सिने रोयलद्वारा मोबाइल एप सार्वजनिक, एपबाटै टिकट खरिद गर्न सकिने


सेतोखरी सेतोखरी   शनिबार, साउन १२, २०८१
सिने रोयलद्वारा मोबाइल एप सार्वजनिक, एपबाटै टिकट खरिद गर्न सकिने

नेपालगन्ज १२ साउन : नेपाली सिनेक्षेत्रका लागि प्रमुख गन्तव्यका रुपमा उदाएको नेपालगन्जस्थित उच्च स्तरीय सिनेमाघर सिनेरोयलले विभिन्न आकर्षक योजनासहित शुक्रवार आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ ।

यस अवसरमा सिनेरोयलले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । टिकट खरिदमा दर्शकलाई सहज होस् भन्ने हेतुले एप तयार गरिएको हो ।  भविष्यमा खाद्य परिकार सहित अन्य सेवामा समेत छुट दिनेगरी काम अघि बढाइएको सिनेरोयलका सिओओ रितेश श्रेष्ठले जानकारी दिए ।

यस एपमार्फत अबको एक सातासम्म सिनेरोयलमा कुनैपनि सिनेमाको टिकट खरिद गर्ने दर्शकलाई लक्की ड्र मार्फत यति एयरलाइन्सको पर्वतीय उडान जित्ने मौका समेत रहनेछ । अबको दुई दिनसम्म टिकट खरिद गर्ने दर्शकका लागि नेपालगन्जस्थित वल्र्डलिंकले बिभिन्न प्याकेजमा २५ प्रतिशतसम्म छुट दिने सिने रोयलका मार्केटिङ म्यानेजर सौगात विक्रम शाहले बताए ।

विभिन्न आकर्षक प्याकेजसहित पहिलो बार्षिकोत्सव मनाउन पाउँदा सिनेरोयलका संस्थापक डाक्टर विनोद थापाले खुशी व्यक्त गरे । डाक्टर थापा पश्चिम नेपालमा चर्चित हाडजोर्नी बिशेषज्ञका रुपमा परिचित छन् । 

Care City
Kanti Aarogya Hospital Nepalgunj

उनका छोरा डाक्टर राहुल थापाको परिकल्पनाको प्रतिफल हो, सिनेरोयल । पश्चिम नेपालमा स्तरीय साउण्ड सिस्टम र प्रविधियुक्त सिनेमाघरको परिकल्पना डाक्टर राहुलले गरेका थिए । र, गत वर्ष साउन ११ गते सिनेरोयलले आफ्नो सेवा सुरु गरेको थियो । 

डाक्टर राहुल उच्च शिक्षा अध्ययनका क्रममा हाल नेपालबाहिर छन् । तसर्थ वार्षिकोत्सवमा उनी अनुपस्थित भए । सिने रोयलको सफल यात्राका लागि संस्थापक डाक्टर विनोद थापाले सम्पुर्ण नेपालगन्जबासी प्रति आभार प्रकट गरे । साथै उनले कर्मचारीको पनि मुक्तकण्ठले प्रशंसा गरे ।

सिनेरोयलको एक वर्षे यात्रामा हिन्दी चलचित्र गदर २ सर्वाधिक आम्दानी गर्ने सिनेमा बनेको छ, भने परदेशी २ ले नेपाली सिनेमाहरुमध्ये सर्वाधिक कमाइ गर्ने सूचिमा आफ्नो नाम लेखाएको छ । त्यसैगरी महाजात्रा ५१ दिनसम्म लगातार दर्शकको मन जित्न सफल सिनेमा बनेको छ ।