कोहलपुर मेडिकल कलेजमा दन्तचिकित्सा अध्ययन हुने


विजय मल्ल विजय मल्ल   शनिबार, साउन ५, २०८१
कोहलपुर मेडिकल कलेजमा दन्तचिकित्सा अध्ययन हुने

कोहलपुर ५ साउन : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दन्तचिकित्सा स्नातक तह (बीडीएस) को अध्ययन हुने भएकोछ । चितवनदेखि पश्चिम नेपालमा पहिलोपटक बाँकेको कोहलपुरमा दन्तचिकित्सा स्नातक तह(बीडीएस) को अध्ययन हुने भएको हो ।

दन्तचिकित्सा अध्ययनका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले यसको विधिवत तयारी पुरा गरेकोछ । कलेजले बीडिएस अध्ययनका लागि औपचारिकरुपमा समुद्घाटन समेत गरेकोछ । 

Dental_hospital_Medicale_college_kohalpur-1721458207.jpg
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापाको प्रमुख आतिथ्यतामा अस्पतालको उद्घाटन गरिएको हो । शिक्षण अस्पताल कोहलपुरमा बिहीबार बेलुका आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपकुलपति डा. थापाले नेपालको चिकित्सा शिक्षामा अहिले पनि कालो बादल लागेको बताए ।

मेडिकल शिक्षाले नेपालमा फड्को मारेको उनको भनाई छ । विश्वविद्यालयले ५ हजार विदेशी डाक्टर उत्पादन गरेर संसारभर पठाएको बताए । विश्वविद्यालयले अब नेचुरोप्याथी र आयुर्वेद शिक्षा पनि सञ्चालन गर्ने उपकुलपति डा. थापाले जोड दिए । 

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज मेडिकल कलेजका अध्यक्ष डा. खुमाप्रसाद अर्यालले डेन्टलप्रतिको बुझाई फरक भएको बताए । कलेजलाई नयाँ उचाईमा लैजाने उनले प्रण गरे । अबको एक वर्षभित्र त्रिशुलीवारी एउटा क्यान्सर अस्पताल सञ्चालन गर्ने कलेजको सोँच रहेको बताए । 

नेपालमा पछिल्लो समय सामान्य जनमानसमा मुख स्वास्थ्यप्रतिको चेतना वृद्धिसँगै दन्त चिकित्सकको अध्ययनमा रुचि बढ्दै गएको पाइन्छ । 

मुख खानेकुराको प्रवेशद्धार भएको हुँदा केही समस्या हुनासाथ मानिसहरू चिकित्सकलाई देखाउन पुगिहाल्छन् । त्यही भएर पनि सहरी क्षेत्रमा थुप्रै दन्त क्लिनिक खुल्न थालेका छन् । यसले पनि बीडीएसप्रति आकर्षण बढेको देखिन्छ ।

नेपालमै बीडीएसको अध्ययन–अध्यापन प्रारम्भ भएपछि विदेश पढ्न जाने विद्यार्थीको संख्यामा कमी भएको छ । यसले नेपालबाट दन्त चिकित्सक पढ्ने विद्यार्थीबाट वार्षिक रूपमा बिदेसिने अर्बौं रुपैयाँ जोगिएको छ ।

सो क्रममा काठमाडौं विश्वविद्यालयका डिन मनोज हुमागाई, नेपालगन्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेशकुमार कनोडिया, बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, कलेजका सञ्चालक, विभिन्न चिकित्सक, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, सञ्चारकर्मी लगायत विभिन्न विशिष्ट ब्यक्तिहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम सञ्चालन मेडिकल कलेजका रामबहादुर मल्लले गरेका थिए ।