बाँकेमा ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै, जानौं कसरी जोगिने ?


सेतोखरी सेतोखरी   मंगलबार, साउन ८, २०८१
बाँकेमा  ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमणका बिरामी बढ्दै, जानौं कसरी जोगिने ?

नेपालगन्ज ८ साउन : बाँकेमा ‘नाइरोबी फ्लाई’ किराबाट निस्कने कडा एसिडको संक्रमणबाट अस्पताल आउने बिरामीको संख्या बढ्दै गएको छ ।

बाँकेको नेपालगन्जसहित ग्रामीण क्षेत्रमा नाइरोबी फ्लाई किराको एसिडका कारण घाउ भएर उपचारका लागि आउनेको संख्या बढ्न थालेको हो ।

बर्खामा नाइरोबीको प्रजनन धेरै हुने भएकाले यसको जोखिम बढी हुने गरेको चिकित्सक बताउँछन् । उक्त किराहरु सडेगलेका तरकारी, जनावर, बोटविरुवामा बस्ने रुचाउँछन् ।

चिकित्सकका अनुसार उक्त किराले टोक्दैनन्, तर यदि कसैको छालामा बस्दा माडिएको अवस्थामा तिनीहरूले एक शक्तिशाली अम्लीय पदार्थ (एसिड) छोड्छ जसले छालालाई जलाउँछ ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

भेरी अस्पताल नेपालगन्जका यौन तथा छाला रोग विशेषज्ञ डा. अस्मिता गौतमले अहिले सोबाट संक्रमण भएर बिरामीहरु भेरी अस्पतालमा दैनिकजसो आउन थालेको बताइन् । 

भेरी अस्पतालमा अहिले दैनिक ८ देखि १० जना ‘नाइरोबी फ्लाई’ कीराको सङ्क्रमण भएका र ७० देखि ८० जनामा अन्य छाला रोगसम्बन्धी बिरामीको जाँच भइरहेको अस्पतालका छालारोग विशेषज्ञ डा. गौतमले जानकारी दिइन् ।

भेरी अस्पताल नेपालगन्जका सूचना अधिकारी डा. सङ्केतकुमार रिसालले वर्षाका कारण हुने विभिन्न रोगका बिरामी केही दिन यता अस्पतालमा आउने क्रम बढेकोले सचेत रहन सबैलाई आग्रह गरे । उनले छाला रोगसँगै झाडापखाला, टाइफाइड र ज्वरो आएका बिरामीहरू अस्पताल आउने क्रम पनि अत्यधिक बढेको बताए । मनसुनजन्य रोग लागेका बिरामीहरू अहिले दैनिक सयभन्दा बढीको सख्यामा भेरी अस्पतालमा उपचारका लागि पुगिरहेको डा. रिसालको भनाइ छ ।

कसरी जोगिने ?

उक्त किराहरु प्रकाशमा आकर्षित हुन्छन् । तिनीहरू आवासीय क्षेत्र वरिपरि ठूलो संख्यामा जम्मा हुन्छन्, जहाँ रातभर घरको बत्ती र सडक बत्तीहरू किरणमा बस्न रुचाउने हुन्छन् ।

उक्त किरासँग सम्पर्कमा नआउनका लागि झ्यालमा जाली लगाउने, ओछ्यान झुलको प्रयोग गर्ने, लामो बाहुला भएका लुगाको प्रयोग र राती वरपर भएका बत्ती बन्द गर्ने गर्नुपर्छ ।
बत्तीमा यस्ता किरा आउन बढी रुचाउने गर्छन् । बत्ती निभाएर सुत्ने गर्नुपर्छ । यदि शरीरमा किरा देखियो भने थिच्ने, मार्ने गर्नुहुँदैन । किरा बसेको ठाउँलाई साबुन र पानीले धुनुपर्छ । नधोइएका हातहरूले शरीरको कुनै पनि भाग, विशेष गरी आँखालाई नछोस् भनेर ध्यान दिनु पर्छ ।

यसको लागि खास उपचार छैन । किराले टोकेपछि एलर्जीको औषधि प्रयोग गर्नुपर्छ । घाउ धेरै भएको खण्डमा एन्टिबायोटिक पनि चलाउनु पर्ने चिकित्सक बताउँछन् ।

सन् १९९८ मा असामान्य रुपमा भारी वर्षा भएका कारण केन्या र अफ्रिकामा प्रकोप भएको थियो । हालसम्म यसको संक्रमिण अफ्रिका बाहिर जापान, इजरायल, पाराग्वे र विगतमा भारतमा देखिन थालेको छ । हाल भारतबाट नेपालमा उक्त किरा ठूलो संख्यामा प्रवेश गरेको आंकलन गरिएको छ ।