नेपालगन्ज नाकाबाट एक अर्ब ११ करोडको आलु आयात


सेतोखरी सेतोखरी   बिहीबार, साउन १०, २०८१
नेपालगन्ज नाकाबाट एक अर्ब ११ करोडको आलु आयात

नेपालगन्ज १० साउन : नेपालगन्ज नाकाबाट मात्र गत आर्थिक वर्ष २०८०–८१ मा एक अर्ब ११ करोड रुपैयाँ बढीको आलु भारतबाट आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ । 

नेपालगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८०–८१ मा नेपालगन्ज नाकाबाट मात्र एक अर्ब ११ करोड ६१ लाख ५ हजार रुपैयाँको ४ करोड ४९ लाख ८४ हजार ६६९ किलो आलु भारतबाट आयात गरिएको हो । 

भन्सार कार्यालयको तथ्याङ्कअनुसार अघिल्लो आर्थिक वर्ष २०७९–८० भन्दा गत आवमा १८ करोड रुपैयाँको आलु आयात वृद्धि भएको हो । आर्थिक वर्ष २०७९–८० मा ९३ करोड ६० लाख ६९ हजार मूल्य बराबरको ३ करोड ७५ लाख ८५ हजार ८८ किलो आलु आयात गरिएको थियो । 

नेपालगन्ज भन्सार कार्यालयका भन्सार अधिकृत एवम सूचना अधिकारी पूर्णप्रसाद लम्सालले अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा गत आर्थिक वर्ष २०८०–८१ मा १८ करोड भन्दा बढीको आलु आयात भएको बताए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

उनले आलु आयातबाट नेपालगन्ज भन्सारले आव २०७९–८० मा १४ करोड ७७ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको थियो । गत आव २०८०–८१ मा २७ करोड २२ लाख ४४ हजार राजस्व सङ्कलन गरेको बताए ।

आलुको आयात वृद्धि भएसँगै राजस्व सङ्कलन पनि अघिल्लो आवको तुलनामा गत आवमा १३ करोड रुपियाँ वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ । 

कृषि ज्ञान केन्द्र नेपालगन्जका प्रमुख सकील अहमद खाँले गत केही वर्ष यता बाँके, बर्दिया, दाङ र सल्यानलगायतका जिल्लामा आलु उत्पादन उल्लेखनीय मात्रामा हुँदै आए पनि भारतबाट पनि आयात नघट्नुले माग धेरै रहेको प्रमाणित गरेको बताए ।

उनले आलु र प्याजमा आत्मनिर्भर बन्न सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाउँदै अझै पनि ठुलो परिमाणमा आयात हुनुले चिन्ता बढाएको बताए ।