दाङमा गुडिरहेको ट्रकमा आगलागी हुँदा जलेर नष्ट भयो


सेतोखरी सेतोखरी   आइतबार, साउन १३, २०८१
दाङमा गुडिरहेको ट्रकमा आगलागी हुँदा जलेर नष्ट भयो

नेपालगन्ज १३ साउन : दाङमा गुडिरहेको एक ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा एक्कासी आगलागी भएको हो ।

महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आफैँ आगलागी भएर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आईतबार बिहान लमही नगरपालिका –९ चाउखोलानजिक जङ्गल क्षेत्रमा गुडिरहेको समयमा करिव ४ः२५ बजेको समयमा ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धान अनुसार गाडीमा आफैं आगो लागेको देखिएको भन्दै प्रहरी उपरीक्षक केसीले भने, ‘वायरिङ सर्ट भएर आगो लागेको भन्ने छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।’ 

Kanti Aarogya Hospital Nepalgunj

ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका– २ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन् ।

ट्रकमा लागेको आगो बिहान सवा ५ बजेतिर लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको छ ।

ट्रकमा आगो लागेको खबर पाउनासाथ राजमार्ग अन्तर्गत पर्ने अस्थायी पोष्ट रिहार दाङबाट प्रहरी नायब निरीक्षक माधव रावतको कमाण्डमा पाँच जनाको टोली घटनास्थल खटिएको थियो । 

आगलागीबाट ट्रकको इञ्जिनको भाग, बम्परको भाग र ६ वटा टायर पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खाली ट्रक लमहीस्थित सिमेन्ट उद्योगबाट सिमेन्ट लिन आइरहेको थियो । चालक प्रहरी नियन्त्रणमा रहेको बताइएको छ ।