यस वर्षपनि नेपालगन्जमा गाइजात्रा मनाइने


सेतोखरी सेतोखरी   शनिबार, साउन १२, २०८१
यस वर्षपनि नेपालगन्जमा गाइजात्रा मनाइने

नेपालगन्ज १२ साउन : नेवाः समुदायमा दिवंगत भएका सदस्यहरुको सम्झनामा मनाईने गाईजात्रा यस वर्षपनि नेपालगन्जमा मनाइने भएको छ ।

नेवाःपुच बाँकेको आज बसेको कार्यसमिति बैठकले गाईजात्रा अर्थात सापारु धुमधामका साथ मनाउने निणर्य गरेको हो ।

नेवा पुचःका सचिव विवेक कुमार श्रेष्ठका अनुसार पुचःका अध्यक्ष जितेन्द्र कुमार जोशीको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

नेपालगन्ज्मा गाईजात्रा पर्वलाई भब्य बनाउन बाँके जिल्लाका सम्पुर्ण नेवाः गुठी, खलः, पुच तथा नेवाः संघ संस्थासंग सहकार्यका लागि आग्रह गर्ने निर्णय समेत गरिएको श्रेष्ठले बताए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

बैठकले गाईजात्रा पर्व भब्य रुपमा सम्पन्न गर्न नेवाःपुच बाँकेका उपाध्यक्ष हरिश चन्द्र श्रेष्ठलाई संयोजक तोकेको छ । बाँके जिल्लामा नेवाः समुदायबाट अघिल्लो गाईजात्रा यता दिवंगत भएका परिवारलाई गाईजात्रा पर्व मनाउन नेवाः पुच वा आफुलाई सम्पर्क गर्न संयोजक श्रेष्ठले आग्रह गरेका छन् । नेपाली पञ्चाङ्ग पात्रो अनुसार यस वर्ष भदौ ४ गते मंगलबार गाईजात्रा (सापारु) परेको छ ।

यो नेवाः संस्कृतिबाट सुरू भएको जात्रा हो । नेपाली समाजमा गाइजात्रा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ । यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोलटोल घुम्ने गर्दछन् । 

यस दिन भजन कीर्तन पनि गरिन्छ । यो जात्रा नेपाल सम्बत अनुसार गुंलागाः पारु अथवा भाद्र शुक्ल प्रतिपदा अर्थात जनैपूर्णिमाको भोलिपल्ट पर्दछ । वर्ष दिनभित्र मरेका मान्छेको दिवंगत आफन्तको सम्झनामा मनाइने धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यो पर्व देशभर नेवाः समुदाय रहेका विभिन्न ठाउँमा मनाइने गरिन्छ ।