अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !


सेतोखरी सेतोखरी   शुक्रबार, साउन ११, २०८१
अठार वर्षमा महाकाली आयोजनाको काम २२ प्रतिशत !

कञ्चनपुर ११ साउन : अठार वर्षअघि सुरु भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति मात्र २२ प्रतिशत भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न नहुँदा स्थानीय खिन्न छन् । 

वि.सं. २०६३ बाट महाकाली सिँचाइ तेस्रो चरणको काम सुरु भए पनि हालसम्म आयोजनाको २८ किलोमिटर मूल नहर मात्र निर्माण भएको छ । ३५ अर्ब लागत अनुमान गरिएको आयोजनामा हालसम्म सात अर्ब ६८ करोड खर्च भएको छ । कैलाली कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुर्याउने आयोजनाको लक्ष्य भए पनि बजेट अभावलगायत समस्याका कारण आयोजनाको काम सुस्त छ ।

हाल मुख्य नहर निर्माण भएको क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । २८ किलोमिटर मूल नहरमा पानी प्रवाह हुन सकेको छैन । महाकाली सिँचाइ तेस्रो चरण आयोजनाका सिनियर डिभिजन इन्जिनियर लेखनाथ सुवेदीले भारतीय पक्षले औपचारिक उद्घाटन नभई पानी दिन नसकिने अडानका कारण निर्माण सम्पन्न भएको नहरमा पानी नछाडिएको बताए । 

‘हामीले एनएचपीसीसँग नहरमा पानी छाड्न आग्रह गर्दा औपचारिक रूपमा उद्घाटन नभई पानी दिन नसकिने बतायो’, सुवेदीले भने, ‘त्यो कुरा हामीले हाम्रो माथिल्लो निकायमा जानकारी गराएका छौँ ।’

Care City
Kanti Aarogya Hospital Nepalgunj

डिभिजनल इन्जिनियर सुवेदीकाअनुसार आयोजनाको २२ प्रतिशत मात्र काम सम्पन्न भएको छ । २०७७ माघ २९ को निर्णयानुसार २०८७ सम्म कैलालीको मालाखेतीसम्मको नहर निर्माण गरिसक्ने लक्ष्य छ । 

‘अहिले पनि आयोजनाका लागि दुई अर्ब मात्र बजेट आएको छ । यो अत्यन्त कम हो’, उनले भने, ‘मुआब्जा विवाद समाधान, पर्याप्त बजेट प्राप्ति र वनक्षेत्रका व्यवधान हटेमा निर्धारित समयमा नहर निर्माण गर्न सकिन्छ ।’ 

आयोजनाको २८ दशमलव आठ किलोमिटरदेखि ४८.३ किलोमिटरसम्म मूल नहर निर्माणका लागि गत वर्ष पाँचवटा प्याकेजमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षभित्र काम सक्नेगरी ठेक्का सम्झौता भए पनि बजेट अभाव, वन क्षेत्र र मुआब्जाका कारण निमार्णले गति लिन सकेको छैन ।

आर्थिक वर्ष २०६२-०६३ मा काम सुरु भएको आयोजनाको हालसम्म २८.९ किलोमिटर मूल नहर निर्माण भएको छ ।  मूल नहर बनेका क्षेत्रमा २२ वटा शाखा नहर निर्माणाधीन छन् । शाखा नहर निर्माण भएमा आगामी वर्षभित्र पाँच हजार २०० हेक्टरमा सिँचाइ सुविधा उपलब्ध हुने आयोजनाले जनाएको छ । १५१ किलोमिटर लामो मूल नहर सम्पन्न भएपछि कैलाली र कञ्चनपुरको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ ।  

सिँचाइ सुविधा नहुँदा कञ्चनपुरमा असार १५ सम्म ४३ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । कञ्चनपुरको एक लाख ६१ हजार ७४१ हेक्टर खेतीयोग्य जमिनमध्ये ५९ हजार ६०० दुई हेक्टरमा मात्र खेती हुने गरेको छ । -रासस