आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै


सेतोखरी सेतोखरी   आइतबार, साउन ६, २०८१
आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

नेपालगन्ज ६ साउनः गुरुलाई सम्मान गर्दै आज गुरु पूर्णिमा मनाइँदैछ । हरेक वर्ष असार शुक्ल पूर्णिमाका दिन गुरु पूर्णिमा मनाइन्छ । गुरु पूर्णिमाको दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गरिन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । 
वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषदलगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । 

आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको छ । गुरुलाई आमा–बुवा सरह सम्मान गर्ने प्रचलन छ । 

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ । यसरी ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु भनिने तन्त्रशास्त्र र धर्मशास्त्रका पुस्तकमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राचार्य डाक्टर रामचन्द्र गौतम बताउँछन् ।

Kanti Aarogya Hospital Nepalgunj

गुरु पूर्णिमाका दिन विभिन्न विद्यालय एवम् संघसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गर्छन् । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले यस दिन विभिन्न मिष्ठान्न भोजनका साथ सम्मान गर्ने परम्परा रही आएको छ ।

व्यास जयन्ती

आजै वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

वेदव्यासले वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गरेका थिए ।
पाँचौं वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गरेका थिए ।