एक वर्षमा वन सम्बन्धी २३ वटा मुद्दा दर्ता


सेतोखरी सेतोखरी   बिहीबार, साउन १०, २०८१
एक वर्षमा वन सम्बन्धी २३ वटा मुद्दा दर्ता

नेपालगन्ज १० साउन : डिभिजन वन कार्यालय बाँकेले वन र वन्यजन्तु सम्बन्धी २३ वटा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष ०७९–०८० मा डिभिजन वन कार्यालय बाँकेले बाँके जिल्ला अदालतमा विभिन्न किसिमका २५ वटा मुद्दा दायर गरेको थियो ।

डिभिजन वन कार्यालय बाँकेले गत आर्थिक वर्ष ०८०–०८१ मा अवैध काठ तथा जडीबुटी ओसारपसार, वन्यजन्तु तस्करी लगायतका २३ वटा मुद्दा बाँके जिल्ला अदालतमा दायर गरिएको हो । 

डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी वरिष्ठ वन अधिकृत वीरेन्द्र रोकाका अनुसार सबैभन्दा बढी २० वटा मुद्दा अवैध काठ ओसारपसार तथा जडीबुटी सम्बन्धी छन् । त्यसैगरी तीन वटा मुद्दा वन्यजन्तु सम्बन्धी छन् । 

वन सम्बन्धी मुद्दामा संलग्न ५० जना र वन्यजन्तु सम्बन्धी मुद्दामा संलग्न १४ गरी जम्मा ६४ जना व्यक्ति प्रतिवादी छन् ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

वन्यजन्तु मुद्दा अन्तर्गत बाघको छाला दुई थान, बाघको हड्डी ६.८१ केजी र चित्तलको मासु ३० केजी बरामद मुद्दामा तीन जना प्रतिवादी र वन अन्तर्गत झ्याउ ५०८४.०२ केजी, साल गोलिया १८९.१५ क्यूफिट, साल चिरान २४९.९२ क्यूफिट, खयर गोलिया ५१.९८ क्यूफिट, अन्य जातको गोलिया ३५१.७० क्यूफिट, दाउरा १.३४ चट्टा र यार्सागुम्बा ३७.९२ ग्राम बरामद मुद्दामा ५० जना प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरूलाई बाँके जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । 

वन तथा वन्यजन्तु मुद्दामा बरामद भएका वस्तु ओसारपसारमा संलग्न व्यक्तिहरूबाट विभिन्न सवारी साधनहरू समेत बरामद गरिएको छ । सूचना अधिकारी रोकाका अनुसार वन तथा वन्यजन्तु मुद्दामा बरामद भएका वस्तु ओसारपसारमा प्रयोग गरिएका इलेक्ट्रिक गाडी एक थान, ट्रक एक थान, बोलेरो गाडी दुई थान, मोटरसाइकल एक थान र साइकल सात थान बरामद गरिएको हो ।