ज कारागारको अनुगमन, क्षमताभन्दा दोब्बर कैदीबन्दी पाइयो


सेतोखरी सेतोखरी   बुधबार, साउन २, २०८१
अधिकारकर्मीद्वारा नेपालगन्ज कारागारको अनुगमन, क्षमताभन्दा दोब्बर कैदीबन्दी पाइयो

नेपालगन्ज २ साउन : नेपालगन्ज कारागारको अनुगमन गरी अधिकारकर्मीहरुले कैदीबन्दीहरुको आधारभूत मानवअधिकार उपभोगको अवस्थाका बारेमा जानकारी लिएका छन् ।अनुगमन टोलीले कारागार प्रमुख जेलर अर्जुनजङ्ग शाहसँग कारागार व्यवस्थापनको पछिल्लो अवस्थाका बारेमा छलफल गरी जानकारी लिएका हुन् ।

अनुगमनका क्रममा ३ सय ५० जना कैदैबन्दी अट्ने क्षमताको कारागारमा हाल क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको पाइएको अनुगमन सदस्य मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभातकुमार ठकुरीले जानकारी दिए ।

उनका अनुसार हाल उक्त कारागारमा ४ सय ५२ जना कैदी र २ सय ४८ जना बन्दी गरी जम्मा ७ सय ६४ जना कैदीबन्दी राखिएको गौतमले बताए । कारागारमा ६४ जना भारतीय नागरिक र १० जना ६५ वर्ष उमेर माथिका ज्येष्ठ नागरिकसमेत रहेकाछन् ।

ज्येष्ठ नागरिक कैदीबन्दीलाई सामाजिक सुरक्षा भत्ताको लागि सहजीकरण गर्ने, कारागारभित्र आफ्नो धर्मअनुसारको धार्मिक संस्कार पूजा पाठ गर्ने वातावरण मिलाइएको तथा हिन्दु र मुस्लिम समुदायका कैदीबन्दीले आस्थाअनुसार पूजा आजा गर्दै आएको जेलर शाहले जानकारी गराएको ठकुरीले बताए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

यस्तै अनुगमनका अर्की सदस्य इन्सकेका कार्यक्रम अधिकृत सरस्वती मल्लका अनुसार बाँके कारागारमा दुई वटा ब्लकमा कैदीबन्दी राखिएको छ । पहिला पहिला महिला कैदीबन्दी राख्ने गरिएको बि ब्लकमा हाल पुरुष कैदीबन्दी राख्ने गरिएको छ । पछिल्लो समयमा बाँके कारागारमा महिला कैदीबन्दी राख्ने गरिएको छैन । महिला कैदीबन्दीहरुलाई बर्दिया कारागार पठाउने गरिएको छ ।

अत्यधिक गर्मीका कारण कैदीबन्दीहरुमा छिटफुट रुपमा छाला रोगको समस्या देखिएको र उनीहरुले शौचालय प्रयोग गर्न पालो कुर्नुपर्ने, कोचिएर बस्नुपर्ने, सुत्नलाई समस्या हुने गरेको केही कैदीबन्दीले गुनासो गरेको इन्सकेकी कार्यक्रम अधिकृत मल्लले जानकारी दिइन् ।

खानेपानीका लागि दुई वटा समरसेल राखिएको र स्वच्छ खानेपानीको प्रवन्ध मिलाइएको छ । कारागारमा स्वास्थ्यकर्मीको दरबन्दी रहेको, नियमित स्वास्थ्य उपचारको व्यवस्था मिलाइएको, विरामीको अवस्थाअनुसार नजिकै रहेको भेरी अस्पतालमा उपचारार्थ लैजाने गरिएको जेलर शाहले जानकारी गराएको अनुगमनका अर्का सदस्य एडभोकेसी फोरमका लुम्बिनी संयोजक अधिवक्ता बसन्त गौतमले बताए ।

बाँकेको नौवस्तास्थित क्षेत्रीय कारागार सञ्चालनमा आएपनि कारागार कार्यालय बाँकेमा दोब्बर कैदीबन्दी रहेका छन् । नौवस्ता कारागार अझै फूलफ्रेजमा सञ्चालनमा आउन नसकेको गौतमले जानकारी दिए ।

एडभोकेसी फोरमका लुम्बिनी संयोजक अधिवक्ता बसन्त गौतम, इन्सकेका कार्यक्रम अधिकृत सरस्वती मल्ल, अधिकृत सोम नेपाली र मानव अधिकार एलाइन्सका केन्द्रिय सदस्य प्रभातकुमार ठकुरीको संयुक्त टोलीले कारगारको पछिल्लो अवस्थाका बारेमा अनुगमन गरी जानकारी लिएको हो ।