नेपालगन्ज १४ साउन : यस लेखमा हामी पाठकहरूलाई नेपालको बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतार्नियाघाट वन्यजन्तु आरक्ष जोड्ने खाताको एउटी बघिनीको जीवनको कथा भन्ने छौँ।
खाताको वन वन्यजन्तुहरू ओहोर ओहोरदोहोर गर्ने प्रमुख जैविक मार्ग हो। हामीले करिब १ दशकसम्म वन्यजन्तुको अध्ययन र अनुसन्धानमा प्रयोग गरिने विभिन्न विधिहरू प्रयोग गरी खाताका बाघहरूको जीवनलाई नजिकबाट नियाल्ने प्रयास ग¥यौँ।
हामीलाई आशा छ बाघ भन्ने बित्तिकै हिंस्रक र मानिसलाई आक्रमण गरिहाल्ने भन्ने जुन आम मानिसको बुझाइ छ त्यसलाई यो कथाले परिवर्तन गर्न सघाउने छ।
सन् २०१३ को राष्ट्रिय बाघ सर्वेक्षणको क्रममा बर्दिया राष्ट्रिय निकुञ्जदेखि ३ किलोमिटर दक्षिण पूर्वमा २ वर्षको अर्धवयस्क शिवपोथी बाघ हाम्रो क्यामरा ट्रयापमा पहिलो पटक परेकी थिइन्।
शरीरमा भएका पाटाहरू झट्ट हेर्दा सबै बाघहरूको उस्तै देखिए पनि मानिसको औँठा छाप जस्तै हरेक बाघको पाटाको बनोट फरक हुन्छ।
यसकै आधारमा अनुसन्धानकर्ताहरूले बाघ चिन्ने गर्दछन्। हामीले शिवपोथीलाई भेटेको ठाउँ कर्णाली नदीले बगाएर ल्याएको मलिलो माटोमा सप्रिएको नदी तटीय वन क्षेत्र थियो।
त्यस ठाउँमा चित्तल, लगुना, बँदेल जस्ता बाघका आहारा प्रजाति प्रशस्त मात्रामा थिए।
शिवपोथी खाता जैविक मार्गमा आफ्नो आहारा भएको नयाँ वासस्थान खोज्दै आएकी थिइन् भन्ने अनुमान लगाउन सकिन्छ।
समय र ऋतुहरू बित्दै जाँदा उनले आफूलाई खाताको पश्चिमी भागमा बसोबास गर्ने बाघहरूमध्ये एक बघिनीको रूपमा स्थापित गर्न सफल भइन्।
यस्तो उत्कृष्ट वासस्थानमा शिवपोथीको बलियो उपस्थिति देखिएका कारणले हामीले शिवपोथी एक प्रभावशाली बघिनी हुने प्रारम्भिक अनुमान ग¥यौँ र निरन्तर निगरानी गर्ने सोच बनायौँ।
I जङ्गली बँदेल आफ्ना डमरूलाई खुवाउन लैजाँदै शिवपोथी बघिनी
अर्को वर्ष सन् २०१४ मा हामीले शिवपोथीलाई अन्दाजी ३ देखि ५ महिनाको एउटा डमरुका साथ रेकर्ड ग¥यौँ।
त्यस बेला उनले भर्खरै डमरुलाई खुल्ला ठाउँमा छोड्न थालेकी थिइन्।
तर, दुःखको कुरा त्यसपछि २०१५ मा शिवपोथीलाई रेकर्ड गर्दा उनको साथमा डमरु थिएन।
बाघका डमरुहरू १७ देखि २४ महिना हुँदासम्म मात्रै आफ्ना आमासँग बस्ने गर्दछन् र प्राय आधाभन्दा बढी हुर्किन सक्दैनन्।
हामी त्यो डमरु हुर्किन नसकेको र मृत्यु भएको हुन सक्ने निष्कर्षमा पुग्यौँ।
