किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत बैजनाथका ११ समुह तथा फर्मलाई अटोरिक्सा


सेतोखरी सेतोखरी   सोमबार, साउन ७, २०८१
किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत बैजनाथका ११ समुह तथा फर्मलाई अटोरिक्सा

बाँके(बैजनाथ) ७ साउन : बैजनाथ गाउँपालिकाले किसानका लागि लाभदायी काम गरेको छ । गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेटमार्फत ११ वटा समुह तथा फर्मलाई ई–लोडिङ अटोरिक्सा प्रदान गरेको हो । 

किसानसँग पालिका प्रमुख कार्यक्रमको ७० प्रतिशत अनुदानमा सूचिकृत समुह तथा फर्ममा आवद्ध रहेका ति किसानलाई उक्त अटोरिक्सा प्रदान गरिएको हो । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले उक्त अटोरिक्साको चाबी सम्बन्धित किसानलाई हस्तान्तरण गरे । 

हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले बैजनाथको कृषिलाई माथी उठाउन स्थानीय सरकारले विशेष रुपमा जोड दिदै आएको बताए ।  गाउँपालिकाले हरेक वर्ष किसानसँग पालिका प्रमुख कार्यक्रममा ठुलो परिमाणमा बजेट विनियोजन गर्दै आएको उनले जानकारी दिए ।

आफ्नो पाँच वर्षे कार्यकालभरी किसानसँग पालिका प्रमुख कार्यक्रम निरन्तर रुपले सञ्चालन हुने अध्यक्ष शाहीले बताए । हस्तान्तरण गरिएका अटोरिक्साबाट किसानले आफ्ना कृषि उत्पादनलाई अब सहज रुपमा ढुवानी गर्न सक्नेछन् । अटोरिक्सा प्रदान गर्नका लागि गाउँपालिकाले किसानलाई विभिन्न प्रक्रिया अनुसार सूचिकृत गरेको थियो ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

सोही अनुसार गाउँपालिका कार्यालय रामपुरमा आईतबार एक कार्यक्रमका बीच अटोरिक्सा हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले जानकारी दिए ।

सो क्रममा गाउँपालिकाका कार्यपालिका सदस्य रुपा थापा, लेखा अधिकृत पूर्णप्रसाद जैसी, कृषि शाखा प्रमुख विश्वकर्मा, विभिन्न समुह तथा फर्मका किसान लगायतको उपस्थिती रहेको थियो ।