अम्बिका श्रेष्ठ : पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व


सेतोखरी सेतोखरी   शुक्रबार, साउन ४, २०८१
अम्बिका श्रेष्ठ : पर्यटन क्षेत्रले गुमायो सुप्रतिष्ठित व्यक्तित्व

नेपालगन्ज ४ साउनः वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको आज ९२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनपछि प्रतिक्रिया दिँदै पर्यटन व्यवसायीहरुले मुलुकको पर्यटन क्षेत्रले सच्चा अभिभावक गुमाएको बताएका छन् । 

पर्यटनमार्फत नेपाली कला, संस्कृति र सभ्यता विश्वमाझ प्रबद्र्धनमा श्रेष्ठले पुरयाएको योगदान अतुलनीय रहेको उनीहरुको भनाइ छ । स्वदेशमा मात्र नभई विश्व पर्यटन बजारमा प्रसिद्ध बुटिक होटल द्वारिकाजलाई सामान्य छाप्रोबाट पाँच तारे स्तरको बनाउनमा संस्थापक श्रेष्ठले ठूलो योगदान पुरयाएको उनीहरुको भनाइ छ । 

वरिष्ठ पर्यटन व्यवसायी वसन्त मिश्रले पर्यटन क्षेत्रको प्रेरणादायी व्यक्तित्व श्रेष्ठको निधनले यस क्षेत्रमा अपुरणीय क्षति पुगेको बताएका छन् । ‘उहाँ नेपालका लागि सच्चा स्वयंसेवक हुनुहुन्थ्यो, पर्यटनमा मात्रै नभइ सामाजिक काममा पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्थ्यो’, मिश्रले भने, ‘पर्यटनको बजारीकरण र प्रवर्द्धनमा उहाँ जत्तिको अनुभवी व्यक्तित्व निकै कम छन् ।’ पर्यटन क्षेत्रमा पछिल्लो पुस्ताले उनीबाट धेरै कुरा सिकेको उनको बुझाइ छ । ‘उहाँको योगदानलाई पर्यटन क्षेत्रले जहिले पनि सम्झिरहने छ’, उनले भने ।

नेपाली कला, संस्कृतिलाई संवर्द्धन गर्दै व्यावसायिक रुपमा सफल एवं सुविधा सम्पन्न तारे होटल तथा रिसोर्ट सञ्चालन गर्दै आएकी श्रेष्ठले प्रारम्भ गरेका महिला उद्यमशिलताको विकास स्वदेशमा मात्र नभई विदेशमा चर्चामा छ । उनी र उनको परिवारबाट प्रवर्द्धिधत हेरिटेज होटल तथा रिसोर्टले नेपालको चिनारी अन्तर्राष्ट्रिय जगतमा उल्लेखनीय छ । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

नेपालको पर्यटन प्रवर्द्धनमा सदा सक्रिय रही सम्बन्धित विभिन्न सङ्घ सङ्गठनमा प्रभावकारी नेतृत्व गर्नुहुने स्व.श्रेष्ठको निधनबाट देशले पर्यटन विकासको सच्चा अभियान्ता गुमाएको होटल सङ्घका अध्यक्ष विनायक शाहले बताए ।

उनले भने, ‘मुलुकको कला, संस्कृति र सभ्यताको समीश्रण गरी व्यावसायिक रुपमा सुविधा सम्पन्न पाँचतारे होटल सञ्चालन गरी विश्व पर्यटन बजारमा मानकका रुपमा स्थापित गर्ने श्रेय अम्बिका श्रेष्ठलाई जान्छ, यसले देश र समाजलाई महत्वपूर्ण योगदान दिएको छ ।’

पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न सङ्गठनको नेतृत्वदायी भूमिकामा लामो समय काम गरेको अनुभवका साथै नेपाललाई विश्वभर चिनाउन श्रेष्ठ र उनले नेतृत्व गरेको होटलको महत्त्वपूर्ण भूमिका रहेको अध्यक्ष शाहले बताए । श्रेष्ठ भौतिक रुपमा नरहे पनि उनले पर्यटन क्षेत्रमा पुर्याएको योगदान सँधै चीरस्मरण रहने शाहले बताए ।

नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत श्रेष्ठले नेपाल सम्पदा सङ्घमार्फत सम्पदा संरक्षणमा पनि महत्त्वपूर्ण योगदान दिएकी थिइन् । पर्यटन क्षेत्रका साथै महिला उद्यमशीलता प्रवर्द्धन र महिला सशक्तिकरणमा पनि श्रेष्ठको महत्त्वपूर्ण भूमिका छ ।

श्रेष्ठको निधनले मुलुकको समग्र पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको र व्यावसायिक अभिभावक गुमेको पर्यटन व्यवसायीको बुझाइ छ । उनले नेपाल आउने पर्यटक पाहुनालाई परम्परागत रैथाने खानाको परिकार पस्केर नेपालको आतिथ्य पर्यटनलाई विश्वबजारमा प्रवर्द्धन गरेकी थिइन् ।

वरिष्ठ पर्यटन व्यवसायी योगेन्द्र शाक्य जीवनको उत्तरार्धमा वैशाखी टेकेर पनि पर्यटनका हरेकजसो कार्यक्रममा सक्रिय सहभागी हुने श्रेष्ठको उपस्थिति र ऊर्जाशील भनाइले नयाँ उद्यमीलाई उत्साह र उत्प्रेरणा जगाउने गरेको बताए ।

‘अम्बिका श्रेष्ठ पर्यटन व्यवसायीका लागि अभिभावक हुनुहुन्थ्यो, उहाँको निधनले पर्यटन क्षेत्रमा अपुरणीय क्षति पुगेको छ’, उनले भने, ‘श्रेष्ठले महिला सशक्तीकरण, पर्यटन उद्योगलगायतमा ख्याती कमाउनुभएको थियो । उहाँले गुणस्तरीय पर्यटक नेपाल भित्र्याउन महत्वपूर्ण योगदान गर्नुभएको छ ।’

नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीले पर्यटन क्षेत्रले आज अभिभावक गुमाएको बताए । ‘श्रेष्ठको गुणस्तरीय र वातावरणमैत्री पर्यटन र सांस्कृतिक सम्पदाको संरक्षणमा अतुलनीय योगदान छ’, उनले भने, ‘श्रेष्ठ नयाँ पुस्ताका लागि ऊर्जाशील र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो । जीवनको उत्तरार्द्धमा पनि उहाँको उत्तिकै सक्रियता थियो ।’

विगत ६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्णरूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् । भारतको सिक्किममा सन् १९३३ फेब्रुअरी १२ मा जन्मिएकी श्रेष्ठले पटना विश्वविद्यालयबाट वाणिज्यशास्त्रमा स्नातक तह उत्तीर्णय गरेकी थिइन् ।

नेपालका व्यापारी घरानाका द्वारिकादास श्रेष्ठसँग विहे भएपछि काठमाडौँ आएकी श्रेष्ठ श्रीमानको मृत्युपछि द्वारिकाज होटलको अध्यक्ष भइन् । पछिल्लो समय उनकी जेठी छोरी सङ्गीता श्रेष्ठले होटलको नेतृत्व सम्हालिरहेकी छन् । सफल महिला उद्यमीको रुपमा उनले विभिन्न राष्ट्रिय सम्मान प्राप्त गरेकी थिइन् । उनी विभिन्न सामाजिक संस्थासँग आवद्ध छिन् ।

श्रेष्ठको निधनप्रति होटल सङ्घ नेपालले गहिरो दुःख प्रकट गर्दै स्व श्रेष्ठप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोकाकूल परिवारजनमा समवेदना व्यक्त गरेको छ । -रासस