छिमेकी देश भारतमा चान्दीपुरा भाइरस फैलिँदै, २४ देखि ४८ घण्टामा लिन्छ मानिसको ज्यान


सेतोखरी सेतोखरी   शुक्रबार, साउन ११, २०८१
छिमेकी देश भारतमा चान्दीपुरा भाइरस फैलिँदै, २४ देखि ४८ घण्टामा लिन्छ मानिसको ज्यान

नेपालगन्ज ११ साउन : छिमेकी देश भारतको गुजरात राज्यमा चान्दीपुरा भाइरसका कारण ४४ जनाको मृत्यु भएको छ । भाइरसले सङ्क्रमित बनाउँदा ५४ जना अस्पताल भर्ना भएका छन् ।

चान्दीपुरा भाइरसको सङ्क्रमण भएको २४ देखि ४८ घण्टा भित्र बिरामीको मृत्यु गराउँछ । चिकित्सकका अनुसार यसले बालबालिकामा मृत्यु गराउने दर ८५ प्रतिशत रहेको छ ।

गुजरात सरकारका अनुसार हालसम्म १२४ जनामा चान्दीपुरा भाइरस फेला परिसकेको छ । ग्रामिण भेगमा देखिनएको उक्त भाइरस पछिल्लो समय गुजरातको हमदावाद, वडोदरा, राजकोट, सुरत लगायतका ठूला सहरहरूमा पनि फैलिन थालेको छ ।

गुजरात बाहेक राजस्थानमा पनि चान्दीपुरा भाइरसको सङ्क्रमण फैलिन थालेको छ। राजस्थानमा हालसम्म ६ जनामा चान्दीपुरा भाइरसको सङ्क्रमण देखिएकोमा १ जनाको मृत्यु भएको छ । अन्य ५ जनाको उपचार भइरहेको छ। त्यस्तै मध्यप्रदेश र महाराष्ट्रमा पनि चान्दीपुरा भाइरस देखा परेको छ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

भारतमा पहिलोपटक १९६६ मा महाराष्ट्र राज्यमा उक्त भाइरसको केस फेला परेको थियो। नागपुरको चान्दीपुरमा भाइरसको पहिचान भएको थियो। त्यसकारण उक्त भाइरसको नाम चान्दीपुरा भाइरस राखियो। त्यसपछि सन् २००४, २००६ र २०१९ मा पनि आन्ध्र प्रदेश, महाराष्ट्र र गुजरातमा उक्त भाइरस देखा परेको थियो।

चान्दीपुरा भाइरस आरएनए भाइरस हो। जुन सबैभन्दा धेरै पोथी प्लेबोटोमाइन प्रजातिको झिङ्गाबाट फैलिन्छ। एडीज एजिप्टी लामखुट्टे पनि यसका लागि कारण मानिन्छ।

चान्दीपुरा भाइरसको सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, फ्लू जस्ता लक्षणहरू देखा पर्ने हुन्छ। जसमा बेहोश हुने, कमजोरी हुने जस्ता लक्षण पनि देखिन्छन्।

सङ्क्रमित लामखुट्टेमा वा किरा फट्याङ्ग्राले टोकेपछि हुने उक्त भाइरसले शरीरमा प्रवेश गरेपछि व्यक्तिको नर्भस सिस्टममा आक्रमण गर्छ र व्यक्तिको इन्सेफलाइटिस अर्थात् मस्तिष्कको तन्तुहरूमा सुन्निने समस्या निम्त्याउने गर्छ ।