भेरीमा सर्पदंशका बिरामी बढे


सेतोखरी सेतोखरी   बिहीबार, साउन ३, २०८१
भेरीमा सर्पदंशका बिरामी बढे

नेपालगन्ज ३ साउन : भेरी अस्पतालमा सर्पदंशका बिरामीहरु बढेका छन् । भेरी अस्पतालका सूचना अधिकारी एवम् इमर्जेन्सी विभाग प्रमुख वरिष्ठ फिजिसियन डा.सङ्केत रिसालले वर्षापछि सर्पले डसेका बिरामीहरु उपचारका लागि अस्पतालमा आउनेको सङ्ख्या बढेको बताए ।

असार महिनाको अन्तिमतिर सर्पदंशका बिरामीहरु ह्वात्तै बढेको उनको भनाइ छ ।  ‘प्रायः वैशाखदेखि सर्पले डसेका बिरामीहरु उपचारका लागि आउने गर्छन्, तर विशेषगरी असारमा पवर्षा भएदेखि अन्तिम साता मात्र धेरै बिरामीहरु उपचारका लागि आएका छन्,’ डा.रिसालले भने । 

उनका अनुसार उपचारमा आएका बिरामीहरुमध्ये अधिकांशलाई करेत सर्पले डसेकेको पाइएको छ । ‘उपचारमा आएकामध्ये अधिकांशलाई करेत सर्पले टोकेको पाइएको छ, बालबालिकादेखि प्रौढसम्मका बिरामी आउनुभएको छ, सबैलाई घरमै टोकेको पाइएको छ,’ उनले भने ।

उनका अनुसार साउन २ गतेसम्म भेरी अस्पतालमा सर्पले डसेर आएका बिरामीमध्ये अस्पतालमा हाल चार जना बिरामीको उपचार भइरहेको छ । तीन जना बिरामीको आइसियुमा र एक जनाको इमर्जेन्सी विभागमा उपचाररत रहेको उनले बताए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

गत वैशाखदेखि साउन २ गतेसम्म भेरीमा ६७ जना सर्प लगायत शङ्कास्पद डसइबाट उपचार गर्न आएको इमर्जेन्सी विभागको रेकर्डमा छ ।

उक्त रेकर्ड अनुसार ६७ जनामध्ये २१ जनालाई विषालु सर्पले डसेको प्रमाणित भएपछि औषधी उपचार गरिएको छ । २१ जनामध्ये एक जनालाई वैशाख महिनामा सर्पले डसेको हो भने बाँकी २० जनालाई असार महिना यता सर्पले डसेर उपचारार्थ अस्पताल आएका हुन् ।

यस वर्ष उपचारका क्रममा अस्पतालमा कुनै पनि बिरामीको मृत्यु नभएको डा.रिसालले भने । तर केही बिरामीको भने उपचारका क्रममा अस्पताल ल्याउँदाल्याउँदै बाटोमै मृत्यु भएको छ ।