लुम्बिनीका नवनियुक्त ८ मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ


सेतोखरी सेतोखरी   बुधबार, साउन ९, २०८१
लुम्बिनीका नवनियुक्त ८ मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

नेपालगन्ज ९ साउनः लुम्बिनी प्रदेशका नवनियुक्त ८ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएसँगै एमाले र काँग्रेसका मन्त्रीले पनि सपथ लिएका हुन् ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा एमालेबाट ४ र काँग्रेसका तर्फबाट ४ जना बिना विभागीय मन्त्रीमा नियुक्त भएका छन् । जसमा एमालेका तर्फबाट रुपन्देहीका भुमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङका सीता चौधरी मन्त्री भएका छन् ।

काँग्रेसबाट बाँकेका बादशाह कुर्मी, गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा (रोज राणा) र दाङका प्रचण्ड विक्रम न्यौपाने मन्त्रीमा नियुक्त भएका छन् । यस्तै काँग्रेसबाट यसअघि मन्त्री बन्ने भनिएका जन्मजय तिमल्सेनाको नाम भने अन्तिम समयमा हटाइएको छ ।

काँग्रेस संस्थापन पक्षले एकलौटी रुपमा प्रदेशसँग सल्लाह नगरी मन्त्री छानेको भनी विवाद भएपछि तिमल्सेनाको नाम हटाइएको बताइएको हो ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

लुम्बिनीमा एमालेले मुख्यमन्त्री सहित ५ र काँग्रेसले ५ वटा मन्त्रालय लिने सहमति भएको थियो । एमालेमा मन्त्री छान्न सकस भएपछि मुख्यमन्त्री आचार्य काठमाण्डौ पुगेका थिए । पार्टी मुख्यालयबाट मन्त्रीको टुंगो लगाएर उनी हिजो बुटवल फर्केका थिए ।

काँग्रेसका २७ र एमालेका २९ गरी ५६ सांसदको समर्थनमा गत सोमबार आर्चाय मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनी एमाले संसदीय दलका उपनेता हुन् । आचार्य अर्घाखाँचीकाको क्षेत्र नम्बर १ (क) बाट प्रदेश सांसदमा निर्वाचित भएका थिए ।