भेरीले आफ्नो १३४ औं वार्षिक उत्सव मनायो


सेतोखरी सेतोखरी   शनिबार, साउन १२, २०८१
भेरीले आफ्नो १३४ औं वार्षिक उत्सव मनायो

नेपालगन्ज १२ साउन : पश्चिम नेपालको रिफरल अस्पतालका रुपमा रहेको भेरी अस्पताल नेपालगन्जले आफ्नो १३४ औं वार्षिक उत्सव  धुमधामका साथ मनाएको ।

‘फड्को विशिष्टिकृत सेवामा’ भन्ने मुल नाराका साथ अस्पतालले शनिबार एक कार्यक्रमका बीच १३४ औं वार्षिक उत्सव भव्यताका साथ मनाएको हो । 

अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र बहादुर शाहको सभापतित्व एवम प्रतिनिधि सभाका सांसद किशोरसिंह राठौरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको हो । 
प्रमुख अतिथी राठौरले सबै मिलेर भेरी अस्पतालको विकास गर्नुपर्ने बताए । उनले अस्पताल जस्तो संवेदनशील ठाउँमा संवेदनशील भएर काम गर्नुपर्ने धारणा राखे । 

अस्पताल विकास समितिका अध्यक्ष शाहले भारतको लखनउ, दिल्लीका अस्पतालको जस्तो गुणस्तरीय सेवा दिन प्रयासरत रहेको बताए ।

Care City
Kanti Aarogya Hospital Nepalgunj

स्थापनाको १ सय ३३ वर्ष पार गरिसक्दा भेरीले पूर्वाधार विकासमा सुधार गर्दै गएको छ भने सेवा प्रवाहलाई पनि विशिष्टिकृत बनाउँदै लगेको अध्यक्ष शाहको भनाईछ । उनले आफु नेतृत्वमा आईसकेपछि अस्पतालमा धेरै राम्रा कामहरु भएको दाबी गरे । 

वार्षिक उत्सव समारोहमा लुम्बिनी प्रदेशका मन्त्री बादशा कुर्मी, लुम्बिनी प्रदेशका सांसद रत्न खत्री, काँग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।

प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौंर लगायतले वार्षिकोत्सवका अवसरमा अस्पतालका उत्कृष्ट कर्मचारी, आन्तरिक खेलकुद प्रतियोगिताका विजयी खेलाडीहरुलाई सम्मान, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

सोक्रममा अस्पतालका कर्मचारीहरुद्वारा साँसकृतिक कार्यक्रम गरेका थिए । भने सोहीक्रममा अस्पतालद्वारा प्रकाशित अक्सिजन स्मारिका विमोचन गरिएको थियो । 
भेरी अस्पतालमा कार्डियाक सेवा सञ्चालनमा छ । क्याथल्याब सहितको सुविधा भएका सीमित अस्पतालभित्र पर्छ, भेरी अस्पताल । एन्जियोग्राफी, एन्जियोप्लाष्टी, पेसमेकरको सेवा अस्पतालले दिइरहेको छ । भेरी अस्पताल नेपालगन्जले न्यूरो सेवा पनि दिइरहेको छ । महंगो न्यूरो उपचार पनि भेरीमा सुलभ छ ।

भेरीमा करिब चौगुणा कम शुल्कमा न्यूरो सम्बन्धि शल्यक्रिया भइरहेको छ । तर यसलाई थप व्यवस्थित बनाउन भने जरुरी छ । यसैगरी, मेडिसिन, सर्जरी, छाला रोग, अर्थोपेडिकतर्फका बिरामीहरु बाहिर रिफर गर्नुपर्ने अवस्था छैन । कतिपय विशिष्टकृत सेवाका लागि ठाउँको अभाव हुँदा सञ्चालनमा ल्याउन नसकिएको अस्पतालका मेसु डा.प्रकाश थापा बताउँछन् ।

पछिल्लो वर्षमा अस्पतालमा डायलाइसिस सेवा पनि विस्तार भएको छ । तीन वटा मेसिनबाट दिनमा दुई सिफ्ट सञ्चालन गरेर हप्तामा १८ जनाले सेवा पाइरहेकोमा अहिले ६ वटा मेसिनबाट दिनमा तीन सिफ्ट सञ्चालन गरी हप्तामा ५४ जनाले सेवा पाइरहेका छन् ।

थारु समुदायलाई प्रभावित पारेको सिकलसेल तथा थालेसिमियाका बिरामीलाई चिकित्सकको पूर्जा अनुसार निःशुल्क औषधि उपचार, निःशुल्क आकस्मिक औषधि उपचार, ओसिएमसी निःशुल्क औषधि उपचार र अस्पतालको इन्डोरमा भर्ना भएका बिरामीको लागि कुनै लक्षित वर्गमा नपर्ने तर औषधोपचार गराउन नसक्ने बिरामीहरुलाई समेत सम्बन्धित चिकित्सक र मेसुको सिफारिसमा निःशुल्क औषधि उपचार सेवा अस्पताल फार्मेसीले प्रवाह गर्दै आएको छ । 

औषधि तथा औषधिजन्य सामग्री एमआरपी मूल्यमा खरिद हेरेर १० देखि ३० प्रतिशत भन्दा बढीसम्म सहुलियत दिएर बिरामीलाई विक्री वितरण गर्ने गरिएको छ । अस्पतालले हरेक वर्ष साउन १२ गते आफ्नो वार्षिक उत्सव मनाउँदै आएको छ ।