शिवपोथीको यो पहिलो सन्तान थियो र सायद पहिलो पटक आमा बनेकी उनलाई डमरु हुर्काउने र उनीहरूलाई हुन सक्ने सम्भावित खतराबाट जोगाउने अनुभव पनि थिएन होला।
हामीले उनलाई २०१६ मा फेरि अर्को एउटा डमरुको साथमा देख्यौँ।
आफ्नो यस अघिको सन्तानसँग पीडादायी बिछोड भए पनि शिवपोथीले हार मानिनन् भन्न सकिन्छ।
यो डमरु पनि लगभग पहिलेको डमरु जस्तै उमेरको अर्थात् ३–५ महिनाको थियो।
भाले र पोथी डमरूको रोचक भिन्नता
दोस्रो बेतको डमरु भएका कारण हामी यो डमरु हुर्कनेमा निकै आशावादी थियौँ।
तर, १३ महिनापछि २०१७ को राष्ट्रिय बाघ सर्वेक्षणको क्रममा पुनः एक पटक शिवपोथीलाई हामीले जङ्गलमा एक्लै डुलिरहेको क्यामरा ट्रयापमा देख्यौँ।
त्यति बेलासम्म उनको डमरु १७ देखि १९ महिनाको भइसकेको हुन सक्ने अनुमान हामीले ग¥यौँ।
बाघको जीव विज्ञानको आधारमा भन्नु पर्दा पोथी डमरुहरू माउसँग छुट्टिएर माउकै इलाकाको केही भाग ओगटेर बस्न सक्छन् तर भाले डमरुहरूलाई भने आमाले त्यसरी नजिकैको इलाका ओगट्न दिएको पाइँदैन।
उनीहरूले आफू जन्मिएको र हुर्किएको स्थान (नेटल टेरिटोरी )भन्दा धेरै पर विचरण गर्दै नयाँ स्थानलाई आफ्नो इलाका बनाउनु पर्ने हुन्छ।
हामीले बीचको समय (लगभग १३ महिना) अनुगमन नगरेकाले त्यो डमरु स्वतन्त्र भई आफ्नै इलाका बनाउन हिँड्यो वा म¥यो भन्ने थप पुष्टि गर्न सक्ने आधारहरू हामीसँग थिएनन्।
निरन्तर अनुगमनको आवश्यकता महसुस गरेर हामीले यसका लागि थप श्रोत जुटाउन प्रयास ग¥यौँ र सफल पनि भयौँ।
त्यसपछि हामीले ज्यानुअरी २०१८ देखि मे २०२० सम्म साढे दुई वर्ष शिवपोथीलाई निरन्तर अनुगमन ग¥यौँ।
हामीले उनको डमरुलाई पनि खोज्ने प्रयास जारी राख्यौँ तर आशा गरे अनुसारको कुनै प्रतिफल पाएनौँ।
यस्तैमा एक दिन हामीले रोचक कुरा भेट्टायौँ। शिवपोथी पुनः एक पटक आमा भएकी रहिछन्।
यस पटक एउटा मात्र होइन चार वटा डमरुहरू जन्मिएका रहेछन्।
हामीले सन् २०१३ मा शिवपोथीलाई पहिलो पटक देखेको ठाउँमा नै उनले यी नयाँ चार वटा डमरुहरूलाई जन्म दिएको अनुमान ग¥यौँ।
I खाता जैविक मार्गमा देखा परेका शिवपोथीका डमरुहरू (बायाँदेखि दायाँ) – शिव, ललाई, गौरी र कुस्मिनीया
सन् २०१८ को दशैंको आसपास उनले डमरुहरूलाई स्तनपान गराइराखेको यकिन ग¥यौँ।
अन्ततः मार्च २०१९ मा, हामीले चार वटै डमरुहरूलाई खुल्ला रूपमा खेल्दै गरेको, आराम गरिरहेको र एउटा सानो घोलमा पानी पिउँदै गरेको देख्यौँ।
ती ४ देखि ६ महिनाका एउटा भाले र तीन वटा पोथी डमरुहरू थिए।
