बाँकेमा उद्योग दर्ता हुने भन्दा खारेजी संख्या बढ्दो


सेतोखरी सेतोखरी   शुक्रबार, साउन ११, २०८१
बाँकेमा उद्योग दर्ता हुने भन्दा खारेजी संख्या बढ्दो

नेपालगन्ज ८ साउन : बाँकेमा नयाँ उद्योग दर्ता गर्नेको सङ्ख्या घटेको छ । उद्योग खारेजी गर्नेको सङ्ख्या भने बढ्दो क्रममा छ । 

घरेलु तथा साना उद्योग कार्यालय नेपालगन्जको गत आर्थिक वर्ष ०८०–०८१ को तथ्याङ्क अनुसार विगत चार वर्षदेखि लगातार कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या घट्दै गइरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको हो । गत आवमा विभिन्न प्रकृतिका ७६० नयाँ उद्योग दर्ता भएका थिए भने २३० उद्योग खारेजी भएका थिए ।

गत आवमा उत्पादनमूलक उद्योगतर्फ १६४, कृषि तथा वन्यजन्तु उद्योगतर्फ २६८, पर्यटनमूलक उद्योगतर्फ ११० र सेवामूलक उद्योगतर्फ २१८ गरी जम्मा ७६० उद्योग दर्ता भएको कार्यालयका प्रमुख प्रमुख उद्योग अधिकृत रमेश बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार उक्त आवमा उत्पादनमूलक उद्योगतर्फ ५८, कृषि तथा वन्यजन्तु उद्योगतर्फ ११०, पर्यटनमूलक उद्योगतर्फ ४० र सेवामूलक उद्योगतर्फ २२ गरी जम्मा २३० उद्योग खारेजी भएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०७९–०८० मा ८७६ उद्योग दर्ता भएका थिए भने १६० उद्योग खारेजी भएका थिए । त्यसैगरी आर्थिक वर्ष ०७८–०७९ मा १७ सय १२ उद्योग दर्ता भएका थिए सो वर्षमा १३८ उद्योग खारेजी भएका थिए । आर्थिक वर्ष ०७७–०७८ मा २३ सय ४१ उद्योग दर्ता भएकोमा ९६ उद्योग खारेजी भएका थिए ।

यस्तै वाणिज्यतर्फ पनि नयाँ फर्म दर्ता हुने भन्दा खारेजी गर्नेकै सङ्ख्या बढिहरेको छ । उद्योग अधिकृत बुढाथोकीका अनुसार गत आर्थिक वर्ष ०८०–०८१ मा प्राइभेट फर्म ६३४ र साझेदारी फर्म १४ गरी कूल ६४८ नयाँ फर्म दर्ता भएका थिए । 

आर्थिक वर्ष ०७९–०८० मा प्राइभेट फर्म ८५८ र साझेदारी फर्म १६ गरी कूल ८७४ फर्म दर्ता भएको बुढाथोकीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष ०८०–०८१ मा प्राइभेट फर्म ४५० र साझेदारी फर्म १२ गरी ४६२ फर्म खारेजी भएका थिए भने आर्थिक वर्ष ०७९–०८० मा ३१२ प्राइभेट फर्म खारेजीमा परेका थिए ।

‘कार्यालयको तथ्याङ्कमा विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्नेको सङ्ख्या घटिरहेको छ भने खारेज गर्नेको सङ्ख्या बढेको छ ।’ कार्यालय प्रमुख बुढाथोकीले भने, ‘आर्थिक मन्दी, बैङ्कको चर्को व्याज, खुल्ला सिमाना लगायतका कारण भारतीय बजारसँग प्रतिस्पर्धा गर्न नसकेर उद्योग तथा फर्म बन्द गर्नुपरेको उद्योगी व्यापारीहरूले गुनासो गर्नुहुन्छ ।’

कार्यालयको तथ्याङ्कले विगत चार वर्षदेखि लगातार नयाँ उद्योग तथा फर्म दर्ता गर्ने क्रम घटिरहेको र खारेजी गर्नेको सङ्ख्या बढ्दै गइरहेको देखाएको हो ।

‘कतिपय युवाहरूले उद्योग सञ्चालन गर्नका लागि ऋणधन गरेर उद्योग स्थापना त गर्नुभयो तर विविध कारणले गर्दा उहाँहरूले उद्योग टिकाइराख्न र कन्टिन्यु सञ्चालन गर्न सक्नुभएन ।’ बुढाथोकीले भने, ‘त्यसपछि उहाँहरू उद्योग खारेज गरेर वैदेशिक रोजगारीका लागि विदेश जाने गर्नुहुन्छ, यस कारणले पनि पछिल्लो समयमा उद्योग खारेजी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो ।’