‘म दोषी भए जेल होइन, फाँसीको सजाय भोग्न तयार छु’: बादशाह कुर्मी


विजय मल्ल विजय मल्ल   आइतबार, साउन १३, २०८१
‘म दोषी भए जेल होइन, फाँसीको सजाय भोग्न तयार छु’: बादशाह कुर्मी

नेपालगन्ज १३ साउन : लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीले आफू दोषी भए फाँसीको सजाय भोग्न तयार भएको बताएका छन् । 

पछिल्लो समय मिडियाबाट आफु लक्षित विषयमा आइरहेका भ्रामक समाचारप्रति खेद प्रकट गर्दै उनले आफू दोषी भएको पाइए जेल नभएर फाँसीको सजाय भोग्न तयार रहेको बताएका हुन् । 

मानवअधिकारकर्मीको खोल ओढेका निहित स्वार्थसिद्ध व्यक्तिले पैसाका लागि आफुमाथि निर्मला कुर्मीको हत्या जस्तो संगिन आरोप लाद्ने प्रयास गरेको उनले स्पष्ट पार्दै घटनाको यर्थाथता बुझिदिन आग्रह गरे ।

‘निर्मला कुर्मी जसको हत्या भयो भन्ने आरोप ममाथि लगाइएको छ । त्यसका बिषयमा सञ्चारकर्मी स्वयंमले पनि अनुसन्धान गरेर सत्य तथ्य समाचार लेख्ने हो,’ मन्त्री कुर्मीले अगाडी थपे, ‘कुनै कुरामा समस्या छ भन्ने कुरा राज्यको चौथौ अंङ्गले औल्याउनुपर्नेमा आफै न्यायधिस भएका छन् । यो गलत हो ।’

Kanti Aarogya Hospital Nepalgunj

राजधानी काठमाण्डौं बसेर घट्नाको वास्तविकता अनुसन्धान नगरेर एक महिलाको भनाईको आधारमा समाचार लेख्नुभन्दा बाँके आएर सत्य तथ्य रिर्पोटिङ्ग गर्न पत्रकारलाई उनले आग्रह गरे । 

‘यदि कोही कसैमाथि धेरै अनुसन्धान भएको छ, भने त्यो मेरो माथि भएको छ,’ मन्त्री कुर्मीले अगाडी भने, ‘सिआईबीले हालसम्म पाँच पटक मेरो बारेमा अनुन्धान गरिसकेको छ । म दोषी भएको भए मलाई सजाय दिन्थ्यो होला त ?’

आफू निर्दोष रहेको दाबी गर्दै उनले भने, ‘म दोषी भए जेल होइन फाँसीको सजाय भोग्न तयार छु ।’

‘जब–जब म निर्वाचनमा होमिँए, कुनै पद पाए, त्यो बेला रुबि खान लगायत केही व्यक्तिहरु मेरो चरित्र हत्या गर्न खोजे,’ मन्त्री कुर्मीले भने, ‘मैले उसको कहिल्यै केही बिगारेको पनि छैन्, उसको केही खाएको पनि छैन, तर पनि म बिरुद्ध उनीहरु लागेका छन् । ४० वर्षको राजनीतिमा मैले कसैको केही बिगारेको छैन, कसैसँग एक रुपैयाँ पनि लिएको छैन् ।’

नेपाल प्रेस युनियन बाँकेले आईतबार नेपालगन्जमा आयोजित लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्री बादशाह कुर्मीको स्वागत तथा बधाई कार्यक्रममा मन्त्री कुर्मीले यस्तो बताएका हुन् ।