नेपालगन्जका सञ्चारकर्मीसँग ‘स्नेहमिलन’


सेतोखरी सेतोखरी   सोमबार, साउन ७, २०८१
नेपालगन्जका सञ्चारकर्मीसँग ‘स्नेहमिलन’

नेपालगन्ज ७ साउन : ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय, राजयोग प्रशिक्षण केन्द्र, नेपालका केन्द्रिय उपाध्यक्ष ब्रह्मकुमारी दुर्गाले आध्यात्मिक सशक्तिकरणबाट मात्र शान्ति सम्भव रहेको बताएकी छन् । 

ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको क्षेत्रीय कार्यालय नेपालगन्जले सोमबार सञ्चारकर्मीहरुका लागि राखेको मिडिया ‘स्नेहमिलन’ रिफ्रेसमेन्ट कार्यक्रमलाई सम्बोधन गर्दै ब्रह्मकुमारी दुर्गाले समाजमा हिजोका दिनमा एक अर्कोलाई सहयोग सद्भाव आदनप्रदान हुने गरेको भएपनि आज एक अर्कोलाई सिध्याउने प्रचलन बढेको बताइन् ।

उनले सञ्चार जगत संसारलाई आँखा देखाउने प्रमुख मार्ग भएको उल्लेख गर्दै सञ्चारकर्मीले आफुले आफैलाई चिन्न जरुरी भएको बताइन् । संसार बदल्न सबै भन्दा पहिले आफु बदलिन आवश्यक रहेको भन्दै दुर्गाले विश्वविद्यालयले आफुले आफैलाई चिनाउने प्रयास गरिरहेको बताइन् ।

तनाव, कलह, लोभ, मायाले चञ्चल हुने गरेको मनलाई शान्ति प्रदान गर्न विश्वविद्यालयले बिभिन्न कार्यक्रमहरु गर्दै आएको उनले जानकारी दिइन् । मनलाई, विचारलाई र जीवनलाई सुन्दर बनाउने ब्युटिपालरकारुपमा ईश्वरीय विश्वविद्यालयले काम गरिरहेको ब्रह्माकुमारी दुर्गाको भनाई छ ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषी चौलागाईले स्वच्छ र स्वास्थ्य समाजको लागि आध्यात्मिक सशक्तिकरण अभियानको आवश्यकता रहेको बताए । उनले सञ्चारकर्मीको दायित्वलाई मनन गराउदै मानसिक, शाररीक रुपमा स्वस्थ्यका लागि ब्रम्हकुमारी राजयोग केन्द्र जस्ता संस्था अपरिहार्य रहेको बताए ।

कार्यक्रममा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा बिहान ३ बजेदेखि साढे ४ बजेसम्म शाररीक तथा मानसिक मेडिटेसन हुनेभएकोले सञ्चाकर्मीहरुलाई मेडिटेशनमा सहभागी हुन विश्वविद्यालयले आग्रह गरेको छ । 

कार्यक्रममा महासंघ बाँकेका पूर्व अध्यक्षद्वय निरज गौतम र झलक गैरे, पत्रकार महासंघ बाँकेका काबा अध्यक्ष संगीन शर्मा लगायतले ब्रम्हकुमारी विश्वविद्यालयबाट समाजमा सकारात्मक सन्देशमुलक काम भइरहेको भन्दै विद्यालयलाई धन्यबाद दिएका थिए ।

कार्यक्रममा कुमारी सहारा र कुमारी वैष्णविले नृत्य तथा ब्रह्मकुमारी अर्जुन भैलेले गीत प्रस्तुत गरेका थिए । यस्तै ब्रह्माकुमार कृष्णबहादुर रानाभटलेले स्वागत कविता वाचन गर्नुका साथै कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी मुनालेले गरेकी थिइन् ।