उनीहरूको वासस्थानको वरिपरि रहेका चार वटा सामुदायिक वनका नामहरू, “कुस्मनिया”, “गौरी”, “ललाई” र “शिव”, नै हामीले यी डमरुहरूका नाम राख्यौँ।
हामीले उनीहरूलाई देखेको ठाउँ नजिकैको सानो घोल नै उनीहरूको छहारी, तिर्खा मेटाउने र आराम गर्ने ठाउँ रहेछ भनेर थाहा भयो।
हामीले शिवपोथीले बँदेल र चित्तलका पाठाहरू सिकार गरी आफ्ना डमरुहरूलाई खानका लागि लग्दै गरेका फोटोहरू पनि रेकर्ड ग¥यौँ।
डमरुहरू एक आपसमा खेलिरहेका र आमासँग सिकार गर्न सिकिरहेका धेरै फोटोहरू पनि रेकर्ड ग¥यौँ।
भाले डमरु शिव सधैँ समूहको नेतृत्व गर्दथ्यो र दुई वटा डमरुहरू कुस्मिनिया र गौरी आमासँग सिकारमा सामेल भएको पनि पायौँ।
२०१९ को सुक्खा मौसममा घोल नसुक्दासम्म उनीहरूले त्यो सानो पानीको श्रोत र आसपासको क्षेत्रमा नै धेरै जसो समय बिताउने गर्थे।
यसले बाघको संरक्षणमा कसरी सानो र थोरै भए पनि पानीको उपलब्धताले महत्त्वपूर्ण भूमिका खेल्छ भन्ने बुझ्न सकिन्छ।
२०१९ को अन्त्यतिर अर्थात् नोभेम्बर महिनाबाट, शिवपोथी उत्तर पश्चिमी वन क्षेत्रबाट बाहिरिएर, दक्षिण पश्चिमी कोठियाघाट क्षेत्र वरिपरि घुम्ने गरिरहेको पायौँ।
कोठियाघाट भारतीय सीमा नजिकको कतर्नियाघाट वन्यजन्तु आरक्षतिर पर्दछ।
१२ देखि १४ महिनाको उमेर पुगेका डमरुहरू अब क्रमशः अर्धवयस्क अवस्थातर्फ लाग्दै थिए।
I डमरुहरू एकअर्कासँग रमाएर खेल्दै
हामीले शिवपोथीसँग डमरुहरू फेब्रुअरी – मार्च २०२० तिर (सम्भवतः १५ देखि १९ महिनाको बीचमा हुँदा ) छुट्टिएको हुनसक्ने निर्क्यौल ग¥यौँ।
हामीले शिवपोथीका प्रत्येक डमरुहरूलाई छुट्टाछुट्टै पछ्याउने प्रयास पनि ग¥यौँ।
यस क्रममा तीन पटक शिवलाई आफ्ना बहिनीहरूसँगै देख्यौँ।
शिवले पछिल्लो पटक मे २०२० मा कुस्मिनियालाई पछ्याउँदै हिँडिरहेको थियो।
सबैभन्दा पछिल्लो पटक भने क्यामरा ट्रयापमा रेकर्ड भए अनुसार शिवले भारतको कतर्नियाघाट वन्यजन्तु आरक्ष वा बर्दिया राष्ट्रिय निकुञ्जमा आफ्नो नयाँ क्षेत्र स्थापित गर्ने प्रयास गरिरहेको हामीले अनुमान ग¥यौँ।
गौरीचाहिँ लगभग १४ किलोमिटर पर बबई उपत्यका नजिकको उत्तर पूर्वी घना जङ्गलमा देखा परेकी थिइन्।
शिवपोथीका चारै डमरुहरू अहिले पूर्ण रुपमा हुर्केर स्वतन्त्र छन्।
क्यामरा ट्रयापबाट रेकर्ड भए अनुसार यी बाघहरूले कहिलेकाहीँ आमाको वासस्थान रहेको क्षेत्रमा ओहोर–दोहोर गरिरहेका छन्।
