बाँकेमा ६० प्रतिशत मात्र रोपाइँ, सबैभन्दा बढी राप्तीसोनारीमा


सेतोखरी सेतोखरी   आइतबार, साउन ६, २०८१
बाँकेमा ६० प्रतिशत मात्र रोपाइँ, सबैभन्दा बढी राप्तीसोनारीमा

नेपालगन्ज ६ साउन : सिँचाई अभाव र आकाशे पानीको भर पर्दा बाँकेमा साउन पहिलो हप्तासम्म ६० प्रतिशत मात्र धान रोपाई भएको पाइएकोछ । कृषि ज्ञान केन्द्र बाँकेका अनुसार एक साताअघि पानी परे पनि त्यसयता पर्याप्त वर्षा नहुँदा रोपाइँ सुस्त गतिमा भइरहेको छ । 

यसअघि मध्य असारसम्म बाँकेका आठ स्थानीय पालिकामा २ प्रतिशत मात्र रोपाई भएको थियो । गत वर्ष यही अवधिमा बाँकेमा १५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । 
आकाशे पानीको भरमा खेतीकिसानी गर्ने किसानका लागि भने सिचाईँको व्यवस्था नभएकाले समयमै रोपाई गर्न नपाएका हुन् ।

सिचाईँको अभावमा हरेक वर्ष वर्षायाममा यहाँका किसानहरु आकाशे पानी हेर्न बाध्य छन् ।  गत साता केही दिन राम्रो वर्षा भए पनि यतिबेला वर्षा हुनेक्रम रोकिएपछि पानीको अभावमा बाँकेका किसानले रोपाइँ गर्न नपाएका हुन् । रोपाइँ सुस्त भएपछि साउन पहिलो सातासम्म बाँकेमा ६० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र बाँकेका कार्यवाहक प्रमुख रामप्रकाश यादवले बताए ।

उनले गत साता भएको वर्षालाई हेर्दा साउन पहिलो हप्तामा रोपाइँ सम्पन्न हुने अनुमान गरिएको भएपनि थप वर्षा नहुँदा रोपाइँ सम्पन्न हुन अझै केही समय लाग्ने बताए ।
जिल्लामा सबैभन्दा बढी रोपाइँ राप्तीसोनारी गाउँपालिकामा भएको जनाउँदै कार्यबाहक प्रमुख यादवले सो पालिकामा हालसम्म ८० प्रतिशत रोपाइँ भइसकेको बताए । त्यस्तै, जानकी, खजुरा तथा बैजनाथमा ५० देखि ६० प्रतिशतको हाराहारीमा रोपाइँ भएको छ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

निरन्तर केही दिन वर्षा भए जिल्लामा रोपाइँ एक साताभित्र सम्पन्न हुने कृषि ज्ञान केन्द्र बाँकेले जनाएको छ । पानी अभावले रोपाइँमा ढिला हुँदै गए पनि जिल्लामा धान उत्पादन हुने खेतमा रोपाइँ हुने र उत्पादन समेत राम्रो हुने आशा गरिएको कृषि ज्ञान केन्द्रको अनुमान छ । 

कृषि ज्ञान केन्द्रका अनुसार बाँकेको कुल २ लाख २५ हजार ८ सय ३६ हेक्टर क्षेत्रफल रहेकोछ । यो क्षेत्रफलमध्ये खेतीयोग्य जमिन ५७ हजार २५२ हेक्टर हो । तर, बाँकेको ५२ हजार ८३८ हेक्टर क्षेत्रफलमा खेती हुँदै आएकोछ । त्यसमध्ये ३४ हजार ८ सय ५० हेक्टर जमिनमा धान खेती हुन्छ ।

अहिलेको जनसङ्ख्यालाई धान्न झण्डै ६३ लाख मेट्रिकटन धान आवश्यक पर्छ । नेपालमा धानको उत्पादन प्रतिवर्ष वार्षिक ५२ देखि ५५ लाख मेट्रिकटन छ ।