८ मा पढ्ने छोरीले बान्ता गरेपछि अस्पताल लग्दा देखियो ९ महिनाको गर्भ, बलात्कार मुद्दामा धम्बोझीका प्रेमी पक्राउ


सेतोखरी सेतोखरी   सोमबार, साउन १४, २०८१
८ मा पढ्ने छोरीले बान्ता गरेपछि अस्पताल लग्दा देखियो ९ महिनाको गर्भ, बलात्कार मुद्दामा धम्बोझीका प्रेमी पक्राउ

सांकेतिक स्केच

नेपालगन्ज १४ साउन : केही दिनअघि काठमाडौं–१६ वनस्थली बस्ने एक किशोरीले लगातार बान्ता गरिन् । घरमा उनकी बहिनी र आमा थिए । बुवा लामो समयदेखि बिरामी थिए ।

सरकारी स्कुलमा कक्षा ८ मा पढ्ने ती किशोरीकी आमा ठमेलको कालधाराको एक क्याफेमा कुकको काम गर्थिन् ।

बिहान ९ बजेतिर आमा अफिस जान र छोरी स्कुल जान तयार हुँदै थिए । अचानक छोरीले बान्ता गरेपछि आमाले छोरीलाई लगिन् बालाजुस्थित ‘सिल्भर लाइन अस्पताल’ ।

अस्पताल लगेपछि किशोरीको स्वास्थ्य परीक्षण भयो । उपचारको क्रममा डाक्टरले किशोरीमा कुनै समस्या नभएको बरु पेटमा ३६ हप्ताको गर्भ रहेको भन्दै ‘एक्स्रे रिर्पाेट’ थमाए । गर्भवती किशोरीको बच्चा जन्माउने समय भइसकेको रहेछ । झन्डै ९ महिनाको गर्भ रहेछ ।

Kanti Aarogya Hospital Nepalgunj

रिर्पाेट देखेपछि आमा बेहोस भएर ढलिन् । पछि ब्युँतिएर छोरीलाई केरकार गर्दा थाहा भयो, उनी आफैँले चिनेको केटा प्रेमी रहेछ ।

बाँके, नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझी चोक घर भई काठमाडौं बस्ने २१ वर्षका युवा छोरीका प्रेमी रहेछन् । उनी आफू अफिस गएको बेलामा कोठामै आएर छोरीलाई भेट्दा रहेछन् ।

२ वर्षदेखि दुवैबीच भेटघाट हुँदै आएको रहस्य खुल्यो । किशोरीका आमाले ती युवाविरुद्ध बलात्कार मुद्दामा उजुरी दिइन् । उजुरीपछि युवा पक्राउ परेका छन् ।

उनले ‘केटीकै कोठामा आफूहरूबीच पटकपटक सहमतिमा शारीरिक सम्पर्क भएको’ बताएका छन् । ५ महिना अघिसम्म आफूहरूबीच शारीरिक सम्पर्क भएको केटाले खुलाएका छन् ।

तर, केटीको उमेर १६ वर्ष मात्रै छ । केटी नाबालिग भएका कारण उनको सहमतिमा भए पनि बलात्कार मानिने कानुन छ । सोही अनुसार केटाविरुद्ध बलात्कार मुद्दा चलेको छ ।

प्रहरीले अनुसन्धान गरेर सोमबार(असार ३१ गते) सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ । सोही आधारमा सोमबारै काठमाडौं अदालतमा मुद्दा दर्ता भएको छ । अदालतको आदेशमा केटालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ ।

गर्भवती किशोरीको बच्चा जन्माउने समय भइसकेको छ । उनको उमेरको कारणले जोखिम रहेको डाक्टरहरूले बताएका छन् । -नेपालभ्युजबाट