राम्रो वासस्थान र आहाराका लागि यी बाघहरूबीच प्रतिस्पर्धा हुनुका साथै आफ्नो बाहेक अन्य भालेका डमरुहरूलाई भाले बाघहरूले आक्रमण गरी मार्ने पनि गर्छन्।
यो अवस्थामा पोथी बाघले आफूभन्दा ठूलो र बलिया भालेहरूसँग जुधेर डमरुहरूको सुरक्षा गर्नुपर्ने हुन्छ।
हुर्किँदै गरेका बाघहरूको आहारा परिपूर्ति गर्न पोथी बाघले सिकार पनि अत्यधिक मात्रमा गर्नु पर्ने हुन्छ।
यी चुनौतीहरू भएर पनि शिवपोथीले चार वटा डमरुहरूलाई किशोरावस्थामा पु¥याउन सफल हुनु धेरै दुर्लभ उपलब्धि हो।
डमरुको भविष्यको चिन्ता
हामीलाई पहिले रेकर्ड भएका शिवपोथीका डमरुहरूको भविष्य के भयो भन्ने त थाहा भएन तर यी चार डमरुहरू हुर्केर स्वतन्त्र भएपछि नेपालको संरक्षित क्षेत्रभन्दा बाहिर रहेका जैविक मार्ग बाघले राम्रोसँग प्रयोग गरिरहेको तथ्य भने स्थापित भयो।
शिवपोथी र उनका डमरुहरूको अनुगमन गर्ने परियोजना मे २०२० मा समाप्त भएपछि हामीले उनलाई केही समय अनुगमन गर्न सकेनौँ।
तर, ज्युरिख विश्वविद्यालयसँग सहकार्य गर्ने अवसर जुटेका कारण हामीले छोटो समयका लागि फेरि अनुगमन गर्ने अवसर पायौँ।
डिसेम्बर २०२० देखि अप्रिल २०२१ सम्म फेरि उनको निगरानी ग¥यौँ।
हामी सबैलाई आश्चर्यचकित पार्दै डिसेम्बर २०२० मा फेरि एक पटक कतर्नियाघाट वन्यजन्तु आरक्ष नजिकैको दक्षिणी क्षेत्रमा शिवपोथी दुई नयाँ डमरुहरूसँग क्यामरा ट्रयापमा रेकर्ड भइन्।
तर, अप्रिल २०२१ पछि हामीले उनीहरूको निरन्तर निगरानी गर्न सकेनौँ।
हामीले डिसेम्बर २०२१ को अन्त्यतिर राष्ट्रिय बाघ गणनाको बेलामा फेरि पनि शिवपोथी भेट्यौँ।
उमेरले ११ वर्षकी पुग्न लागेकी शिवपोथी र उनको चौथो बेतका डमरुहरू कहाँ छन् भनेर थाहा पाउने उत्सुकताका साथ हामीले उनको निरन्तर अनुगमन पुनः सुरु गर्ने योजना बनाएका थियौँ।
सन् २०२२ को मे महिनामा खाताको दक्षिण–पश्चिम क्षेत्रमा बाघको आक्रमणबाट करिब पचास वर्षकी एक स्थानीय महिलाको मृत्यु भयो।
डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, अन्य स्थानीय निकायले द्वन्द्वग्रस्त क्षेत्रमा बाघलाई नियन्त्रणमा लिन र पीडित परिवारलाई सहयोग गर्न तत्काल कारबाही अघि बढाउनु पर्ने भयो र बढायो।
त्यस बाघलाई समातेर बर्दिया राष्ट्रिय निकुञ्जको होल्डिङ सेन्टरमा ल्याइयो।
त्यो बाघ अरू कोही नभई शिवपोथी थिइन्।
I नियन्त्रणमा लिनका लागि डार्ट गरिएपछि लठिएको अवस्थामा शिवपोथी
हामीले शिवपोथीको अवस्था अनुगमन ग¥यौँ, उनी बूढी भइसकेकी थिइन्, उनका दाँत र नङ्ग्राहरू निकै खिइसकेका थिए।
शिवपोथी कमजोर थिइन् र आफ्नो राज्यबाट विस्थापित भइसकेकी थिइन्।
त्यस कारण आहाराका लागि जङ्गलमा जे भेटिन्छ त्यही खाने अवस्थामा हुँदा मानिसलाई आक्रमण गरिन्।
शारीरिक अवस्था कमजोर हुनु, छिटो दौडिन नसक्नु र अन्य जवान बाघहरूसँग लड्न र जुध्न नसकेका कारण शिवपोथीले आफू बाँच्नको लागि मानवमाथि आक्रमण गर्ने अन्तिम विकल्प रोजिन् भन्ने हामीलाई लाग्छ।
किनभने खातामा आफ्नो १२ वर्ष लामो कालमा उनले कहिल्यै मानवमाथि आक्रमण गरेकी थिइनन्।
उनले सधैँ मानिसहरूसँग दूरी बनाएर राखिन् र स्थानीय मानिसहरूको जीविकोपार्जन र आवश्यकताहरूको सम्मान गरेकी थिइन् जस्तो लाग्छ।
स्वस्थ बाघहरूले बिरलै मानिसलाई आक्रमण गर्छन्। र, सकेसम्म मानिस र बस्तीबाट टाढै बस्छन्।
द्वन्द्वमा आउने अधिकांश बाघहरू प्राय वृद्ध र घाइते भएर सिकार गर्न नसक्ने हुन्छन् भन्ने कुरा पुनः प्रमाणित भयो।
I बाघलाई नियन्त्रणमा लिनका लागि सेतो कपडाले घेरिएको हो
शिवपोथीका चार बच्चाहरू कुस्मिनीया, गौरी, ललाई र शिव अहिले पनि खाता जैविक मार्ग, बर्दिया राष्ट्रिय निकुञ्ज, र कतार्नियाघाट वन्यजन्तु आरक्ष आसपासका क्षेत्रमा बसिरहेका छन्।
साथै यी चारै बाघले त्यो क्षेत्रमा बाघको सङ्ख्या बढाउन भूमिका खेलिरहेका छन्।
सन् २०२२ को राष्ट्रिय बाघ गणना अनुसार खाता जैविक मार्गमा ९ वटा बाघहरू छन्।
यी बाघहरूको नियति पनि शिवपोथीको जस्तै हुनसक्ने सम्भावना ठूलो चिन्ताको विषय हो।
साथै आफ्नै गाउँघरको वरिपरि फस्टाएको वन्यजन्तुसँग सहअस्तित्वको सपना देख्ने समुदायका
सदस्यहरूको अमूल्य जीवनको सुरक्षा पनि चिन्ता र चुनौतीको ठूलो मुद्दा बनेको छ।
अनगिन्ती चुनौती भए पनि सरकार, समुदाय र संरक्षण साझेदार संस्थाहरूले यस अवस्थालाई व्यवस्थापन गर्न सक्दो प्रयास गरिरहेका छन्।
द्वन्द्वमा परेका बाघहरू समातिएर होल्डिङ सेन्टरमा राखिएको वा कहिलेकाहीँ मरेको देख्दा दुःख लाग्नु र भावनात्मक हुनु स्वाभाविक हो तर थप मानिसहरूलाई आक्रमण नगरून् भनेर समस्यामा परेका बाघहरूलाई एउटा निर्धारित स्थानमा राख्नु पर्ने हुन्छ।
तराई क्षेत्रका राष्ट्रिय निकुञ्जहरूमा हाल १० वटा द्वन्द्वमा परेका बाघहरू होल्डिङ सेन्टरमा राखिएका छन्।
प्रत्येक प्रदेशमा होल्डिङ सेन्टरहरू निर्माण गरी उनीहरूलाई बाँकी समय बिताउनका लागि राम्रो ठाउँ प्रदान गर्न आवश्यक छ।
यी ठूला सुरक्षित केन्द्रहरूले पर्यटनको माध्यमबाट प्रादेशिक तथा स्थानीय सरकारको दीगो राजस्वको श्रोत पनि बन्न सक्छन्।
राजस्वले स्थानीय समुदायको जीविकोपार्जनमा सुधार गर्न र आकस्मिक दुःखद घटनाका पीडितहरूलाई प्रभावकारी राहत प्रदान गर्न पनि योगदान पु¥याउन सक्छ।
नयाँ चुनौतीहरूले नै हो नयाँ अवसरहरू ल्याउने र हामी विश्वस्त छौँ कि बाघ संरक्षणमा लागेका साझेदार निकायहरूले आएका चुनौतीहरूलाई अवसरमा बदल्ने छन्।
निकुञ्जमा बाँकी जीवन
I अहिले शिवपोथीका चार सन्तान पनि हुर्किसकेका छन्
शिवपोथीले बर्दिया राष्ट्रिय निकुञ्जको होल्डिङ सेन्टरमा आफ्नो बाँकी जीवन बिताउने देखिन्छ।
हामी संरक्षणकर्मीहरू मिलेको बेला उनको अवस्था हेर्न जाने गर्छौँ।
होल्डिङ सेन्टरको सानो प्वालबाट चियाएर हेर्दा उनी गर्जेर रिसाउँछिन् र मुन्टो भित्तातिर लगाएर बस्छिन्।
सायद उनलाई अझै पनि मानिस नजिक आएको मन पर्दैन।
शिवपोथी हेर्दा भारतको रथाम्भोर टाइगर रिजर्भ कि विश्वप्रसिद्ध बघिनी “मछली“ (गालामा माछाको काँडा जस्तो आकृति भएकोले सो नाम दिएको) को याद आउँछ।
मछलीले पनि आफ्नो जीवनमा शिवपोथी जस्तै धेरै डमरुहरूलाई जन्म दिएकी थिइन्।
उनको मृत्युपछि भारत सरकारले सार्वजनिक कार्यक्रममा वन विभागका कर्मचारीहरूको पनि उपस्थितिमा हिन्दू धर्म अनुसार उनको अन्तिम कर्म पूरा गरेको थियो।
बाघले मानिसलाई आक्रमण गरेको सुन्ने बित्तिकै उत्तेजक भएर बाघप्रति नकारात्मक धारणा बनाउन हुँदैन।
बाघले मानिसलाई आक्रमण गर्ने अवस्था किन आयो भनेर गम्भीरता पूर्वक सोच्ने हो भने त्यही नै शिवपोथी र उनी जस्तै अरू बाघहरूलाई हामीले दिने सही सम्मान हुनेछ।
हामी सबै मिलेर लाग्यौँ भने नेपालले मानव–बाघ सहअस्तित्वको उदाहरण र पाठ विश्वलाई सिकाउन धेरै समय पर्खिनु पर्दैन।
विश्व बाघ दिवस २०२४ को सबैमा शुभकामना ।
नोटः खाताका बाघहरूको दीर्घकालीन अनुगमन नेपाल सरकारको नेतृत्वमा गरिएको थियो। जसमा वन तथा भू–संरक्षण विभाग, डिभिजन वन कार्यालय बर्दिया, खाता सामुदायिक वन समन्वय समिति, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र, तराई भू–परिधि कार्यक्रम र डब्लूडब्लूएफ नेपालले सहकार्य गरेका थिए।
यो लेख अनुसन्धानकर्ता शशांक पौडेल, समुन्द्र सुब्बा र कन्चन थापाले बीबीसी न्यूज नेपालीका लागि तयार पारेका हुन्। यसमा संलग्न विचार लेखकका निजी हुन्। -बीबीसी न्यूज नेपालीबाट