सौर्य एयरको विमान दुर्घटना : विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु (नामावलीसहित)


सेतोखरी सेतोखरी   बुधबार, साउन ९, २०८१
सौर्य एयरको विमान दुर्घटना : विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु (नामावलीसहित)

नेपालगन्ज ९ साउन : काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरको ९ एन–एएमई सीआरजे ७ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै विमानस्थल परिसरभित्रै दुर्घटना हुँदा १८ जनाको ज्यान गएकोछ । 

विमानमा सवार चालक दलका सदस्यसहित १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । विमानमा क्याप्टेन मनिषरत्न शाक्य (घाइते) र को–पाइलट सुशान्त कटुवाल रहेका थिए । को–पाइलट कटुवालको भने मृत्यु भयो ।

क्याप्टेन शाक्यलाई भने दुर्घटनास्थलबाट नेपाली सेना र नेपाल प्रहरीको टोलीले उद्धार गरेर अस्पताल पठाएका थिए । उद्धारको बेला शाक्य रगताम्य अवस्थामा थिए ।

Kanti Aarogya Hospital Nepalgunj

उनको उपचार सिनामंगलस्थित केएमसी अस्पतालमा भइरहेको छ । क्याप्टेन शाक्य सामान्य कुराकानी गरिरहेका छन् । उनको टाउको, खुट्ट लगायतका भागमा चोट लागेको छ । 

अस्पताल स्रोतका अनुसार आकस्मिक कक्षमा राखेर उनको उपचार भइरहेको छ । उनको टाउकोको सीटी स्क्यान गरिएको छ । रिपोर्ट आउन बाँकी छ । अस्पताल स्रोतका अनुसार, उनी सामान्य बोलचाल गरिरहेका छन् । 

बुधबार विहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन विमानस्थलमा आगलागी भएको थियो ।

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त उक्त जहाज इन्जिन परीक्षणका लागि पोखरा उडेको थियो । यो जहाजको इन्जिनको पूर्ण मर्मत (सी–चेक)का लागि पोखरा जाने क्रममा थियो ।

दुर्घटनामा परि मृत्यु हुने अधिकांश उनीहरु सौर्यका इन्जिनियर तथा प्राविधिकहरु रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।  यो जहाज पोखरास्थित ह्यांगरमा एक महिना राखेर मर्मत गर्ने तयारी थियो ।

यसैबीच, सौर्य एयरलाइन्सको जहाजमा सवार चालक दलका सदस्यसहित १९ जनाको विवरण सार्वजनिक भएको छ ।

प्राधिकरणको खोज तथा उद्धार समन्वय केन्द्रले बुधबार जारी गरेको विज्ञप्तिमा विमान दुर्घटनापछि जहाजमा आगो लागेको र सो क्रममा १८ जना यात्रुको मृत्यु भएको जनाएको छ ।

प्राधिकरणको विज्ञप्ती अनुसार को–पाइलट सुशान्त कटुवाल सहित विमानमा सवार कर्मचारीहरूमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडाको ज्यान गएकोछ । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।

यस्तै, सौर्य एयरको जहाज दुर्घटना भएको झण्डै दुई घण्टापछि सञ्चालनमा आएकोछ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बुधबार दिउँसो १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै विमान दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो ।